PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

स्थलगत रिपोर्ट : दुर्गन्ध फैलिन थालिसक्यो, पुरिएका मानिस घरभित्रै



स्थलगत रिपोर्ट : दुर्गन्ध फैलिन थालिसक्यो, पुरिएका मानिस घरभित्रै

  • ऋषिकेश दाहाल/पहिलोपोस्ट -
साथीको घरमा पुगेर फर्किँदै गर्दा भूकम्प आएपछि साखु सुनटोल नजिकै १८ वर्षीया ब्रजिता मानन्धर पश्चिमतिरको बाटो लागिन्। दौडिँदा दौडिँदै उनीमाथि घर खस्यो। भूकम्प गएको ४ दिनपछि उनका दाजु र नेपाली सेना उनको खोजीमा बाटो पन्छाउँदैछ। उनी दौडेको देख्नेले भनेकै ठाउँमा आज बिहानदेखि सेनाले खोतल्न थालेको हो। 

८ वर्षका सौरिन श्रेष्ठ हराएका छन्। साँखुको पूर्वी बजारमा उनी खेल्न गएको सम्भावित ठाउँ खोज्दै थियो उनको परिवार। यहाँ टर्कीको स्तानबुलबाट आएको टोली मानिस खोजिरहेको छ। स्थानीय राम श्रेष्ठकी पत्नी पनि यही पुरिएको अनुमान छ। 

साँखुबाट बज्रयोगिनी मन्दिर छिचोल्ने बाटो अवरुद्ध छ। बाटो खुलेमात्र मानिसहरु कम्तिमा ओहर दोहर त गर्न सक्थे भन्दै केही युवाहरु भत्किएका संरचना पन्छाउँदै थिए। कोही भेटिहालियो भने एम्बुलेन्स समेत छिर्न सक्ने स्थिति नभएपछि युवाहरु बाटो पन्छाउन खटिएका हुन्।

भूकम्पको झड्का बेहोरेको चौथो दिन बिहान पुग्दा मुलुकको केन्द्र सिंहदरबारबाट १७ किलोमिटर दुरीमा रहेको काठमाडौं उपत्यकाको पुरानो सहर साँखुमा सहरको कुनै नक्सा देखिएन। सबै खण्डहरमात्रै। अहिलेसम्म ६४ जनाको शव यहाँबाट निकालिएको छ। 'यी त भेटिएकामात्र हुन् हराएका कति छन् अनुमान गर्न सकिन्न,' साँखु प्रहरी प्रभागका सई हरि खड्काले भने।

त्यसो त साँखुबजारको माथिबाट हेलिकप्टर र विमान उडिहरेका छन्। साँखुका विजेन्द्र श्रेष्ठका लागि उद्दारका लागि उडेका विमानसँग कुनै सरोकार छैन। 'मरेको मानिस त मर्‍यो मर्‍यो अब बाँचेका मानिस पनि मर्नेछन्,' आक्रोशित हुँदै उनले भने, 'गल्लीगल्लीमा पूरै गनाउन थालिसक्यो।'

यहाँका पुराना घर सबै ढलेका छन्। स्थानीयका अनुसार करिब हजार घर ध्वस्त भएको हुनुपर्छ। साँखु छिर्ने ढोकाहरु सग्लै छन् तर सहरभित्र एउटै बाटो पनि सग्लो भेटिँदैन।

सौरिन श्रेष्ठ खेल्न गएको ठाउँ खोज्दै हिँडेका आफन्तसँग टर्कीबाट आएका उद्दारकर्मी पनि भेटिए। उद्दार गर्न आएका मानिस अंग्रेजी नजान्ने ! अनि उनीहरुलाई मध्यस्तता गराउने पनि कोही देखिएनन्। इसारा इसारामै चलिरहेको छ उद्दार।

'टर्किसले जति गरेका छन् त्यसको एक छेउ पनि हाम्रा सुरक्षाकर्मीले सघाएनन्,' भत्किएको आफ्नै पुरानो घरको फेदमा भेटिएका सिर्जन श्रेष्ठले सुनाए, 'यो घरमा मानिसहरु बचाउ बचाउ भनेर चिच्याएको सुनिएको थियो। सुरक्षाकर्मीले वास्तै गरेनन्। हिजोमात्र टर्किसले निकाले। बचाउबचाउ भन्नेहरु कोही जिवित निस्किन पाएनन्।' उनले भत्किएको घर औल्याउँदै सुनाइरहँदा गुनासो गर्न अरु पनि यहाँ जुटिसकेका थिए। 'यहाँ सेना र प्रहरी एक अर्कोको ड्युटी हो भन्दै पन्छिन्छन्,' एक महिला चिच्याउँदै थिइन्, 'त्यसमाथि चोर सल्किएका छन्।'

साँखुबासीका लागि अहिले घर भत्केको पीर, आफन्त गुमाएको पीरसँगै भत्केकै घरबाट भएका मालसामान चोरिएला भन्ने पीर पनि छ। 'हिजो शव निकाल्यौं। जलाएर पनि आयौं,' सिर्जनले भने, 'अनि राति चोर लखेट्न जान्छौं।'

उनले सुनाइरहँदा मानिसहरु सरकारलाई सरापिरहेको सुनिन्थ्यो। स्थानीय लवजमा उनीहरु सरकार र गृहमन्त्री विरुद्ध बोलिरहेका थिए।
भत्केका घरले गाडी, मोटरसाइकल सबै पुरेका छन्। भत्किएकै घरको बाटो भित्रसम्म पुग्दा दुर्गन्ध नराम्ररी फैलिएको अनुभव जोसुकैले गर्नसक्ने भइसकेको छ। 'दही कुहिएको हो कि मान्छे पत्तो छैन,' एकजना भन्दै थिए।

साँखुमा पानी आउने बाटो सबै रोकिएका छन्। घर भत्किएकाले खान पाउने केही छैन। मानिसहरु खेत खेतमा सरेका छन्।
पीडासँगै मानिसको अनुहारमा आक्रोश छ : पानीसमेत दिएन सरकारले। 'यो देशमा सरकार नै कहाँ छ ? यहाँ त जंगल राज छ,' विजेन्द्र आक्रोशित हुँदै थिए, 'तपैँ आएरमात्र के हुन्छ यहाँ ? हाम्रो दु:खको व्यापार गर्ने ?'

सँगै रहेका मानिसहरु हुत्तिएर उनलाई समात्छन्। 'यो पीडा बोलेको हो, तपाईँप्रतिको आक्रोश होइन,' सँगै गरेका गोपाल श्रेष्ठले भने, 'अहिले हामीलाई सहयोग चाहिएको छ जहाँबाट जसले जे गर्न सक्छ त्यही सहयोग गरोस्। हामीलाई सहयोग चाहिएको हो।'

साँखु बजार छिचोल्न कि त सालीनदीको फाँटबाट जानुपर्छ कि त बज्रयोगिनी मन्दिरको भेदीबाट। भित्र छिर्ने कुनै विकल्प छैन। भत्किएका घरसँग मानिसले अभाव र चोरविरुद्ध संघर्ष थाल्नुपरेको छ। शोक र भोकसँग संघर्ष गरिरहेका साँखुलेहरुको भोगेको पीडापछि  भन्नैपर्छ : सरकार कहाँ छ ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell