PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

एउटा फोटो पत्रकारको आत्मकथाः २०७२ बैशाख १२



एउटा फोटो पत्रकारको आत्मकथाः २०७२ बैशाख १२

  • अंगद ढकाल-
त्यो क्षण सम्झँदा अहिले पनि आङ सिरिङ्ङ हुन्छ। २०७२ साल बैशाख १२ गतेको दिन धेरै नेपालीका लागि बिर्सन नसक्ने दिन बन्यो।

बैशाख १२ मेरा लागि अलि बेग्लै महत्वको दिन पनि थियो तर हरेक बैशाख १२ मा म यो दिनलाई अर्कै ढंगले सम्झिनेछु। दुई वर्षअघि उनी र म पहिलोपटक भेटेका थियौँ। त्यसअर्थमा हामी दोश्रो वार्षिकोत्सव मनाउँदै थियौँ। ‘एनिभर्सरी’ कसरी मनाउँछन् कुन्नि प्रेम गर्नेहरु? हामीचाहिँ कुमारी हलमा ‘रेसम फिलिली’ हेर्न पुगेका थियौँ। फिल्म अघिल्लो दिनमात्र रिलिज भएको थियो।

फिल्ममा ‘क्लाइमेक्स सिन’ चलिरहेको थियो। अचानक हल नै हल्लिन थाल्यो। एकछिनअघिसम्म पेट मिच्दै हाँसिरेका दर्शकबीच कोलाहल मच्चियो। हाँसो रोदन, होहल्ला र चिच्याहटमा परिणत भयो। सबैजना रुँदै कराउँदै हलबाट भाग्न थाले। सुरुमा अब रोकिन्छ कि भन्ने लागेको थियो। तर रोकिएन। हामी सिटमै बसिरह्यौँ। मन आत्तिको थियो तर म सबैलाई सिटमै बस्न आग्रह गर्दै थिएँ। तर मेरो कुरा कसले सुन्थ्यो? जमिन हल्लिए पनि पर्दामा हिरो र भिलेनको अन्तिम युद्ध चलिरहेको थियो तर फिल्म कसरी सकिन्छ भन्नेमा कसैलाई चासो थिएन। थियो त केबल आआफ्नो ज्यानको चिन्ता।

अचानक मेरो हात ब्यागमा पुग्यो, क्यामेरा झिकेँ। सबैजना निस्केपछि हामी पनि बाहिर निस्क्यौँ। बाहिर निस्कँदा भने पर्दा बन्द भैसकेको थियो। बाहिर निस्केर हेरेँ। बाहिर झन् भयाबह दृश्य देखिन्थ्यो। भ्युफाइन्डरमा देखिएका दृश्यभन्दा बाहिरको वातावरण उस्तै डरलाग्दो। मान्छेहरु रोइरहेका थिए। कोही बच्चा बोकेर कुदिरहेका। लडिरहेका मोटरसाइकल। आकासमा कुइरीमण्डल धूलो। प्रकृतिको यो कस्तो क्लाइमेक्स? फिल्मको रिल घुमे झैँ दृश्यहरु फेरिइरहेका थिए।  

मलाई लाग्यो, हामी ठूलो दुर्घटनाबाट बाँच्यौँ। आँखाले जे देखेँ, क्यामेरामा कैद गरेँ। अचानक घरको याद आयो। बल्लबल्ल फोन लाग्यो। स्वरबाटै थाहा हुन्थ्यो आमा पनि आत्तिनुभएको छ। मेरो पनि स्वर कामिरहेको थियो। घरमा सबै ठिकठाक भएको थाहा पाए पछि लामो स्वास फेरेँ। उनले पनि घरमा फोन गरिन्। उता पनि सकुशल। दुबै परिवारमा सबै सुरक्षित रहेको थाहा पाएपछि एकछिन ढुक्क भएको मन फेरि एकतमासको भयो। आत्तिएजस्तो। उकुसमुकुसजस्तो।

यसबीचमा तीनचार पटक भूकम्पको धक्का आइरह्यो। ‘यहाँ बसिरहेर हुँदैन’, मैले उनलाई संकेत गरेँ। उनी भिडियो खिच्न तयार भएर बसेकी थिइन्। मोटरसाइकल स्टार्ट गरेँ। र, हामी कुमारी हलबाट निस्कियौँ।

बाटोभरी मान्छेहरु। चारैतिर त्रास र रुवाबासीमात्र। जाँदाजाँदै एकजना ट्याक्सीचालकले धरहार ढलेको खबर सुनाए। सुरुमा त विश्वास लागेन। मोटरसाइकलको स्पिड बढाएँ। पुरानो बसपार्कबाटै देखिने धरहरा देखिँदैन। मन झन् चिसो भयो। बसन्तपुर दरबार क्षेत्र धुलाम्मे देखिन्थ्यो। ‘भगवान’, भित्रभित्रै पुकारिरहेको थिएँ।


शनिबार बिदाको दिन भएकोले धरहरा चढ्नेको अरु दिनभन्दा बढि नै घुइँचो हुन्थ्यो। धरहरा चढ्ने मानिसको हालत के भयो होला भन्ने प्रश्नले चिमोटिरह्यो। सहिदगेटबाट अघि बढ्ने अवस्था थिएन। नजिकै बाइक साइड लगाएँ।  रगताम्मे घाइतेहरुलाई अस्पताल कुदाइरहेको पनि देखेँ।
एकछिनअघिसम्मको व्यस्त काठमाडौंलाई अर्कै विपत्तिले अस्तव्यस्त बनाइदिएको थियो। धरहरा टुक्राटुक्रा भएर भुइँमा ढलेको थियो।
रुवाबासी, होहल्ला, त्रास र आफन्तको खोजी एकैचोटी भैरहेको थियो।

धरहराको मूल गेट छिर्न खोज्दै थिएँ, सोच्दै नसोचेको घटना घट्यो। लाग्यो, महाभूकम्पबाट जोगिएको म यसपटक जोगिइन। मेरो क्यामेरा भित्तामा बजारिएको थियो, एकछिनअघि भुइँमा बजारिएको धरहराजस्तै। एकपटक होइन तीनचार पटक। हेर्दाहेर्दै मेरो क्यामेरा पनि टुक्राटुक्रा बन्यो। धरहराजस्तै।

‘म पत्रकार हो’, एक अधवैशेँले मेरो क्यामेरा तान्दै गर्दा मैले सम्झाउन खोजेँ।

‘मेरी छोरी मरेकी छ, तिमीहरु फोटो खिच्ने?’, उनले मेरो कुरा सुनेनन्।

अन्ततः मेरो क्यामेरा उनको हातमा थियो। उनको आक्रोसका अगाडि मेरो केही लागेन। क्यामेरा तीनचारपटक धरहराको कम्पाउन्डको भित्तामा बजारियो। उनी को थिए मलाई थाहा छैन। सायद एकछिनअघि आएको भूकम्पले उनकी छोरीलाई निलेको थियो। मसँग क्यामेरा तान्दै गर्दा उनी त्यसै भनिरहेका थिए।

यो पनि पढ्नुहोस्ः आलोक मलाई माफ गर...

तिमी चिरनिन्द्रामा रहेका बेला तिमी र तिम्रा परिवारजन, आफन्त र शुभेच्छुकतिर क्यामेरा तेर्स्याएर फोटो खिच्न मलाई सजिलो भएन। पेशाले फोटो पत्रकार भएपनि म भित्र पनि भावनाहरु छन्। हरेक आम मान्छेको जस्तै पीडा, हाँसो र आँसु मेरो पनि दैनिकी हो। मलाई लाग्छ, म जस्तै अन्य फोटोपत्रकारलाई पनि त्यो क्षण निकै असजिलो थियो। 

मेरो क्यामेरा मेरा लागि बच्चाभन्दा कम थिएन। ढलेको धरहरामा छोरी पुरिँदा उनलाई हुने पीडावोध म कल्पना गर्न सक्दिन तर मेरो बच्चालाई तीनचारपटक बजारिएको हेर्दा मलाई पनि कम्ति पीडा भएको थिएन। म निरीह थिएँ। उनको आक्रोशका अगाडि म अर्को आगो बन्न सक्दिनथेँ। धरहराको भग्नावशेषमा छोरी पुरिएको आफ्नै आखाले देखेका बाबुको आवेगको शिकार भएको थिएँ म। म उनको इमोसनको शिकार बनेँ। छोरीप्रति उनको माया, पीडा र क्रोध मलाई अझै याद छ। उनको आवाजमा त्यो पीडा झल्कन्थ्यो। म क्यामेरा बिहीन भएँ। फलस्वरुप मैले त्यस्ता ‘सट’ हरु मिस गरेँ, जुन एउटा फोटो पत्रकारका लागि अविस्मरणीय थिए। एकैपटक ग्लानी, दुःख, डर र रिस उम्लिरहे जस्तो।  हातखुट्टा भएर पनि अपांगजस्तो। कसैलाई केही भनिनँ। क्यामेराको बचेखुचेका पाटपुर्जा उठाएँ र चुपचाप निस्किएँ। सोचेँ, मैसँग पटक पटक किन यस्तो भैरहन्छ? यसअघि क्यामेरा चोरी भयो। अहिले क्यामेरा फुटाइयो।


आफूसँग क्यामेरा थिएन। ‘चारपाँच दिनमा फिर्ता ल्याउँछु’, ९ महिनाअघि चितवन जाँदा मोहन दाइसँग क्यामेरा मागेँ। जाँदाजाँदै बाटैमा क्यामेरा गायब। बल्लबल्ल क्यामेराको आधा पैसा तिरेँ। अझ तिर्दैछु। क्यामेराबिनाको फोटो पत्रकार बन्न सम्भव हुने कुरा भएन। आमासँग भएको सुन धितो राखेर अर्को क्यामेरा किनेँ। जुन महाभूकम्पपछिको आक्रोश र पीडाको अर्को भूकम्पले त्यसलाई भत्कायो।

‘अर्को किन्नुपर्छ’, सबै दृश्य देखिरहेकी उनले हौसला दिइन्। क्यामेरा नभए पनि रिपोर्टिङ रोकिएन। तर दिनभर, आजसम्म पनि मलाई फुटाइएको मेरो क्यामेराकै याद आइरहेको छ। सोच्छु, मेरो गल्ती छ जसका कारण मेरो क्यामेरा तोडियो? जसरी एउटा इन्जिनियरको काम डिजाइन बनाउनु हो, एउटा डाक्टरको काम उपचार गर्नु हो, त्यसरी नै एउटा फोटो पत्रकारको काम फोटो खिच्नु हो।

हामी एउटा प्राकृतिक विपत्तिको शिकार भएका थियौँ। क्यामेरा फुटाउँदैमा भूकम्प नआउने, धरहरा नढल्ने वा मान्छे नमर्ने भए म क्यामेरा किन्दै फुटाउँदै गर्थेँ। हाम्रो पेशा अन्य पेशाभन्दा बेग्लै हो। सानोतिनो मुटु हुनेले यो पेशा अगाल्न सक्दैन। मान्छेहरु भन्छन्, पत्रकारसँग मानवीय सम्वेदना हुँदैन। यो सरासर गलत हो। यो पेशाको काम नै घटना, प्रवृत्ति र परिणाम रेकर्ड गर्ने हो। शब्द, स्वर, फोटो र दृश्यको माध्यमबाट पत्रकारले हामी बाँचिरहेको समयको बास्तविकता देखाउने हुन्। यस्ता सामग्री नै भोलि इतिहास बन्ने हुन्।

फोटो खिच्नु मेरो धर्म हो। गएका दुई हप्ता भूकम्पले निम्त्याएको विपत्तिको रिपोर्टिङ गर्ने क्रममा धेरैको गाली खाएँ। तर पनि म आत्तिएको छैन। मेरो कर्म रोकिने छैन किनकि कर्म नै धर्म हो भन्ने मलाई थाहा छ।

मसँग पनि मानवीय सम्वेदना छ। देश रोइरहेको छ। ८ हजारभन्दा बढिले ज्यान गुमाए। हजारौँ घाइते र लाखौँ घरबार विहीन। गासबासको ठेगान छैन। गाउँबस्ती ध्वस्त भएको देख्दा मन नरुने को हुन्छ? म पनि हरेको दिन रोएको छु। खण्डहर बनेका ऐतिहासिक सम्पदा, ध्वस्त भएका गाउँबस्ती र प्रिय मान्छेहरु गुमाएका परिवार देख्दा जति रोक्न खोजे पनि आँसु रोकिँदैन। कसैले आँसु चुहाउलान्, कसैले भित्रै दबाउलान् फरक यति मात्र हो।

मनलाई कठोर बनाएर भए पनि जिम्मेवारी निभाइरहेको छु। मेरो क्यामेरा फुटे पनि फोटो खिच्ने काम रोकिएन। आफ्नो क्यामेरा चलाउन दिएकोमा साथी मनोजलाई धेरैधेरै धन्यवाद।

मेरो घर ढलेको छैन, परिवार र आफन्तजनमा कतै भौतिक तथा मानवीय क्षति भएको छैन। तर मेरो क्यामेरा फुट्यो। म पनि त भूकम्प पीडित नै भएँ। पहिलोपोस्टले मेरो फुटेको क्यामेराको क्षति बेहोर्नेछ, फेरि मसँग मेरो क्यामेरा हुने छ तर बैशाख १२ मेरो जीवनमा कहिल्यै नबिर्सने दिन बन्ने छ। हरेक एनिभर्सरी मनाउँदै गर्दा मेरो आँखामा ७२ साल बैशाख १२ का कहालीलाग्दा दृश्य नाच्नेछन्। जीवनको महत्वपूर्ण तर कालो दिन।

अन्त्यमा, महाभूकम्पमा ज्यान गुमाउनेको आत्माको चिर शान्तिको कामना। घाइते भएकाप्रति सिघ्र स्वास्थ्यलाभको कामना। शोकलाई शक्तिमा बदल्ने साहस र हौसला बढोस्। यही प्राथना।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell