काठमाडौँ : सिरहामा निर्वाचनको लागि खटिएका प्रहरीमाथि मोटरसाइकलमा आएका बन्दूकधारीले गोली चलाउँदा दुई जना प्रहरी घाइते भएका छन्।
चेकजाँचमा खटिएका प्रहरीमाथि सिरहाको कल्याणपुर नगरपालिका वडा ५ चिक्नाको निर्दनामा गोली प्रहार भएको हो। सिरहा-धनुषाको सीमा क्षेत्रमा पर्ने कमला नदी छेउको निर्दनामा चेकजाँचमा रहेका बेला गोली प्रहार भएको प्रहरीले जनाएको छ।
गोली प्रहारबाट प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवर घाइते भएका छन्। दुवैको पेटमा गोली लागेको छ।
मोटरसाइकलमा रहेका अज्ञात दुई जना धनुषाबाट कमला नदी पार गरेर सिरहातर्फ आउने क्रममा चेकजाँचमा खटेका म्यादी प्रहरीसहितको प्रहरीले खानतलासी गर्न खोजेपछि उनीहरुले गोली प्रहार गरेको र घाइतेलाई थप उपचारको लागि सेनाको हेलिकप्टरबाट काठमाडौँ पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी शेखर कोइरालाले बताए।
५/६ जनाको समूहमा रहेका म्यादी प्रहरी सहितको नेपाल प्रहरीका जवान लाठीसहित चेकजाँचको लागि खटिएका थिए। गोली प्रहार गर्नेहरु फेरि कमला नदी भएर धनुषातर्फ नै भागेको र उनीहरुको खोजतलास भैरहेको एसपी कोइरालाले बताए।
यसैबीच जयकृष्ण गोइतले आजै विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी लिएका छन्। उनले आफ्नो जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को फौजी दस्तामाथि आक्रमण गर्न खोज्दा प्रतिरोधमा गोली चलाएको दावी गरेका छन्।