PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

के हो दोक्लम विवाद जसका कारण भारत र चीनबीच तनाव बढिरहेको छ?



के हो दोक्लम विवाद जसका कारण भारत र चीनबीच तनाव बढिरहेको छ?

  • भारतका पूर्व रक्षामन्त्री मुलायम सिंह यादवले बुधबार संसदमा बोल्दै चीनले भारतमा आक्रमण गर्ने तयारी गरिरहेको भन्दै भारत कति तयार छ भनेर सरकारलाई सोधे।
    (स्रोत : भारतीय मिडिया)
  • चीनले भारतीय सीमा नजिकै ११ घण्टा सैनिक अभ्यास गरेको छ। सिसिटिभीका अनुसार युद्धको जस्तो स्थितिमा कसरी सेना परिचालन गर्ने र कसरी शत्रुको विमानलाई नष्ट गर्ने भन्ने अभ्यास गरिएको छ। (स्रोत : भारतीय मिडिया)
  • चीन र भारतबीच सीमामा झडप सुरु भएको छ। चीनले भारतीय मोर्चामा रकेट हमला गर्दा १५८ जना भारतीय सैनिकको मृत्यु भएको छ। घटनामा दर्जनौँ घाइते भएका छन्। (स्रोत : पाकिस्तानी टिभी दुनियाँ)



विगत केही हप्तादेखि भारत र चीनबीच तनाव बढ्दै गर्दा भाइरल हुने समाचारहरुमा कुन सही र कुन गलत पत्ता लगाउन समेत गाह्रो पर्ने स्थिति भएको छ। तनाव साम्य हुने लक्षण भने कतै पनि देखिएको छैन। 

के हो दोक्लम विवाद?

दोक्लम विवाद भारत र चीनबीच भइरहे पनि दोक्लम भारतमा पर्दैन। यो पठार विवादित क्षेत्र हो। यसमा भुटान र चीन दुवैले आ-आफ्नो दावी गर्छन्। भारतको यसमा दावी छैन। यो ठाउँ भारत र चीनको सीमा नाथुला पासभन्दा करिब १५ किलोमिटर दक्षिणपूर्वमा पर्छ। 

चीन र भुटानबीच सन् १९८८ मा र १९९८ मा यो क्षेत्रमा शान्ति कायम राख्न लिखित सहमति भएको थियो। जब यो वर्ष चीनले दोक्लम क्षेत्रमा बाटो विस्तार गर्ने कोशिश गर्योक, चीन र भारतबीच नयाँ द्वन्द्व देखियो। 

तर यसको पृष्ठभूमिमा भने भारतले दोक्लम नजिकैको सीमामा सिक्किमतिर भारतीय सेनाले नयाँ बङ्कर बनाउने, पुरानालाई अपग्रेड गर्ने काम पनि थियो। 

गएको जुन २८ तारिखमा भारत, चीन र भुटानको सीमा क्षेत्रमा रहेको भारतीय सेनाको एउटा पुरानो बङ्कर चीनले बुल्डोजर लगाएर भत्काइदियो। चीनले बङ्कर हटाउन गरेको आग्रह नमानेपछि चीन आफैले त्यस्तो कदम उठाएको थियो। 

भारत र चीनबीच  जम्मुकास्मिरदेखि अरुणाचल प्रदेशसम्म फैलिएको ३ हजार ४ सय ८८ किलोमिटर लामो सीमामध्ये २२० किलोमिटर सीमा सिक्किममा पर्छ। बेइजिङ त्यसै पनि भारतले दलाई लामालाई अरुणाचल प्रदेशमा भ्रमण गर्न दिएकोबाट क्रुद्ध थियो। 

दोक्लम यदि भारतमा पर्दैन भने तनाव भारत र चीनबीच किन भयो त? भारतले दोक्लममा भुटानको दावीलाई समर्थन गर्छ। सन् २००७ मा भएको भारत र भुटानबीचको मैत्री सन्धिले राष्ट्रिय स्वार्थका विषयमा दुई देशले निकट रहेर सहयोग गर्ने उल्लेख छ। 

भुटानले चीनको क्रियाकलापविरुद्ध सन्धिको यही प्रावधानलाई उल्लेख गर्दै भारतको सहयोग पनि मागेको थियो। त्यसै अनुसार भारतीय सेना भुटानमा पुग्यो। 

भारत र चीनको दावी

भारतले सीमा पार गरेर सडक बनाउन खोजेकोमा चीनको आलोचना गरेको छ। चीनले भने भारतलाई आफ्नो क्षेत्रमा प्रवेश गरेकोमा आलोचना गरेको छ। 

जुन २९ मा भुटानले विवादित क्षेत्रमा चीनले सडक बनाउन लागेको भन्दै औपचारिक विरोध गर्योय। त्यही दिन भुटानी सीमामा सेनालाई अलर्ट राखियो। यही दिन नै चीनल दोक्लम र सिक्किमका केही भाग आफ्नो रहेको भन्दै एउटा नक्सा सार्वजनिक गर्योर। 

नेपालको धारणा के?   

असार २९ गते उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले परराष्ट्र मन्त्रालयमा पत्रकारहरुलाई भनेका थिए, ‘'यस विषय (दोक्लम क्षेत्र विवाद) मा नेपाल सरोकारवाला भएर बोल्नुपर्ने आवश्यकता छैन। तर, भारत र चीन तनावमा जानु हुँदैन। वार्ता र संवादबाट समस्याको हल होस् भन्ने नेपालको चाहना छ।'

'हामीले असंलग्न परराष्ट्र नीति अंगालेका छौं। अन्यत्र हुने विवाद र द्वन्द्वको समाधान संवादमार्फत खोज्नुपर्छ भन्ने हाम्रो धारणा हो,' उनले भने। 

साउन ३ गते कान्तिपुर दैनिकले सम्पादकीय लेख्दै भनेको छ- यी तीन मुलुकसँग जोडिएका बृहत्तर विवादहरूको स्थायी समाधान खोज्न समय लाग्ने भए पनि दोक्लमको तनाव घटाउन र हटाउनचाहिं तत्कालै सम्भव छ, जसका लागि खासगरी भारत र चीन दुवैले आ–आफ्नो क्षेत्रबाट लचकता प्रदर्शन गर्न जरुरी छ । सैन्य टकराव होइन, कूटनीतिक समाधानलाई मूलमन्त्र बनाएर अगाडि बढ्दा यो सम्भव छ । भारत र चीनमाझ फाटो आउँदा उनीहरूकै विकास, प्रगति र मूलत: आपसी आर्थिक सम्बन्धमा ठूलो धक्का पुग्नेछ, साथै क्षेत्रीय सुरक्षा पनि जोखिमतर्फ धकेलिनेछ । एक्काइसौं शताब्दीको नेतृत्व गर्ने लक्ष्यसाथ अगाडि बढिरहेका शक्तिराष्ट्रहरू अनावश्यक उल्झनमा घेरिने होइन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको पूर्ववत् अवस्थामै फर्कनुपर्छ जतिसक्दो चाँडो । 

कान्तिपुरमै गेजा शर्मा वाग्लेले विश्लेषण गरेका छन्, ‘अमेरिका र जापानसँगको कूटनीतिक सम्बन्ध तथा साउथ चाइना सागरको दृष्टिले सी जिनफिङ राष्ट्रपति भएपछि चीनले ‘प्रो–एक्टिभ’ कूटनीति र आक्रामक सैन्य रणनीति अख्तियार गरेको देखिन्छ । तर चीनसँगको सम्बन्धको दृष्टिले भारत कूटनीतिक र सैन्य दुवै दृष्टिले रक्षात्मक तथा प्रतिक्रियात्मक विन्दुतर्फ उन्मुख भएको देखिन्छ। दोक्लम प्रकरणमा पनि चीन आक्रामक र भारत रक्षात्मक भएको प्रतीत हुन्छ । भारत र चीनबीच अप्रत्यासित र अस्वाभाविक द्वन्द्वले क्षेत्रीय सामरिक सन्तुलन थप तरल र जटिल बनाएको छ । भारत र चीनबीच तनाव जति–जति लम्बिँदै जान्छ, त्यसको प्रत्यक्ष र परोक्ष भूराजनीतिक तथा सामरिक प्रभाव नेपाललाई पर्नेछ । त्यसैले दोक्लम प्रकरणले नेपालको राष्ट्रिय हित र सुरक्षामा पर्नसक्ने तत्कालीन वा दीर्घकालीन प्रभावबारे समीचिन विश्लेषण गरी उपयुक्त नीति र रणनीति अख्तियार गर्नु अपरिहार्य छ।‘


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell