PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

के नेपाल फर्काउन सकिएला त ग्रीसमा पक्राउ परेका मोस्ट वान्टेड इयान बेकरलाई?



के नेपाल फर्काउन सकिएला त ग्रीसमा पक्राउ परेका मोस्ट वान्टेड इयान बेकरलाई?

काठमाडौँ : नेपाल प्रहरीले इन्टरपोलको रेडकर्नर नोटिसमा राखेको मोस्ट वान्टेड कुख्यात वन्यतन्तु तस्कर इयान बेकर ग्रीसमा पक्राउ परेका छन्।  

नेपाल प्रहरीको फरार सूचीमा रहेका अमेरिकी नागरिक बेकरलाई करिब दुई साताअघि ग्रीसको प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी पुस्कर कार्कीले जानकारी दिए।

कार्कीका अनुसार ग्रीस प्रहरीले थप विवरण मगाएकाले नेपाल प्रहरीले अन्य कागजात समेत पठाइसकेको छ।

तर ग्रीसबाट प्रकाशित डिमोक्राटिकी अनलाइनका अनुसार नेपालबाट पठाइएका कागजात अपर्याप्त छ। बेकरलाई हिरासतमा राख्ने म्याद सकिन १२ घण्टा बाँकी रहँदामात्रै कागजात त्यहाँ पुगेको थियो। 

डिमोक्राटिकी लेख्छ, 'अहिले कागजात अनुवादका लागि पठाइएको छ।'

अनलाइनका अनुसार नेपालसित ग्रीसको सुपुर्दगी सन्धि नभएकोले बेकरलाई नेपाल पठाउन पनि समस्या उत्पन्न हुनसक्नेछ। 

बेकरका वकीलले काठमाडौँ जिल्ला वन कार्यालयले जारी गरेको अरेस्ट वारेन्टले नेपालमा नयाँ संविधान लागू भइसकेपछि कानुनी वैधता गुमाएको तर्क गरेका छन्। 

उनको मुद्दा जिल्ला वन कार्यालय, काठमाडौंमा दर्ता छ। ‘अवैध वन्यजन्तुका अंग’ संग्रह गरेको अभियोगमा उनको नाममा रेडकर्नर नोटिस जारी गरिएको हो।

२०६५ सालमा बेकरको कोठाबाट प्रहरीले वन्यजन्तु र पुरातात्विक गरी एक सय २२ थान अवैध सामाग्री बरामद गरेको थियो। महानगरीय प्रहरी अपराध महाशाखाले उनी बसेको नक्साल, सम–मार्ग  ८०७ नम्बरको घरबाट उक्त सामाग्रीहरु बरामद गरेको थियो। उनको कोठा छापा मार्ने बेला उनी फरार भएका थिए । उनको कोठाबाट प्रहरीले बाघ, हिउँचितुवा, चितुवाका अंगहरु बरामद गरेको थियो।

बेकरले भने प्रहरीले नौ हजार डलर घुस मागेको र नदिएको कारण दुःख दिइएको दावी डेमोक्राटिकीलाई गरेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell