PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​राहतजति ब्यारेकमा, भूकम्प पीडितको बिचल्ली



​राहतजति ब्यारेकमा, भूकम्प पीडितको बिचल्ली

  • रमेश गिरी -
भक्तपुर : जिल्ला प्रशासन कार्यालयले भूकम्पपीडितका लागि आएको राहत वितरणलाई व्यवस्थित गर्न नसकेपछि राहत जति सैनिक आवासीय महाविद्यालयमा थन्किएको छ। 

राहत वितरणलाई एकद्वार प्रणालीबाट व्यवस्थित गर्ने भन्दै प्रशासनले जथाभाबी राहत वितरण नगर्न र राहत दिनेहरुलाई प्रशासन कार्यालयमा बुझाउन निर्देशन दिएपछि आएको राहत महाविद्यालयस्थित नेपाली सेनाको ब्यारेकमा थन्किएको हो। 

भूकम्प आएको छ दिन बित्दा पनि राहत वितरण प्रभावकारी रुपमा सुरु हुन नसकेपछि भूकम्पपीडितले राहतबिना नै दिनरात बिताउनु परेको छ। भक्तपुरमा अहिलेसम्म नेपाल सरकारले तीन करोड रुपैयाँ दिएको प्रशासन कार्यालयले जनाएको छ। सरकार, नेपाल रेडक्रस सोसाइटी, हिमानी ट्रस्टलगायत विभिन्न निकायबाट आएको त्रिपाल, चामल, चिउरा, चाउचाउ, चिनी, दालमोठ, बिस्कुट, दाल, नुन, भाँडा, पानी, कम्बललगायत सामान ब्यारेकमा थन्किएको छ। 

गाउँ गाउँमा राहत सामग्री र त्रिपाल नपुगेको भन्दै चौतर्फी विरोध आए पनि कार्यालयले राहत वितरणलाई अझै सहज बनाउन नसकेपछि पीडित आक्रोशित भएका छन्। पीडितले त्रिपालसमेत नपाएपछि हिलाम्मे भुइँमा बस्न बाध्य भएका छन्। 

यता प्रजिअ अनिलकुमार ठाकुरले विभिन्न निकायबाट आएको तीन हजार ७ सय ३४ त्रिपाल, चामल, दाल, नुनलगायत खाद्यान्न वितरण सुरु गरिएको जिकिर गरे। नेपाली सेनासहितको टोलीमार्फत राहत वितरण सुरु गरिएको जिकिर गर्दै उनले मृतक परिवारलाई किरिया खर्चसमेत वितरण गर्न थालिएको बताए। शुक्रबार पनि राहत पठाइने जानकारी दिँदै भक्तपुरमा ३० हजार त्रिपाल आवश्यक भए पनि त्रिपाल नहुँदा समस्या आएको उनले बताए। 

जिल्लामा भक्तपुर नगरपालिकालाई पाँच हजार थान त्रिपाल किनेर वितरण गर्न निर्देशन गर्दा पनि नगरपालिकाले अटेर गरेको बताउँदै प्रजिअले भक्तपुरका अन्य पाँच नगरपालिकाले त्रिपाल किनेर वितरण गर्न थालेको जानकारी दिए। नगरपालिकाका सूचना अधिकृत गौतम लासिवाले 'बजारमा पाइएको ८० थान त्रिपाल किनेको भए पनि बजारमा त्रिपाल नपाएपछि समस्या आएको' बताए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell