काठमाडौँ : निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले चुनाव प्रचार प्रसारमा विदेशी नम्वर प्लेटका सवारी साधन प्रयोग गर्दा निर्वाचन आचारसंहिताको उल्लङ्घन नहुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट पूर्वस्वीकृति एवं अनुमति लिनुपर्ने व्यवस्था गरेको छ।
भारतसँग सीमा जोडिएका जिल्लाहरुमा भारतीय नम्बर प्लेटका गाडीहरु प्रयोग गर्ने गरिन्छ। स्थानीय तहको निर्वाचनमा पनि दल र उम्मेदवारहरुले भारतीय गाडीको उपयोग गरेका थिए।
निर्वाचन प्रचार प्रसारको प्रयोजनमा विदेशी नम्वर प्लेटका सवारी साधनहरूको प्रयोगलाई नियन्त्रण गर्ने सम्बन्धमा निर्वाचन आयोगका माननीय आयुक्त सुधीरकुमार शाहको अध्यक्षतामा विभिन्न निकायका पदाधिकारीहरूको उपस्थितिमा मिति २०७४।७।२० गते बसेको बैठकले यस्तो निर्णय गरेको हो।
'प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको सिलसिलामा निर्वाचन प्रचार प्रसारको प्रयोजनमा विभिन्न राजनीतिक दल र उम्मेदरवाहरूले प्रयोगमा ल्याउने विदेशी नम्बर प्लेटका सवारी साधनहरूको नियमन, नियन्त्रण र व्यवस्थापनका लागि अर्थ मन्त्रालय, भंसार विभाग, गृह मन्त्रालय र यातायात व्यवस्था विभागलाई पत्राचार गर्ने', निर्वाचन आयोगको निर्णयमा उल्लेख छ।
त्यस्तै निर्णयको दोस्रो बूँदामा भनिएको छ, 'राजनीतिक दल वा उम्मेदवारले चुनाव प्रचार प्रसारमा विदेशी नम्बर प्लेटका सवारी साधन प्रयोग गर्दा निर्वाचन आचारसंहिताको उल्लङ्घन नहुने गरी तोकिएको संख्यामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट पूर्वस्वीकृति एवं अनुमती लिएर मात्र सञ्चालन गर्न दिने र यस कुरालाई मध्यनजर गरी प्रचलित कानून बमोजिमको रीत पूरा गरी सम्बन्धित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, स्थानीय प्रशासन, भन्सार कार्यालय र यातायात व्यवस्था कार्यालयहरूले आपसी समन्वयमा कार्य गर्ने।'
आयोगको निर्णयको तेस्रो बूँदामा 'विदेशी नम्वर प्लेटका सवारी साधन प्रयोग गर्न प्राप्त भएको अनुमतीपत्र सम्बन्धित सवारी साधनको अग्रभागमा स्पष्टरूपमा देखिने गरी राखेर मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउने र अनुमति प्राप्त गरी सञ्चालन गरे नगरेको सम्बन्धमा कडा निगरानी एवं चेक जाँचको व्यवस्था स्थानीय प्रशासनले गर्ने' उल्लेख छ।