PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

विपतको घडीमा देखाउँ एकता



विपतको घडीमा देखाउँ एकता

  • सुभाषचन्द्र देवकोटा
संगठनले दिएको आदेश पालना गरेर उद्धारमा खटिन पाउँदा मेरो घर लडेको बिर्सेको छु, राज्यको निर्देशन पालक हुँ, त्यही जिम्मेवारी पूरा गर्न पाउँदा बुबाआमाले बगाएको आँसु पनि बिर्सदो रहेछु - विश्व भण्डारी,  नेपाल प्रहरीका जवान
 
सलाम छ - विश्व भण्डारीलार्इ। उनी एक प्रतिनिधि पात्र मात्र हुन्। देश विपतमा परेका बखत यिनै विश्व भण्डारीहरूले देशको इज्जत जोगाएको इतिहास साक्षी छ। अहिले पनि देश संकटपूर्ण अवस्थामा छ र थुप्रै विश्व भण्डारीहरु आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर उद्धार कार्यमा जुटेका छन्। हामी यी नेपाल आमाका बहादुर र पौरखी सपूतहरूप्रति गर्व गर्दछौं , सलाम गर्दछौं।

यसबेला देश महाभूकम्पले क्षतिग्रस्थ भएको छ। प्रियजन र आफन्तहरुको मृत्युले हाम्रा छाती चर्किएका छन्। कोही यस्तो नेपाली अब बाँकी छैन होला जसले यस विनासकारी भूकम्पमा आफ्नो प्रियजन, आफन्त गुमाएको नहोस्। यसबेला हामी जो जि बाँचेका छौं, सबैले मृत्युलाई नजिकबाट अनुभव गरेका छौं। भूकम्पले देखाएको ताण्डवको हामी सबै भुक्तभोगी भएका छौं। तसर्थ आफ्ना प्रियजनहरुको सम्झनामा आँसु बहाउनु र उनीहरुको अत्माको चीर शान्तिको कामना गर्नुबाहेक हामीसँग अरु केही उपाय बाँकी छैन।

जे नहुनु थियो त्यो भइ नै सकेको छ। यस्तो बेलामा हामी सबैले दह्रो मन बनाएर भूकम्प पीडितहरुको उद्धार तथा सहोयोग कार्यमा जुट्नु हामी सबैको प्रथमिकताको विषय हुनु पर्दछ। देश नै आपतमा परेको बेला हो यो। तसर्थ यस समय कसैले कसैको रीस फेर्ने बेला होइन, कसैले कसैको शेखी झार्ने बेला पनि होइन। सबै सना तिना मनमुटाव बिर्सिएर एक अपसमा हातेमालो गरेर राहत र उद्धार कार्यमा जुट्नु हाम्रो देशप्रतिको दायित्व पनि हो।

सिंहदरबार, बालुवाटार अर्थात् सरकारलाई धारेहात लगाएर मात्र के हुन्छ र ? सरकारको ल्याकत कति छ हामी सबैलाई थाह भएकै कुरा हो। तसर्थ सरकारको भर परेर हामीले राहत र उद्धार कार्यमा ढिलाइ गर्दा सास्ती पाउने भनेका हाम्रा आफन्तहरु नै हुन्। कसकसलाई केके भन्नु पर्ने हो सबैको समीक्ष गर्ने दिन पछि आउने नै छ। त्यो बेला हामी सबै मिलेर समीक्षा पनि गरौंला।
 
दुर्गम क्षेत्रहरुमा उद्धार र राहत अझै पुगेको छैन, काठमाडौं उपत्यकामा समेत कतिपय ठाँउमा यो समस्या देखा परेको छ। यसबारे सरकार संवेदनशील हुन नसकेका गुनासाहरु आएका छन्। यसमा सरकारले विदेशबाट आएका उद्धार टोली तथा नेपालकै स्वंमसेवीहरुको बीच समन्वय तथा सहकार्यको व्यवस्था गरी तत्काल उद्धार कार्य संचाल गर्नु पर्दछ। यस्ता उद्धार कार्य समयमै गर्न सकिएन भने पछि गरेर यसको अर्थ पनि हुँदैन।

राहत र उद्धारका लागि देश विदेशबाट आर्थिक तथा सामाग्रीहरु देश भित्र भित्रिएका र भित्रिँदै गरेका समाचारहरु पनि आइरहेका छन्। यसको व्यवस्थापन र परिचालन पारदर्शित तथा जवाफदेयीपूर्ण तरिकाले गर्नको लागि सरकारले एउटा सबै सरोकारवालाहरू सम्मिलित संयन्त्र बनाएर काम गर्नु पर्दछ।  विदेश तथा स्वदेशबाट प्राप्त आर्थिक सहयोग तथा राहत अन्य सहयोगलाई विनापूर्वाग्रह, विना विभेद दूरगम क्षेत्रमा पुग्ने गरी  र वास्तविक पीडितलाई प्रप्त हुने गरी व्यवस्थापन कार्य संचालन गर्नुपर्दछ जसले भोलिका दिनमा कसैले औंलो उठाउने मौका नपाओस्।

मौकामा हिरा फोर्नु भन्छन्। सरकार, सामाजिक, व्यापारिक संघसंस्थाहरु लगायत सबैले उदार दिल बनाएर हिरा फोरेर  सहयोग गर्ने बेला हो यो। यस्तो संवेदनशील घडीमा, यो संवेदनशीलता माथि राजनीति गर्नु सबै भन्दा ठूलो महापाप हो। यो बेला कोही पनि हातमा हात राखेर बस्न सक्दैन। सबैले अपसमा सहकार्य गरी उद्धार तथा सेवामा कार्यमा जुट्नुपर्छ।  यसका लागि सम्वन्धित निकाय तथा सरोकारवालाले तत्काल पहल गर्नु पर्दछ।

राजधानीमा बसेर सिंहदरवार,वालुवाटारको चियो चर्चोले मात्र पिडीतहरूको घाउमा मलम लाग्दैन । बरु यसको बदला  दूरगम जिल्ला र गाँउमा उद्धार कार्यमा सहयोग पुर्‍याउनु जरुरी छ।

उद्धार कार्यमा रातो दिन खटेका प्रहरी, प्रशासन, सैनिक तथा अन्य स्वंम सेवकको उच्च मूल्यांकन गर्दै सम्मान गर्नु तथा उनीहरुलाई हौसला प्रदान गर्नु पनि हामी सबैको कर्तव्य हो। सकारात्मक सुझाव सल्लाहको अपेक्षा भए पनि सानातिना कुराको बहानामा उद्धार कार्यमा लाग्नेहरुको मनोवल गिर्नेगरी समाचार तथा सूचना संप्रेषण गर्नु उचित हुँदैन।

यस विषम् घडीमा कुनै पनि बहानमा सामाजिक सद्भाव खलबल्याउने प्रयास कोही कतैबाट गरिनु हुँदैन। सारा विश्व नै हामीतिर नजर लगाएर बसेको छ। यस संकटपूर्ण घडीमा हामी नेपालीले धैर्य, एकता सहास र क्षमताको प्रदर्शन गर्दै एउटा मजवुत एकताको परिचय दिनु पर्दछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell