PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

रवीन्द्र मिश्रलाई ओलीको व्यङ्ग्य : रेडियोमा समाचार पढे जस्तो हैन राजनीति

रवीन्द्र मिश्रलाई ओलीको व्यङ्ग्य : रेडियोमा समाचार पढे जस्तो हैन राजनीति


काठमाडौँ : काठमाडौँ क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रलाई एमाले अध्यक्ष केपी ओलीले रेडियोमा समाचार पढे जस्तो राजनीति नहुने भन्दै व्यङ्ग्य गरेका छन्। 

क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार बिजुली मन्त्रीका भाइ भनेर चुनाव प्रचारका क्रममा चिनाइएका अनिल शर्मालाई भोट माग्दै उनले भने, ‘समाचार त लेखेको हुन्छ, खरर पढ्ने हो। राजनीतिमा त नदेखेका कुरा लेख्नुपर्छ, नदेखेका कुरा देख्नुपर्छ, नगरेका काम गर्नुपर्छ। अगाडिका कुरा देख्नुपर्छ।'

उनले सीधै रवीन्द्र मिश्रको नाम भने लिएनन्। 'केही भाइबहिनीहरु फेरि अहिले यसो आएका छन्', भन्दै व्यङ्ग्यवाण हान्न सुरु गरेका ओलीले मिश्रलाई संकेत गर्दै भने, कोही जागिरै छाडेर आउनुभएको छ। कोही सिक्दै हुनुहुन्छ। राम्रो। उहाँहरुले सिकेकोमा मलाई धेरै केही भन्नु छैन। तर सिक्नु र खेल्नु बेग्लै कुरा हो।'

उनले अहिले मेस्सीले गोल गर्ने बेला भएकोले म पनि गोल हानिहाल्छु भनेर सिक्ने खेलाडीले काम नचल्ने बताए।  

 शर्मालाई कलिलो उम्मेदवार भनी गरिएका व्यङ्ग्यको जवाफमा ओलीले भने, ‘छिप्पिएको म छु, विकासको जिम्मा म लिन्छु।' शर्माले सक्छन् भनेर नै यो क्षेत्र एमालेले माओवादीलाई छाडेको जिकिर पनि उनले गरे। 

यही क्षेत्रमा कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई पनि युएनमा जाँदा नाकाबन्दी नभएको भनेर भनेको भन्दै ओलीले आलोचना गरे। 

छोटो समयमा पार्टी एकीकरण सम्भव नभएकोले अहिले वाम गठबन्धन गरी  चुनावमा गएको र चुनावपछि पार्टी एकीकरण गर्ने उनले बताए।

म गठबन्धनविरुद्ध छैन : माधव नेपाल

सभालाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालले आफू वाम गठबन्धन विरुद्ध रहेको भन्दै कांग्रेसले भ्रम फैलाइरहेको आरोप लगाए। उनले पनि निर्वाचनपछि पार्टी एकीकरण हुने ओलीको स्वरमा स्वर मिलाउँदै भने, 'कम्युनिष्टहरु एक भएको देखेर कांग्रेसभित्र भूकम्प गएको छ।
 
लोकतन्त्र र गणतन्त्रको स्थापना समेत कम्युनिष्टहरुले गरेको दावी उनले गरे। 

भाइलाई यसरी मागे जनार्दन शर्माले भोट 

माओवादी केन्द्रका नेता तथा प्रधानमन्त्रीले बिना विभागीय मन्त्री बनाउनुअघिसम्म गृहमन्त्री रहेका जनार्दन शर्माले जनचाहना अनुसार वाम गठबन्धन भएको बताए। एकै विचारधारा र  एकै उद्देश्य भएकोले एमाले र माओवादीबीच पार्टी एकीकरण हुन लागेको उनले बताए।
 
लोडसेडिङ मुक्त गरेको प्रसंग जोड्दै शर्माले उज्यालो नेपालसँगै भ्रष्टाचारीलाई चुनौति दिएको बताए। उनले लोडसेडिङ्ग फिर्ता गर्न चाहनेले ठूला योजना खारेज गरेको आरोप लगाए। 

 
वाम गठबन्धनका उम्मेदवार अनिल शर्मा


ट्रेन्डिङ पोस्ट

Ncell