PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्रहरीले बरामद गरेको सुनलाई राज्यले के गर्छ ?



काठमाडौं : ठूला चाडपर्व नजिकिँदै गर्दा राजधानी र वरपरबाट ठूलो मात्रामा तस्करी भएर भित्रिएको सुन प्रहरीले समात्न थालेको छ।
प्रहरीले सोमबार मात्र राजधानीको क्षेत्रपाटी ८८ किलो सुन बरामद गर्‍यो।

अवैध रुपमा भित्र्याएको सुन राज्यले के गर्छ? धेरै मनमा प्रश्न उठेको हुन सक्छ।  प्रहरीले अनुसन्धान सकेपछि सुन राजश्व अनुसन्धान विभागलाई बुझाउँछ ।

राज्यले अवैध तरिकाले भित्रिएको सुन नेपाल राष्ट्र बैंकलाई बिक्री गर्छ। प्रहरीले सुन समातिसकेपछि पक्राउ परेका अभियुक्तलाई राजश्व अनुसन्धान विभाग लैजान्छ। राष्ट्र बैंकको विदेशी विनिमय विभागमा लामो समय बसेर  संस्थागत योजनामा सरुवा भएका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाले पहिलोपोस्टसँग भने,‘राजश्व विभागले सुन राष्ट्र बैंकलाई जिम्मा लगाउँछ र अभियुक्तलाई मुद्दा चलाउँछ।’
 
विभागले राष्ट्र बैंकलाई सुन बुझाउँदा त्यो दिनको अन्तर्राष्ट्रिय मूल्य अनुसार सुनको मूल्याङ्कन हुन्छ। मूल्याङ्कन भएको सुनको मूल्य राष्ट्र बैंकले सरकारको राजश्व खातामा रकम भुक्तानी गर्छ र सुन आफ्नो गोदाममा थन्क्याउँछ।
 
यदि, राज्यले अवैध रुपमा भित्रिएको सुनचाँदीको गहना समातेमा भने राष्ट्र बैंकले त्यसलाई सोझै मूल्य तिर्दैन। 

गहनलाई शुद्धिरण गरिन्छ। रसायन हटाइन्छ। सुन शुद्ध भएपछि त्यसको मूल्याङ्कन गरेर राजश्व खातामा पैसा जम्मा गरिदिन्छ। 

सुनको शुद्धता राष्ट्र बैंकको टक्सार विभागमा गरिन्छ। राष्ट्र बैंकमा रहेको सुनलाई आवश्यक पर्दा फेरि राज्यले चलाउँछ। 

जस्तो सरकारले पदक तथा पुरस्कार बनाउँदा, विशेष उपलक्ष्यहरुमा सुनको सिक्का निर्माण गर्दा वा अन्य प्रयोजनका लागि सुन प्रयोग गरिन्छ।

 कहिलेकाँही आन्तरिक बजारको माग धान्न पनि यो सुन बिक्री गरिन्छ। जस्तो केही वर्षअघि नेपालको शोधनान्तर घाटा उच्च भएपछि सुन आयातमा प्रतिबन्ध लगाइएको थियो।

त्यो बेला आन्तरिक बजारमा सुनको हाहाकार भयो। त्यस बेला राष्ट्र बैंकले सुनको गहना बनाउनेलाई निश्चित परिमाणमा सुन बिक्री गरेको थियो। 

अहिले नेपाल राष्ट्र बैंकसँग एक अर्ब ५९ करोड ५६ लाख रुपैयाँ बराबरको सुन मौज्दात छ। यो साउन ३२ गतेसम्मको तथ्यांक हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell