PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रचण्डले ल्याए सहमतिका लागि नयाँ विकल्प, कस्तो छ प्रचण्डको ‘विन-विन’ विकल्प?



  • मनोज सत्याल -
काठमाडौँ : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयता थाती राखेर संविधान जारी गर्ने प्रस्ताव मान्य नभएको बताएका छन्। शुक्रबार आफ्नै निवासमा पत्रकारहरुसँगको कुराकानीमा प्रचण्डले आफूले संघीयता थाती राखेर संविधान जारी गर्न मानेको भनेर प्रचार भएको भन्दै आपत्तिसमेत जनाए।

‘संघीयता थाती राख्ने भन्ने हाम्रो पार्टी र मोर्चा कसैलाई मान्य हुने कुरा होइन’,प्रचण्डले भने, ‘संघीयता थातीमा प्रचण्ड मान्यो भनिएको छ त्यो हुनै सक्दैन। राज्य पुर्नसंरचना थाती राखेर संविधान बनाउनुको अर्थ हुँदैन। प्रष्ट छ, अहिले नै सहमति गर्नुपर्छ।'
 

विनविनको विकल्प

प्रचण्डले दलहरुबीच सहमतिका लागि नयाँ विकल्प समेत अगाडि सारेका छन् जसलाई उनले 'विन-विन' विकल्प भनेका छन्।

हाम्रो १० प्रदेश र कांग्रेस र एमालेको सात प्रदेशको प्रस्तावलाई संविधानको मस्यौदाको अनुसूचिमा राखेर जनतामा छलफलका लागि लैजान प्रचण्डले प्रस्ताव गरेका छन्।

‘दुवै विकल्प जनतामा डिबेटमा जाओस्, त्यसबीचमा सहमतिको कोशिस गर्ने तरिका विन-विन हुनसक्छ भन्ने मलाई लाग्छ’, प्रचण्डले भने, ‘९ प्रदेश निर्माण गरेर नाम प्रदेश सभालाई दिने विकल्पमा छलफलका लागि त हामी तयार छौँ’।'

आफूले यस विषयमा ३० दल बैठकमा समेत सोच्नका लागि नेताहरुलाई भनेको बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीयताको सबै विषयलाई आयोग बनाएर दिन गरेको प्रस्ताव भने अनुचित भएको प्रचण्डको ठम्याइ थियो।
'संघीयताको विषय सबै आयोगलाई दिउँ भन्ने विल्कुल सम्भव छैन', प्रचण्डले भने, 'त्यो शान्ति प्रक्रिया, अन्तरिम संविधान अन्य सम्झौता विपरित हुन्छ, तर मूल विषय टुङ्ग्याएर जिल्लाको समस्या, यता उता राख्ने, गाविस लगायतका विषय आयोगलाई दिन सकिन्छ भन्ने हाम्रो पनि हो फेरि, यस्ता विषय एक्सपर्टलाई दिने हो।'

तर संघीयतामा जाँदा पहिचान र सामर्थ्य झल्कनै हुँदैन भन्ने कुरा गलत भएको प्रचण्डको भनाई थियो। नाममा पनि र भूगोलमा पनि पहिचान हुनै हुन्न भन्ने धारणा अहिलेको संविधानसभाले पहिलो संविधानसभाको स्वामित्व लिएबाट खण्डन हुने प्रचण्डको बुझाई थियो।
 

प्रक्रिया सुरु गर्नु भनेको समस्या बल्झाउनु

प्रचण्डले संविधानसभाबाट प्रक्रिया सुरु गर्नु भनेको समस्या सुल्झाउने भन्दा बल्झाउने काम भएको बताए। ‘फेरि १० वर्षसम्म एउटा कचिङ्गलमा जाने प्रक्रिया हो’, प्रचण्डले भने।

‘आउँदो १७ गते संविधानसभा प्रक्रियामा अगाडि बढे समस्याको समाधान हुने छैन’,प्रचण्डले भने।

प्रचण्डले सत्तापक्ष संविधानसभा सार्दै अगाडि बढेकाले आफूहरुले आन्दोलन अगाडि नबढाएको बताए। माघ ५ गते संविधानसभामा भएको घटनाका कारण २४ गतेको आन्दोलनमा जनता आएको उल्लेख गर्दै प्रचण्डले सत्तापक्ष कडा भए लगत्तै जनता आन्दोलनमा आउने बताए।

हुती नभएर आन्दोलन नगरेको भन्ने भनाईको प्रचण्डले खण्डन गरे। ‘हुति नभएको होइन’, उनले भने।
 

बालुवाटारमा सहमति भएको थिएन

प्रचण्डले दलहरुबीच गत ६ गते बालुवाटारको बैठकमा सहमति नभएको स्पष्ट गरे। ‘सहमति भएको र तोडिएको भन्ने दुवै कुरा गलत हुन्, प्रचण्डले भने, ठोस विषयमा सहमति भएको होइन, सहमति भइसक्यो र तोडियो भन्ने सत्य होइन, तीनै जना नेताबाट सहमतिको कुरा आयो, सहमति गरौँ भन्ने कुरा भयो, सहमति भइसक्यो भनेको सुनेर म आफैँ आश्चर्यमा परेँ’, प्रचण्डले भने।
 

सहमति नहुनुमा कांग्रेस र एमालेको पदीय झगडा

प्रचण्डले संविधान निर्माण भएपछि राष्ट्रपति र प्रधानमन्त्री को बन्ने विषयमा आफूहरुको ध्यान नभएको बताए। ‘यो हाम्रो समस्या होइन, कांग्रेस एमाले भित्र चाँही त्यही समस्या हो भन्ने लाग्छ। हिजो सुशील कोइराला प्रधानमन्त्री बन्ने बेलामै १ वर्षमा प्रधानमन्त्री, राष्ट्रपति चेन्ज गर्ने कुराले पनि त्यो कुराले कहीँ न कहीँ बाधा पुर्‍याएको छ। एमालेमा सरकारको एक वर्ष पुग्यो छटपट छ, कांग्रेसमा महाधिवेशन आएको छ। त्यसैले यो त समान्य पोलिटिकल विश्लेषण गर्नेले पनि बुझ्न सक्छन्’ प्रचण्डले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell