PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लुक्लामा हामी उड्ने जहाज छैन, भारतीय वायु सेनाको हेलिकप्टर उड्छ



लुक्लामा हामी उड्ने जहाज छैन, भारतीय वायु सेनाको हेलिकप्टर उड्छ

  • सन्तोष थापा-
दुई दिन भयो लुक्लामा छु। काठमाडौँ फर्कने जहाज कुरेको कुर्‍यै। जहाज पाइएको छैन। एभरेष्ट बेस क्याम्प जाने बाटोमा पुग्दा गत शनिबार भूकम्प गयो। तोङ्गबोचेबाट अगाडि सोमारे पुग्दा एक्कासी भूकम्प गयो। जसका कारण हामी एभरेष्ट बेस क्याम्प पुग्नै सकेनौँ।

भूकम्पका कारण यहाँका कतिपय होटलहरु चर्किएका छन्। बारम्बारको भूकम्पले केही विदेशीहरु आत्तिएका छन्। तर केही विदेशी भने सबै नेपालीले भोगेकै कुरा हो भन्दै सामान्य बन्ने कोशिसमा छन्।

म सँग १२ जनाको अष्ट्रेलियन टोली छ। उनीहरुलाई मैले रातमा होटल भित्र नै बस्ने व्यवस्था मिलाएँ। ढुङ्गाले छाएको होटलको छाना कोठाहरुमा खसेको थियो। सफा गरेर भित्रै रात काटियो। तर होटलका साहुजी नै डरले बाहिर बसे।

लुक्ला आइपुग्दा यहाँका होटलहरु खचाखच रहेछन्। मौससका कारण त्यसै त व्यापारिक उडान भएका रहेनछन्। त्यसमाथि भूकम्पका कारण थुप्रिएका मानिसले भीड बढेको छ।

मसँग भएका अष्ट्रेलियन पर्यटकहरुलाई यहाँको राजदुतावासले अमेरिकी सरकारसँगको सहकार्यमा उद्दारको कोशिस गरिरहेको छ। अष्ट्रेलियन सरकारले काठमाडौँ हुदैँ बैंकक पुर्‍याउने भनेको छ। तर जहाज पाउन सकिएको छैन।



यता भारतीय एयरफोर्सको हेलिकप्टरले दैनिक दुईदेखि तीन उडान गरिरहेको छ। उसले भारतीय रासन कार्ड, आधार कार्ड वा पासपोर्ट हुनेलाई तुरुन्तै काठमाडौँ लगिरहेको छ। उनीहरुले सामान्य सेक्युरिटि चेकअप समेत गर्न नपर्ने रहेछ। उनीहरुको हेलिकप्टरमा १८ देखि २० जना अट्ने रहेछन्।

यहाँ अन्य देशका नागरिकहरु भने ५ देखि ६ दिन सम्म जहाज कुरेका कुर्‍यै छन्। यहाँको हालत खराब छ। यहाँ यस्तै छ।

(थापासँग टेलिफोनमा गरिएको कुराकानीमा आधारित) 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell