PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

बाँदरलाई हानिकारक जनावरमा सूचीकृत गर्न सांसदको माग



बाँदरलाई हानिकारक जनावरमा सूचीकृत गर्न सांसदको माग

काठमाडौं : बाँदरलाई खेतीका लागि हानिकारक जनावरको सूचीमा राख्न संसदमा माग उठेको छ। 

नेपाली कंग्रेसका सांसद कमलप्रसाद पंगेनीले संसद्को विशेष समयमा बोल्दै बाँदरका कारण किसान आहत भएकाले राज्यस्तरबाटै बाँदर नियन्त्रण गर्नुपर्ने माग राखे।

'जनताले उत्पादन गरेका खाद्यबाली, फलफूल, तरकारी संरक्षण गर्नुछ। बाँदरलाई संरक्षण पनि गर्नुपर्छ,' सांसद पंगेनीले भने, 'तर खेतीका लागि हानिकारक जनावरको सूचीमा राख्नुपर्छ।' 

सुरुवातमै 'सभामुख महोदय, आज मैले सदनमा अलिक भिन्न विषय प्रवेश गराउन खोज्दैछु' भन्दै बोल्न थालेका सांसद् पंगेनीले स्याङ्जा, पर्वत, पाल्पा, तनहुँ, कास्की, लमजुङ, ललितपुर, काभ्रेपलाञ्चोक जिल्लाको नामै लिएर त्यहाँका किसान बाँदरको आतंकका कारण हैरान भएको बताए। 

उनले त्यसबाहेकका अधिकांश जिल्लामा बाँदर आतंक भएको भन्दै 'किसानहरुले लगाएको बाली तरकारी तथा फलफूलसमेतमा हानी पुर्‍या्एको' बताए। 

'बाँदरले एक प्रकारले ठूलो आतंक सृजना गरेको छ, किसानको उत्पादनमा बाँदरले राज्य गर्न थालेपछि किसान हैरान छन्,' सांसद पंगेनीले भने, 'किसानलाई राहत र क्षतिपूर्तिको व्यवस्था छैन। किसानलाई पुर्याएको हानी नोक्सानीको मूल्यांकन गरी क्षतिपूर्ति दिने विषयमा संसद् र सरकारको ध्यान दिन जरुरी छ।' 

उनले किसानले मेहनत, पसिना र लगानी गरेको उत्पादनमा बाँदर राज रोक्न केही न केही गर्नै पर्ने बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell