PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कहिले सार्वजनिक हुन्छ दलहरुले आज पेश गरेको उम्मेदवारको बन्दसूची?



कहिले सार्वजनिक हुन्छ दलहरुले आज पेश गरेको उम्मेदवारको बन्दसूची?

काठमाडौँ : आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि निर्धारित निर्वाचन कार्यक्रम अन्तर्गत आज राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारको बन्दसूची पेश गरेका छन्। यो सूची तत्काल प्रकाशन भने हुने छैन। 

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार असोज ३० गतेदेखि कात्तिक ५ गतेसम्म आयोगले उम्मेदवारको बन्दसूची सच्याउन दलहरुलाई सूचित गर्नेछ। 

उम्मेदवारको बन्दसूची संशोधन गरी पेश गर्न राजनीतिक दलहरुलाई कात्तिक ६ गतेदेखि १२ गतेसम्म समय दिइनेछ। 

उम्मेदवारको बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा कात्तिक १३ गते बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म निवेदन दिन सक्ने छन्। 

त्यसरी नाम फिर्ता लिएको जानकारी सम्बन्धित राजनीतिक दललाई दिने र रिक्त ठाउँमा अर्को उम्मेदवार मनोनयन गरी मनोनीत उम्मेदवारको नामावली आयोगमा पेश गर्न कात्तिक १४ र १५ गते दुई दिनको समय दिइएको छ। 

कात्तिक १७ गते उम्मेदवारको बन्दसूची सार्वजनिक हुनेछ। उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोध गर्न निवेदन दिने म्याद कात्तिक १८ गतेदेखि २४ गतेसम्म छ। 

उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धी दावी विरोधको निवेदन उपर जाँचबुझ र निर्णय गर्ने समय कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म तोकिएको छ। 

उम्मेदवारको बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना मंसिर २ गते प्रकाशन गरिनेछ र त्यसको भोलिपल्ट मंसिर ३ गते उम्मेदवारको बन्दसूची अन्तिम रुपमा प्रकाशन गरिनेछ। 

मंसिर १० गते पहिलो चरणमा र २१ गते दोस्रो चरणमा मतदान हुनेछ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell