PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

आइडल विवाद : जजसँग रोमान्सदेखि भोट गन्न बिर्सिएकोसम्म विश्वका सात स्क्यान्डल



आइडल विवाद :  जजसँग रोमान्सदेखि भोट गन्न बिर्सिएकोसम्म विश्वका सात स्क्यान्डल

आइडल सिरिजको फ्रेन्चाइज नेपालमा भित्रिएसँगै विवाद पनि भित्रिएको छ। नेपाल आइडलविरुद्ध परेको रिटमा सुनुवाई गर्दै काठमाडौँ जिल्ला अदालतले शुक्रबारसम्म भोट गणना नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। यसले बिहीबारको कार्यक्रममा पुनः भोट आह्वान गरी शुक्रबारको कार्यक्रममा एक जना प्रतिस्पर्धी बाहिरिने पूर्व निर्धारित फरम्याटमा कस्तो असर पर्ने हो, हेर्न बाँकी छ। 

आइडल सिरिजमा विवाद नौलो घटना हैन। अमेरिकादेखि भारतसम्म यो रियालिटी शोमा के कस्ता विवाद भएका थिए, केही झलक हेरौँ-

१)    आउट भएपछि मुद्दा 


इन्डियन आइडलको सिजन ९ बाट डिसक्वालिफाइड भन्दै आउट गरिएका लुधियानाका हरदीप सिंहले अदालतमा मुद्दा हाले। क्षतिपूर्ति, मानहानी र आफ्नो आय र करिअरमा असर पारेको भन्दै सिंहले जिप्सी इन्टरटेनर्स र जुम इन प्रोडक्सनविरुद्ध मुद्दा हालेका थिए। उनी टप नाइनमा पुगिसकेपछि यी कम्पनीले लिगल नोटिस इन्डियन आइडल प्रसारण हुने च्यानल सोनीमा पठाएका थिए। यी कम्पनीसित सिंहले गरेको एग्रिमेन्ट विपरीत सोनी च्यानलमा कार्यक्रम भएको उनीहरुको दावी थियो। सोनीले सिंहलाई नो अब्जेक्सन लेटर ल्याउन भने पनि उनले ल्याउन नसकेपछि डिसक्वालिफाइड गरिएको थियो। 

२)    जातिवादी प्रतिक्रिया


नेपाली मूलका प्रशान्त तामाङले इन्डियन आइडल जितेपछि एउटा एफएम रेडियोले गुर्खाहरुले पनि आइडल जित्न थाले, अब चौकिदारी कसले गर्छ भनेर व्यङ्ग्य गरेका थिए। यो व्यङ्ग्यले सिलिगुडीमा जातीय हिंसा त भड्कायो नै अदालती चक्करमा समेत फँस्यो। आरजे जनार्दन नीतिन ब्राडीविरुद्ध दार्जिलिङको अदालतले गिरफ्तार गर्ने वारेन्ट जारी गर्‍यो। तर सर्वोच्च अदालतले भने त्यसलाई रोक्न अन्तरिम आदेश दियो। भारतको प्रेस काउन्सिलले जातिवादी कमेन्ट गरेको भन्दै रेडियोको प्रसारण केही दिन रोक्नुपर्ने आदेशसमेत दियो। 

३)    रेसिस्ट डिसक्वालिफिकेसन


अमेरिकन आइडलको सिजन २ मा फ्यानहरुको फेभरेट फ्रेन्ची डेभिसलाई छिट्टै डिसक्वालिफाइड गरियो। कारण थियो उनले आफ्नो करिअरको सुरुमा टपलेस फोटो खिचाएको स्वीकार्नु। चार वर्षपछि सिजन ६ मा एन्टोनेला बार्बाको व्यक्तिगत फोटोहरु अनलाइनमा देखिए। तर त्यतिबेला भने उनलाई प्रतियोगितामा रहिरहने अनुमति दिइयो। डबल स्ट्यान्डर्ड भन्दै त्यतिबेला निकै आलोचना भए। प्रोड्युसरहरुले बार्बालाई रहन दिए पनि फ्यानहरुको भोटले उनलाई बाहिर्याडयो। 

४)    जजसँगै रोमान्स

अमेरिकन आइडलकै सिजन २ मा कोरे क्लार्कलाई आफ्नो पहिलेको कानुनी कुराहरु नबताएको भन्दै डिसक्वालिफाइड गरियो। त्यसको दुई वर्षपछि क्लार्कले सनसनीपूर्ण खुलासा गरे- अमेरिकन आइडल शोकै क्रममा उनको जज पाउला अब्दुलसित रोमान्टिक रिलेसनसिप थियो। एबिसी टिभीको प्राइमटाइम लाइभ स्पेसलमा उनले तीन महिना त शारीरिक सम्बन्धसमेत रहेको खुलासा गरे। पाउला र आइडल प्रोड्युसरहरुले यसको खण्डन गरे। टेलिभिजनले आन्तरिक छानबिनसमेत अघि बढायो जसको निश्कर्ष प्रमाण र प्रत्यक्षदर्शी नभेटिएको भन्ने थियो। पाउलाले क्लार्कसँग फोनमा भने कुरा गरेको स्वीकारेकी थिइन्। 

५)    अमेरिकन आइडल विजेताको मुद्दा


अमेरिकन आइडल सिजन ११ का विजेता फिलिप फिलिप्सले को प्रोड्युसर १९ इन्टरटेनमेन्टविरुद्ध मुद्दा हाले। विषय थियो एकपक्षीय, शोषणमूलक कन्ट्र्याक्ट। उनीहरुको हितमा मात्र हुने काम र कारोबार स्वीकार गर्नुपरेको, आइडलका स्पोन्सर जेट ब्लुका लागि निःशुल्क कन्सर्ट गर्नुपरेको, आफ्नो कमाईको ४० प्रतिशत बुझाउनु पर्ने, आफ्नो जानकारी र अनुमति बिना आफ्नो करिअरका महत्त्वपूर्ण फैसला गरिदिने आदि उल्लेख थियो। 

६)    नराम्रो गाउनेको टप सेभेनसम्मको यात्रा


अमेरिकन आइडलको सिजन ६ मा सबभन्दा चर्चाको विषय सन्जय मालाकारको भयो। बंगाली बाबु र इटालियन मूलकी आमाबाट अमेरिकामा जन्मिएका यी गायकको आलोचना सँधै जजले गर्थे। तर भोट फर द वर्स्ट भन्दै एन्टी आइडल अभियान चलेपछि भोटकै कारण उनी टप सेभेनसम्म पुगे। टप टेनमा पुगेका कारण सन् २००७ को अमेरिकन आइडल कन्सर्ट टुरमा उनी पनि सहभागी भए। 

७)    विवाद बढेपछि दुई जना विजयी घोषणा

दक्षिण अफ्रिकामा आइडलको सिजन ‘भी’ फिनाले केपटाउनकी साशा ली डेभिड्स र जेसोन हार्टम्यानबीच भएको थियो। साशालाई विजेता घोषणा गरेपछि हार्टम्यानमा ३ हजार फ्यानले होहल्ला मच्चाए। त्यहाँको पत्रिका द टाइम्सले अनुसन्धान गर्‍यो र विजेता घोषणा भएको चार दिनपछि ८ मे २००९ मा पहिलो पेजमा यो स्क्यान्डल छापियो।  

त्यो समाचार छापिएकै दिन स्थानीय आयोजक एमनेट (यहाँको एपीवान जस्तै) ले सार्वजनिक विज्ञप्ति निकाल्दै खासमा विजेता जेसन हर्टम्यान पपो भएको घोषणा गर्‍यो। खासमा अलेक्ज्यान्डर फोर्बर्सले भोट गणना गर्दा दुई लाख भोट गन्न बिर्सेका रहेछन् जुन भोट हर्टम्यानको पक्षमा आएको थियो।

अब के गर्ने?

त्यसपछि मूल लाइसेन्स होल्डर फ्रिम्यान्टल मिडिया र एमनेटले दुवैलाई विजेता घोषणा गरिदियो। पुरस्कार दुवैले बाँडे। विश्वमा एउटै आइडल शोका दुई विजेताको कीर्तिमान उनीहरुले राखे। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell