काठमाडौँ: संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा आज निर्णयार्थ पेस हुँदैछ। प्रस्तावमाथि संशोधनकर्ता सांसद्ले धारणा राख्ने क्रम सोमबार सकिएलगत्तै मतदान प्रक्रियामा लगिएको हो।
मूल विधेयकलाई मतदान प्रक्रियामा लैजानुअघि संशोधन निर्णयार्थ पेस गरिएको हो। ५० वटा संशोधनलाई ध्वनिमतका आधारमा छिनोफानो गरिनेछ। मत विभाजन माग भएमा संशोधन प्रस्तावमा पनि लवी विभाजन हुनेछ।
हेर्नुस् लाइभ
मूल विधेयकको छिनोफानो भने लवी विभाजनबाट हुनेछ। लवी विभाजन विधेयक पक्ष र विपक्षमा हुनेछ।
हालसम्मको समीकरण अनुसार विधेयक पारित हुनका लागि आवश्यक संख्या सत्तारुढ दलसँग छैन। राप्रपाबाट अलग भएको राप्रपा प्रजातान्त्रिकले समेत साथ दिएको अवस्थामा विधेयकको पक्षमा बढीमा ३७७ मत देखिएको छ।
प्रतिपक्ष मोर्चामा आवद्ध दलको १९७ मत छ। राप्रपाले पनि विधेयकमो विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। राप्रपाको निर्णयपछि विधेयकको विपक्षमा दुई सयभन्दा बढी मत हुने देखिएको छ।
संसद्मा हाल ५९२ सांसद् छन्। जसअनुसार विधेयक पारितका लागि ३९५ मत आवश्यक पर्छ। ५९२ मध्ये संशोधन विधेयकमा सभामुखसहित दुई जनाको मताधिकार छैन।