PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

आवश्यक कागजातै नलिई पुगिरहेका छन् नेताहरु उम्मेदवारी दर्ता गर्न, के-के चाहिन्छ?



आवश्यक कागजातै नलिई पुगिरहेका छन् नेताहरु उम्मेदवारी दर्ता गर्न, के-के चाहिन्छ?

काठमाडौँ : मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रत्यक्षतर्फ प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि बिहान १० बजेदेखि मनोनयन सुरु भएको छ। 

विवेकशील साझा पार्टीका सहसंयोजक रविन्द्र मिश्र बिहानै उम्मेदवारी दर्ता गराउन पुगे। तर उनले आवश्यक कागजात पूरा नलिई आएका थिए। त्यसैले उनको उम्मेदवारी मनोनयन दर्ता केही ढिला भयो। 

मिश्र त पहिलो पटक उम्मेदवारी दर्ता गराउँदै थिए तर यसअघि पटक पटक उम्मेदवारी दर्ता गरिसकेका एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पनि आवश्यक सबै कागजात ल्याएका थिएनन्। काठमाडौँ २ बाट मनोनयन दर्ता गराउन आएका उनको पनि उम्मेदवारी दर्ता केही ढिला भयो। 

निर्वाचन आयोगले दिउँसो विज्ञप्ति नै निकालेर कुन कुन कागजात आवश्यक हुन्छ त्यसको विवरण दिएको छ। 

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले मनोनयनपत्रका साथ ल्याउनु पर्ने कागजात हुन्-

  • नेपाली नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि,
  • मतदाता नामावलीमा नाम समावेश भएको निस्सा,
  • धरौटी जम्मा गरेको रसिद वा भौचर
  • दलको उम्मेदवारको हकमा आधिकारिक हस्ताक्षरसहितको दलको औपचारिक पत्र
  • मनोनयन पत्रमा प्रस्तावक, समर्थक तथा उम्मेदवारको सहीछाप 
  • धरौटी रकमको हकमा प्रतिनिधिसभा सदस्यका लागि रू. १० हजार र प्रदेशसभा सदस्यका लागि रू. ५ हजार। महिला, दलित वा अल्पसङ््ख्यक समुदाय वा आर्थिकरूपले विपन्न उम्मेदवारको हकका धरौटी रकममा ५० प्रतिशत छूट।
प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार हुन आवश्यक कागजात
  • सोही प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा 
समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवार हुन र त्यस्तो व्यक्तिले मनोनयन गर्न नपाइने कानुनी व्यवस्था छ । एक व्यक्तिले एक पटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्नेछ। एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएमा त्यस्ता उम्मेदवारको सबै क्षेत्रको उम्मेदवारी बदर हुने व्यवस्था छ ।

 मनोनयन दर्ता कार्य आज अपरान्ह ५ बजेसम्म जारी रहने छ । उम्मेदवारहरुले आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने व्यवस्था मिलाइएको छ । यस निर्वाचनमा ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ सदस्य र प्रदेशसभाका लागि २५६ सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गरिँदैछ। 

दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा प्रदेश नम्बर १ का  इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट तथा प्रदेश नम्बर ३ का  सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ ललितपुर र भक्तपुर छन् । त्यस्तै, प्रदेश नम्बर ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, कास्की, स्याङजा र पर्वत, प्रदेश नम्बर ५ का नवलपरासी  (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलबस्तु, दाङ, प्यूठान, बाँके र बर्दिया, प्रदेश नम्बर ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नम्बर ७ का कैलाली, कञ्चनपुर, डडेलधुरा, अछाम र डोटी जिल्लामा आज उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम रहेको छ । दोस्रो चरणको निर्वाचनमा एक करोड २१ लाख ९८ हजार ८५२ जना मतदातालाई मतदानको अधिकार रहेको छ । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell