काठमाडौँ : व्यवस्थापिका संसदका सदस्यहरु हाजिर गरेर टाप ठोक्दा आज पारित हुनुपर्ने तीन वटा विधेयक अलपत्र परेका छन्।
संसद सचिवालयका अनुसार आज संसद बैठक सुरु हुँदा हाजिर गर्ने सांसदहरुको संख्या ४ सय ७७ थियो। कोरम यकिन गर्दा ९७ मात्र सांसद् बैठक कक्षमा भेटिए।
संविधानको धारा ९४ को व्यवस्था अनुसार प्रस्ताव निणयार्थ पेस गर्दा कम्तिमा एक चौथाई सदस्य हुनुपर्छ। संसदमा हाल कायम रहेको संख्या अनुसार प्रस्ताव अघि बढ्न १४८ सांसद् हुनुपर्छ। हाल सदनमा ५९२ सांसद् छन्।
तर, बैठकमा जातीय भेदभाव तथा छुवाछुत कसुर सम्वन्धी विधेयक संशोधन दर्ताका लागि अनुमोदन अघि नेमकिपाका डिल्लीप्रसाद काफ्लेले कोरमको प्रश्न गरेका थिए। काफ्लेको ध्यानाकर्षणपछि सभामुख ओनसरी भर्तीले तीन मिनेट जनाउ घन्टी बजाएर कोरम यकिन गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिएकी थिइन।
तर, ४७७ हाजिर रहेकोमा ९७ सांसदमात्र फेला परे।
सांसद्ले संसद् बैठकमा उपस्थित भई हाजिर गरेबापत बैठक भत्ता स्वरुप एक हजार रुपैयाँ पाउने व्यवस्था छ । तर, महत्वपूर्ण विधेयक पारितकै दिन सांसद् बेपत्ता भएका हुन्।
आजै अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धी विधेयक पनि पारितको कार्यसूची थियो। विधेयक पारितको दिन पारेर सदनको दर्शक दीर्घामा अपाङ्गता भएका व्यक्तिको पनि ठूलो संख्यामा उपस्थिति थियो। कोरम नै नपुगेर बैठक स्थगित भएपछि उनीहरु पनि निराश भएर फर्किएका छन् ।
आज थारु आयोग, मधेसी आयोग र मुस्लिम आयोग पारित गर्ने कार्यसूची पनि थियो।