PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

​एमाओवादीलाई सत्ताबाहिर बस्दा पीडा भएको छः माधव नेपाल



​एमाओवादीलाई सत्ताबाहिर बस्दा पीडा भएको छः माधव नेपाल
तस्बिरः nepal24hours.com

काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपालले एकीकृत नेकपा माओवादीका नेताको दिमागमा सत्ताबाट बाहिरिनुपर्दाको पीडा व्यक्त गर्ने र गुमेको पद पुनः कसरी हासिल गर्ने भन्ने बाहेक केही नभएको टिप्पणी गरेका छन्।

'उनीहरुको ध्यान त खाली सत्ताबाट बाहिरिएको र प्रतिपक्षमा बस्नु परेको कुरामा छ। यही कुराले उनीहरुलाई पोलिरहेजस्तो लाग्छ', आइतबार संसद बैठकपछि पत्रकारसँग नेता नेपालले भने।

नेता नेपालले संविधानका विवाद समाधान गर्न सत्तारुढ दलका नेताहरु दौडधुपमा रहेको दाबी गरे।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलका नेता संविधान निर्माणमा गम्भीर नभएको भन्दै लगाएको आरोपको समेत उनले खण्डन गरे। 

'सत्तारुढ दल त एकदमै दौडधुपमा छन्। मै कतिपटक दौँडे। कति प्रयत्न गरेँ', उनले भने, 'जति कुराकानी गर्दापनि विवादका विषयमा सहमति निस्कँदैन।'

चार बुँदेले संविधान निर्माणमा बाधा पर्दैन

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले चार बुँदे सहमति कार्यान्वयन नहुँदैमा संविधान निर्माणमा बाधा खडा नगर्ने दाबी गरे। 'चार बुँदे कार्यन्वयन नहुँदैमा संविधान निर्माणमा कसरी बाधा हुन्छ?', नेपालले प्रश्न गरे, 'राजनीतिक समिति नहुँदा कसरी बाधा हुन्छ?'

नेता नेपालले चार बुँदे सहमतिले नभई एमाओवादीले संविधान निर्माणमा अवरोध खडा गरेको आरोप लगाए।

दलहरुबीच गएको वर्ष पुस ९ गते उच्चस्तरीय राजनीतिक समिति गठन लगायतका चार बुँदे सहमति भएको थियो।

'सहमति त जेठ २ गते २०६९ सालमा गरेको हैन?' नेपालले भने, 'सहमति किन बिथोलियो? को पछि हट्यो? एमाओवादी हैन?' एमाओवादीले पहिला पनि संविधान निर्माणमा बखेडा झिकेको र संविधानसभा भंग गरेको नेपालले आरोप लगाए।

चुनाव हारेदेखि हालसम्म पनि एमाओवादीले नै राजनीतिक संकट निम्त्याइ रहेको नेपालले आरोप लगाए। 'उनीहरु चुनाव हारेदेखि अहिले व्यवस्थापिका संसदमा अवरोध खडा गर्नेसम्मका काम गरिरहेका छन्।'

नेपालले संविधान निर्माणको कार्यतालिका अनुसार छलफल गरेर कार्यतालिका भित्रै सहमतिमा पुग्नुपर्ने बताए।

संविधान निर्माणको कार्यतालिका अनुसार यहि जेठ २१ गते सम्ममा संविधानका विवादित विषयमा सहमति जुटाई सक्नु पर्नेछ।

'गिरिजालाई बाँचुन्जेल माओवादीले चैन दिएन'

नेता नेपालले पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई बाँचुन्जेल चैन नदिने र मरेपछि महान् भन्ने प्रचण्डको विषयमा कुरै नगर्न सुझाए।
उनले भने- 'उहाँ खुब गिरिजाबाबुको कुरा गर्नुहुन्छ। हेर्नुस्, म यस्तो एउटा छोरोको कुरा सम्झन्छु, जसले बाँचुन्जेलसम्म बाबुलाई दुःख दियो। बाबुले मर्ने बेलामा पानीपानी भनेर माग्दा पनि उसले पानी दिएन। पानी पिउन नपाएर बाबुको मृत्यु भयो। तर मरिसकेपछि एकदम ठूलो डाँको छोडेर रोयो। अनि त्यसपछि श्राद्ध गर्ने र ठूलो भोज गर्ने गर्न लाग्यो। अब हामी कहाँ कस्तो भो भने बाँचुन्जेल गिरिजाबाबुलाई कहिल्यै पनि चैन नदिने मरिसकेपछि गिरिजाबाबु जस्तो महान कोही छैन भन्ने। यस्ता कुरा गर्ने मान्छेका कुरै नगर्नुस्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell