काठमाडौँ : संघीय प्रहरी ऐन नबनेसम्म पुरानै ऐन अनुसार काम कारबाही हुने नेपाल प्रहरीले जनाएको छ।
संघीय प्रहरी ऐन बन्ने क्रममा रहेकाले संक्रमणकालीन अवस्थामा पुरानै ऐन अनुसार काम हुने शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डिआइजी पुष्कर कार्कीले बताए।
डिआइजी कार्कीले भने, 'संक्रमणकालीन अवस्था भएकाले अहिले पुरानै नियम अनुसार काम हुन्छ।'
हेडक्वार्टरले भने केही दिन अघिमात्र गत ३२ साउनमै बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी नियमावली संशोधन गरी प्रदेशमा एआईजी खटाउने निर्णय गरे अनुसार नै सात एआइजीलाई सात प्रदेशमा पदस्थापन गरिसकेको छ।
प्रहरीले पहिलेको क्षेत्रीय प्रहरी कार्यालयलाई संघीय संरचना अनुसार प्रदेश प्रहरी कार्यालय र अञ्चल प्रहरी कार्यालयलाई भने संघीय प्रहरी इलाका कार्यालयमा रुपान्तर गर्ने गरी काम भइरहेको डिआइजी कार्कीले बताए।
उनले भने 'पहिले क्षेत्रीय प्रहरी कार्यालय भएको ठाउँमा प्रदेश एआइजीले काम गर्नेछन्।' प्रदेश नम्बर २ र ५ मा प्रदेश प्रहरी कार्यालय नहुँदा अहिले कहाँ प्रदेश कार्यालय स्थापन गर्ने अन्यौल रहेको छ।
संघीय संरचना अनुसार प्रदेशमा एआइजी खटाइएपनि कमाण्ड भने केन्द्र प्रहरी प्रधान कार्यालयबाट नै हुनेछ। सरकारले रुकुम र नवलपरासीलाई दुई-दुई जिल्ला मानेर जिल्ला समन्वय समिति गठनको प्रक्रिया अघि बढाएसँगै मुलुकमा ७७ जिल्ला कायम भएका छन्। यसरी थपिएका दुई जिल्लामा भने पहिलेकै प्रहरी संरचना अनुसार काम हुने भएको छ।