काठमाडौँ : चिट चोरी भएको एमबिबिएस प्रवेश परीक्षा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले रद्द गरेको छ। आइओएमको प्रवेश परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।
अर्को प्रवेश परीक्षा केही दिनमा हुने बताए पनि आइओएमले मिति सार्वजनिक गरेको छैन।
त्रिवि कार्यकारी परिषद्को निर्देशन अनुसार आइओएमको प्रवेश परीक्षा सञ्चालन समितिले परीक्षा रद्द गरेको हो।
त्रिवि कार्यकारी परिषद्ले एमबिबिएस प्रवेश परीक्षामा प्रश्नपत्र बाहिरिएको ठहर गर्दै परीक्षाका विषयमा आवश्यक निर्णय गर्न आइओएमलाई गत बिहीबार निर्देशन दिएको थियो।
परीक्षामा करिब ९ हजार विद्यार्थी सहभागी भएका थिए।
परीक्षाकै दिन प्रहरीले चार विद्यार्थीलाई चिट चोर्ने डिभाइससहित पक्राउ गरेको थियो। अर्काको परीक्षा दिइरहेका अन्य चार जनासमेत पक्राउ परेका थिए।
विद्यार्थीहरुले आइओएमका डिन अग्रवालको राजिनामासमेत माग गरेका थिए। आइओएमले लिएको एमबिबिएस प्रवेश परीक्षामा चिटिङ भएको प्रमाणित भइसक्दा पनि पुनः परीक्षाका लागि निर्णय नलिएको भन्दै विद्यार्थीहरुले पटक पटक विरोध जनाउँदै आएका थिए।