
- सुमन भट्टराई-

शहरमा जस्तो नगरपालिकामा दर्ता भएको नक्सा विपरित गाउँमा सस्ता घर बनाएका कारण यो विपत्ति आएको पनि होइन। त्यहाँ धेरै पहिलेदेखि जस्तो चलन थियो त्यही अनुरुप बनाएका घरहरु भत्किए। त्यसैले शहरमा भूकम्प प्रतिरोधी घरको चर्चा चलिरहँदा नजिकिएको वर्षायाममा विषेशगरी गाउँका पीडितहरुलाई कसरी ओतमा राख्ने भन्ने विषयमा बढी ध्यान केन्द्रित हुन आवश्यक छ। कतिपय गाउँमा सबै घर ध्वस्त छन्। राहत सामग्री लिएर सिन्धुपाल्चोक लगायत जिल्ला जाँदा गाउँको वास्तविक हालत देखियो। ‘यति भयावह अवस्था आउला भनेर त कसैले पनि कल्पना गरेका थिएनन् होला’ जस्तो लाग्छ।
चार वर्षअघि आएको भूकम्पबाट पूर्वी नेपालमा बढी क्षति पुगेको थियो। २०४५ सालको भूकम्प नदेखेको हाम्रो पुस्ताका लागि त्यही २०६८ सालको भूकम्प सबैभन्दा ठूलो लाग्थ्यो। त्यसबेला हाम्रै घर पनि चर्किएको थियो। छरछिमेकमा पनि प्राय सबैको घर अलिअलि चर्किएको थियो तर बस्न नहुने कसैको भएको थिएन। घरबास नै उठेर खासै कसैको विचल्ली भएन। तर यसपालीको क्षति देखेपछि थाहा पाइयो भूकम्पले कुन हदसम्म उपद्रो मच्चाउन सक्दोरहे ।
अहिले हाम्रो मुख्य चुनौती खुला आकाशमुनि बस्न बाध्य सर्वसाधारणलाई वर्षायाममा ओत उपलब्ध गराउनुनै हो। अब तुरुन्त अस्थायी टहरा निर्माण गरी कात्तिकपछि कहाँ र कस्तो व्यवस्थित आवास निर्माण गर्ने हो, त्यसमा जुट्दा राम्रो हुन्छ। वर्षायाम भरीमा सरकारले व्यवस्थित आवासको योजना पनि बनाएर भ्याउला ! भूकम्प लगत्तै राहत सामग्री संकलन र वितरणमा जुटेका हामी केही युवा इन्जिनियर अब भने राहतसँगै गाउँ गएर स्थानीय स्रोत मार्फत त्यस्ता वर्षामा बस्नयोग्य घर कसरी बनाउने भनेर सिकाउने प्रयासमा छौँ।
तर, हामीले केही गाउँमा सिकाएका मोडलले सबै पीडितका लागि घर बन्न सम्भव हुँदैन। त्यसैले इन्जिनियरिङका केही विद्यार्थी साथीहरुले नयाँ मोडल पनि ल्याएका छन्। जसमध्ये बुङ्मतीमा बनाइएको अस्थायी टहरा राम्रो देखिन्छ। तर गाउँमा भनेजति बोरा नपाइने हुँदा त्यसमा नयाँ विकल्प खोज्नुपर्छ। त्यो भनेको टहरो बनाउन थाल्दा फेदमा बोराको सट्टा २-३ फिटसम्मको ढुंगाको गारो लगाउन सकिन्छ। गाउँमा घर भत्किएर ढुङ्गा जताततै छरिएका छन्। तिनैलाई प्रयोगमा ल्याउन सकिन्छ।
फेदमा ढुङ्गाको गारो भएपछि अस्थायी टहरोभित्र पानी पनि छिर्न पाउँदैन। त्यसमाथि बाँसका भाटा या अहिले भत्किएका संरचनाबाट निकालिएका जस्तापाताको बारबेर गर्न सकिन्छ। त्यसपछि दाता एवं सरकारले उपलब्ध गराउने भनेको जस्तापाताले छानो छाउने हो। बाँसकै डाँडाभाटा हालेर जस्ताले छाउने र त्यसमाथिबाट बाँसले नै थिचेर छेउछेउमा बाँध्नुपर्छ। प्वाल नपारी बाँधियो भने अहिले अस्थायी टहराको छानो हालेको जस्ता पछि बनाइने दीर्घकालिन घरमा पनि लगाउन सकिन्छ।
अस्थायी घरको निदाल र थाम समेत अहिले भत्किएको संरचनाबाट प्रयोगमा ल्याउन सकिन्छ। यस्तो घर बनाउँदा भने दुईतिर बँलेसी चुहिने नभइ एक पाखे बनाउनुपर्छ। त्यसो भएमा छानो छाउन र बनाउन पनि सजिलो पर्छ । यस्ता घर बनाउन धेरै सीप पनि चाहिन्न। तथापी गाउँमा युवा एवं सिकर्मी डकर्मीको अभाव भएको कारण देशका अन्य भेगबाट काम गर्ने जनशक्ति झिकाएर तुरुन्त निर्माण सुरु गर्नुपर्छ। यस्ता टहरा बनाउन समय र पैसा पनि धेरै नलाग्ने हुँदा काम पनि छिटो हुन्छ।
दीर्घकालीन घर बनाउने बेलामा पनि केही कुरामा चाहिँ हेक्का राख्नुपर्छ । काठमाडौँ आसपासका जिल्लामा तीन तलासम्मको घर पनि ढुङ्गाको गारो लगाएर बनाउने र छानो समेत ढुङ्गाकै हाल्ने चलन थियो। हेर्दा राम्रो देखिने र न्यानो भएपनि यस्ता घर धेरै गह्रौं हुन्छन्। त्यसकारण पनि भूकम्पले गाउँहरु नै सखाप पारेको देखिन्छ। २०६८ सालको भूकम्पले राम्रै झड्का दिएपनि पूर्वी नेपालका घरहरु त्यति सखाप नहुनुमा त्यहाँ बनाइने घरको छरितो स्वरुप पनि एउटा कारण हो।
पूर्वी नेपालमा भुइँ तलामा ढुङ्गाको गारो लगाएपनि माथिल्लो तलामा बाँस या काठले बार्ने चलन छ। छानोमा चाहिँ फुसलाई जस्तापाताले लगभग विस्थापित गरिसकेको छ। फुस या जस्ता जे भएपनि दुबै हलुका छानोमा पर्छन्। हलुका घरको लचकता बढी हुँदा भूकम्पका झड्काले तुरुन्तै ढालिहाल्ने सम्भावना कम हुन्छ। त्यसैले नेपालकै गाउँ ठाउँमा चलेको घर निर्माणको वैज्ञानिक पद्धतिलाई नियालेर नयाँ निर्माण थाल्दा राम्रो हुन् । पूर्वी नेपालमा बनाइने यस्ता घरको लागत समेत थोरै पर्ने गरेको छ।
जस्तापाता दिएपनि सरकारले प्रत्येक पीडित परिवारलाई एक एक थान त्रिपाल भने उपलब्ध गराउन जरुरी छ। गाउँघरमा वस्तुभाउलाई पनि आफु जत्तिकै महत्व दिने र प्रमुख आर्थिक स्रोत पनि भएको हुँदा झरीमा भिजाउँदै राख्न कोही पनि चाहँदैनन्। अहिले प्राय सबैको गोठ/ग्वाली भत्किएको हुँदा सरकार/दाताले दिने/दिएका त्रिपाल वस्तु भाउका लागि ओत हुन्छ।
लेखक इन्जिनियर हुन्