PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आगामी आर्थिक वर्षमा कुन-कुन जलविद्युत आयोजना अघि बढ्दै?



काठमाडौँ : सरकारले किमाथाङ्का अरुण र तल्लो अरुण जलविद्युत् आयोजनाको सम्भाव्यता तथा वातावरणीय अध्ययन प्रारम्भ गर्ने भएको छ। 

आगामी आर्थिक वर्षमा ती आयोजनाको काम थाल्ने ऊर्जा मन्त्रालयले जनाएको छ। मन्त्रालयले हालै व्यवस्थापिका–संसद्अन्तर्गतको कृषि तथा जलस्रोत समितिमा प्रस्तुत गरेको योजनाअनुसार चालु आर्थिक वर्षमा नै अध्ययन सुरु गरिएको १८४ मेगावाट कर्णाली–१ जलविद्युत् आयोजना र ३०० मेगावाट क्षमताको सङ्खुवासभाको अरुण–४ जलविद्युत् आयोजनाको सम्भाव्यता तथा वातावरणीय अध्ययनलाई निरन्तरता दिइनेछ। 

त्यसैगरी, माथिल्लो झिमरुक जलाशययुक्त जलविद्युत् आयोजना, नौमुरे जलविद्युत् आयोजना, कर्णाली चिसापानी जलविद्युत् आयोजनालगायत अन्य साना तथा मझौला आयोजनाको अध्ययनलाई पनि निरन्तरता दिइनेछ। 

मन्त्रालयका अनुसार उत्तरगङ्गा, आँधीखोला, तमोर तथा दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना तथा माथिल्लो अरुण, माथिल्लो भेरी र चैनपुर सेती जलविद्युत् आयोजनाको अध्ययनलाई पनि निरन्तरता दिइनेछ। 

आगामी आर्थिक वर्षभित्रै चमेलिया जलविद्युत् आयोजना र कुलेखानी–३ जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरिनेछ । माथिल्लो तामाकोसी, त्रिशूली ३ ए, राहुघाटको निर्माण कार्यलाई तीव्रगतिमा अघि बढाइनेछ। 

मन्त्रालयका अनुसार बूढीगङ्गा जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङ तथा वातावरणीय अध्ययन सुरु गर्ने तथा पूर्वाधार तयारको काम चालु राखिनेछ । बूढीगण्डकी तथा नलसिंहगाड जलविद्युत् आयोजनाको निर्माण सुरु गर्न आवश्यक सम्पूर्ण पूर्वाधार तयारीको काम पनि सोही आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य मन्त्रालयले निर्धारण गरेको छ । 

प्रसारण लाइन तथा वितरणका निम्ति १३२ किलोभोल्ट तथा अन्य प्रसारण लाइन आयोजनाअन्तर्गत चालु आर्थिक वर्षमा ४७ वटा आयोजना सञ्चालनमा रहेकामा आगामी आर्थिक वर्षमा १० वटा थप आयोजनाको निर्माण सुरु गरिनेछ । त्यस्तै, ३३ किलोभोल्ट तथा सबस्टेसन आयोजनाअन्तर्गत ८२ वटा आयोजना रहेकामा चालु आर्थिक वर्षमा थप सात आयोजनाको निर्माण सुरु गरिनेछ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell