PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

स्थलगत रिर्पोट: सिन्धुपाल्चोक खोजिरहेछ औषधी,पानी र खाना



स्थलगत रिर्पोट: सिन्धुपाल्चोक खोजिरहेछ औषधी,पानी र खाना

  • पवित्रा राउत/पहिलोपोस्ट
चौतारा : शनिवार गएको महाभुकम्पबाट पीडित सिन्धुपाल्चोक जिल्लामा खाद्यान्न र शुद्ध पानीको अभाव भएको छ । भुकम्पले ध्वस्त भएको जिल्लाको सदरमुकाम चौतारामा घरवार विहीन भएकाले चौंथो दिनसम्म पनि कतैबाट राहत सामग्री पाएका छैनन्।

सिँगो जिल्लामा मंगलवार सम्ममा  १२ सय ६० को मृत्यु भइसकेको छ । घाइतेको संख्या लगभग तीन हजार पुगेको छ । जिल्लाका ९० प्रतिशत भन्दा बढि घर ध्वस्त भएर खाद्यान्न सामग्री पनि सँगै पुरिएकाले खाद्यान्न अभाव भएको हो । साथमा अधिकांश संरचना र बाटो भत्किएकाले पानीको अभाव भएको छ ।

दुखद घटनाले तहस नहस भएको चौतारा वरपरका क्षेत्र र गाउँहरुमा अहिले सम्म सरकारी निकाय संघसंस्था र ब्यक्तिगत कुनै खालको सहयोग पुगेको छैन । भुकम्प पीडित सबैभन्दा बढि ब्यक्तिहरु चौताराको टुडिखेलमा जम्मा भएका छन् । जिल्ला जन स्वास्थ्य भवन पूर्ण रुपमा क्षतिग्रस्त हुँदा उपलब्ध केहि चिकित्सक खुल्ला ठाउँमा बसेर निरन्तर उपचार गरिरहेका छन् ।

तर पर्याप्त चिकित्सक र औषधीकौ अभावमा घाइतेहरुको उपचार हुन सकिरहेकौ छैन । नेपाल आर्मीको उपस्थिती र रेडक्रसले टांगिदिएको केहि पाल बाहेक सिन्धुपाल्चोवासीले अन्य कतैबाट सहयोग पाएका छैनन् । वरपरका कलेज र विद्यालय भवन तहसनहस भएका छन् ।

राजधानीवाट ८५ किलोमिटर मात्र टाढा रहेको चौतारासम्मको भयावह दृश्य दोलालघाट बाट केहि माथी लागेपछि सुरु हुन्छ । जुन चौतारामा गएर टुंगिदैन । तर सिंगो सिन्धुपाल्चोकको वास्तविक स्थिती पत्ता लगाउन महिनौ लाग्नेछ ।

भुकम्पले गएको पहिरोले चौतारासम्म मात्र यातायातमा पुग्न सकिन्छ । चौतारासम्म पुग्दा पनि विचविचमा आधा दर्जन ठाउँमा सडक नराम्ररी भासिएका छन् । गाउै सखाप भएका अधिकांश ठाउमा अझै पनि उद्धारका लागि जान सकिएको छैन । शोक र पीडामा प्रताडित जिल्लावासी सरकार लगायत सबैमाथि आक्रोश पोखिरहेका छन् ।

“खाद्यान्न, औषधी र पानी निर्मलीकरण चक्की लिएर आउनुस”

खाद्यान्न अभावका कारण वचेका केहि पसलमा रहेका थोरै सामाग्री खोसाखोस भएको छ । “खानेकुरा छैन, लुछाचुडी चलिरहेको छ” बाँच्नका लागि खानै पर्यो” एक स्थानीयले भने ।

चौतारा नजिकै बाँकी रहेका केहि पसलमा भएका सामग्री रित्तिएका छन् । “भएका सामान सबै सक्कीसक्यो मान्छेको हुल सकिदैन भएर पनि नदिएको जस्तो गरेर झगडा हुन थाल्यो त्यसैले पसलै बन्द गरिदिए” चौतारा बजारमा पसल रहेकी प्रमिशा बस्नेतले वताइन् । चौतारासम्म सहजै यातायात पुग्ने भएपनि राहत अथवा सहयोग बोकेर कोही पुगेका छैनन् ।

काठमाडौं केहि खाद्यान्न र औषधी बोकेर पुगेको हाम्रो टोली नै खाद्यान्न पुर्याउने पहिलो टोली थियो । काठमाडौंका सेमन्त दाहाल, ललितपुरका सुरेश थापा र रुकमणी महर्जन र म सहितकौ हामी चार जनाको टोली चिउरा, चाउचाउ दालमोठ, पानीका साथमा केहि औषधी र पाल हामीले सकेजति बोकेर वेलुकी  ४ बजे चौतारा पुगेका थियौं ।

चौतारामा घरबारविहीनको रेखदेखका खटिएका नेपाल आर्मीका मेजर दीपक गुरुङले खाद्यान्न, शुद्ध पानी र औषधीको अभाव विकराल रहेकाले स्थलगत भ्रमण आउनेलाई केहि न केहि बोकेर आउन अनुरोध गरे ।

“खानेकुरा छैन, औषधी छैन, शुद्ध पानीको अभाव छ , यहाँ सबै क्षेत्रबाट तत्काल सहयोगको आवश्यकता छ, यहाँ आउनेले कम्तिमा पानी निर्मलीकरण गर्ने चक्की भए पनि बोकेर आउनु होला” उनले अनुरोध गरे । कतिपय दुर्गमा गाउँमा जान नसकेका कारण उद्धार गर्न सकिएको छैन, त्यसैले विरामीको संख्या बढने भएकाले बिशेष ध्यान पुर्याउन पर्ने स्थिती छ ।


सपनामा भत्किए जस्तो घरहरु ढले

जिल्लाको स्थलगत भ्रमणका साथमा केहि राहत सामग्री बोकेर गएको हाम्रो टोलीले एउटा गम्भिर घाइते ८० बर्षिय आमालाई बोकेर काठमाडौं हुत्तिएका थियौं । चौतारामा १५ मिनेट मात्र रोकिएको हाम्रो टोलीलाई उनै ८० बर्षिय सेतीमाया तामङका छोरा सुदिपले शनिबारको त्यो कहाली लाग्दो  घटनाको वेलिविस्तार लाए ।

ललितपुरको च्यासलमा सुरुक्षा गार्डमा जागिरे सुदिप केहि दिन अधि मात्र चौतारा नगरपालिका ८ मा रहेका आफ्नो घर पुगेका थिए । गएको बेला एक दुइ दिन बसेर आउछु भनेर घरमै रहेका थिए । “छोराको स्कुलको जुत्ता किन्न आएको थिए, पसलमा रहदै एक्कासी सटर हल्लियो, बाहिर भागे, हेर्दा हेदै एकपछि अर्को घर ढल्न थाले ।

सपनामा ढलेको जस्तो गरि घरहरु आँखा अगाढी ढले, कोलाहल थियो । भागदौड थियो, मेरो ओठ तालु सुक्यो घाँटी सुक्यो, खाल्टोमा भेटिएको धमिलो पानी पिए र निस्सासिदै घर पुगे, घर ढलिसकेछ, आमा श्रीमतीलाई छोरा र बुबाले जसोतसो वाहिर निकालेछन् । आमा सबैभन्दा घाइते हुनुभयो । दुइ वटै खुट्टा काटएिको छ ।

पटक पटक भुकम्प गइरहेकाले काठमाडौं आउन सकिएन । आज जसोतसो गरेर चौतारासम्म आमालाई लिएर आएँ” सुदीपकी आमा सेतिमायालाई सात बजे हामिले ट्रमा सेन्टर पुर्यायौं उनको दुबै खुट्टाको शल्यक्रिया गर्न पर्ने भएको छ । गहिरो घाउ चार दिनसम्म यसै रहदा उनको खुट्टाको स्थिती पनि यसै भन्न सकिने अवस्थामा छैन ।

सिन्धुपाल्चोकमा यस्ता हजारौं घाइते छन जसको उद्धार गर्न सकिएको छैन। गाउँ गाउ ध्वस्त भएको दृश्य चौतारामा सम्म पुग्दा बाटैमा कयौ भेटिन्छ , जसले आङै सिरीङग बनाउछ। यो भयावहमा उद्धारका नाममा काठमाडौं उपत्यका भित्रिएका राष्ट्रिय अन्तराष्ट्रिय संस्था तथा सामाजिक कार्यकर्ताको सानो टोली मात्रै पनि त्यहाँ पुग्यो भने पनि जिल्ला वासीकालागि ठुलो साथ हुनेछ ।


भूकम्पले ध्यवस्त बनाएको सिन्धुपाल्चोकको मेलम्ची बजार । तस्बिर: कुमार चौलागाई/रासस


सिन्धुपाल्चोकको शिखरपुर वडा नंं ४ को माझी वस्ती । यहाँ छ जनाको मृत्यु हुनुका साथै वस्तीका पूरै ६४ घर पूर्णरुपमा ध्वस्त बनाएको छ । तस्बिर: नारायण न्यौपाने/रासस


सिन्धुपाल्चोकको सिन्धुकोट वडा नंं ७ स्थित भूकम्पले ध्यवस्त बनाएको भदौरै गाउँ । जहाँ वस्तीका पुरै २४ घर पूर्णरुपमा ध्वस्त बनाएको छ ।
तस्बिर: रमेश लम्साल/रासस


विनाशकारी भूकम्पमा परेर ध्वस्त भएको संरचना पन्छाउँदै सिन्धुपाल्चोक भोटेचौरका कृष्णबहादुर तामाङ र उनका परिवार, यहाँ तामाङ परिवारका पाँच जनाको मृत्यु भएको थियो । तस्बिर: कुमार चौलागाई/रासस

विनाशकारी भूकम्पमा परेर ध्वस्त भएको संरचना पन्छाउँदै सिन्धुपाल्चोक भोटेचौरका कृष्णबहादुर तामाङ र उनका परिवार, यहाँ तामाङ परिवारका पाँच जनाको मृत्यु भएको थियो । तस्बिर: कुमार चौलागाई/रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell