PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कांग्रेस त पक्षमै थियो, वामका उम्मेदवारहरुले संविधान संशोधनको कुरा गरेको सुन्दा हाँसो उठ्यो : उपेन्द्र यादव



कांग्रेस त पक्षमै थियो, वामका उम्मेदवारहरुले संविधान संशोधनको कुरा गरेको सुन्दा हाँसो उठ्यो : उपेन्द्र यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरीको प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट दुईवटा चुनावमा उठेका छन्। मधेश आन्दोलनबाट नेपाली राजनीतिमा उदय भएका उपेन्द्र यादव पहिलो संविधान सभाको निर्वाचनमा दुई स्थानबाट विजयी भएका थिए। दोस्रो संविधान सभाको निर्वाचनमा उनी सुनसरीबाट निर्वाचित भएका थिए। यस पटकको प्रतिनिधि सभाको निर्वाचनमा उनी आफ्नो जन्मथलो सप्तरीबाट चुनावमा उठेका छन्। संविधान संशोधन र मधेशलाई उपनिवेशबाट मुक्तिको नारा दिँदै यादव चुनावी मैदानमा छन्। उनीसँग वाम गठबन्धनका उम्मेदवार एवं पूर्वमन्त्री उमेश यादव र राजपाका बागी उम्मेदवार जयप्रकाश ठाकुरले प्रतिस्पर्धा गर्दैछन् । चुनाव प्रचार प्रसारको अन्तिम दिन सप्तरीको मंसापुरमा यादवसँग पहिलोपोस्टका लागि बीपी साहले गरेको कुराकानीको सम्पादित अंश ।   

  • संशोधन नभए अबको संसदबाट संविधान फालिनेछ 

  • निर्वाचन आयोगले राजनीति गर्दैछ

  • वाम गठबन्धन मधेशीका लागि ठग गठबन्धन 


० मधेशी गठबन्धन निर्माणले चुनावमा कतिको सहज भएको छ ?
पार्टीगत हिसाबले गठबन्धन एक साथ छ । चुनाव प्रचार प्रसारमा एक साथ छ । एउटै मुद्दाका आधारमा जाँदैछ । एउटै नारा छ । तर जुनसुकै पार्टीमा केही अराजक व्यक्तिहरु हुन्छन् । तिनीहरुले यताउती गर्दैछन् । त्यसले खासै फरक पर्ने छैन । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल चुनावी मैदानमा एक ढिक्का छ । 

० ती विद्रोहीहरुलाई पार्टीगत रुपमा बसाउने वा मिलाउने प्रयास भयो त ?
हाम्रो पार्टीबाट खासै त्यस्तो विद्रोहीहरु छैन । त्यस्ताले उम्मेदवारी पनि दिएको छैन । राजपाबाट केही देखिएका छन् । हामीले बसाउने वा मिलाउने प्रयास गरेका छैनौं । तर उहाँहरुले गरेको हुनु पर्छ ।

० तर तपाईँहरुको पार्टीभित्रै चुनावमा खुट्टा तान्ने प्रयास भएको देखियो नि ?
यो मानवीय स्वभाव हो । अरुको खुट्टा तानेर आफूमाथि चढ्ने प्रवृत्ति मान्छेमा हुन्छ नै। यो अस्वभाविक होइन। उनीहरुले आफ्नो काम गरुन् हामी आफ्नो काम गर्दैछौं।

० चुनावमा भोट माग्न जाँदा केही नेताहरुले पार्टी एकीकरण अर्थात् फोरम नेपाल र राजपा बीच एकीकरण हुने बताउँछन् नि ?
यो गठबन्धन सफल भएपछि अर्को स्टेप पार्टी एकता नै हो । हामीले अहिले गठबन्धन बनाएर अगाडि बढेका छौं यसबाट केही अभ्यासहरु हुन्छ । त्यसपछि पार्टी एकीकरण हुन सक्छ । 

० तर केही स्थानमा तालमेलमा गडबडी देखिएको छ नि ?
यो पहिलो प्रयोग हो । यो चुनाव सबै मिलेर लड्दैछन् । पार्टीगत हिसाबले हामी एक ढिक्का छौं । केही सिटमा वा क्षेत्र बाँडफाँडमा कसैको असन्तुष्टि हुनु स्वभाविक हो।
 
० निर्वाचन आयोगले सहिदहरुको फोटो अथवा मधेश आन्दोलनको डकुमेन्टी प्रदर्शनमा रोक लगाएको छ । यसले तपाईहरुलाई कति असर गर्छ?
सबभन्दा पहिले निर्वाचन आयोगको यो कदम गलत हो । अहिले निर्वाचन आयोगले राजनीति गर्दैछ । उसले राजनीति नगर्नु पर्ने हो। निर्वाचन आयोग ततस्थ हुनु पर्ने हो। निर्वाचनमा आफ्नो अभिव्यक्ति राख्ने स्वतन्त्रता हुन्छ । यसलाई रोक लगाउनु अनुचित हो । हामीलाई सहिदको सम्झना गर्नमा पनि रोक लगाएको छ । यसले त असर गर्छ नै । यसले मनोवैज्ञानिक रुपमा मधेशीमाथि असर गर्नेछ । मधेश एउटा उपनिवेश हो । उनीहरुले र उनीहरुको पार्टीले जे जे भन्छ त्यही हुन्छ । हामी त्यसकै विरुद्ध त लड्दै छौं । चाहे त्यो सरकार होस् अथवा निर्वाचन आयोग ।

० त्यसो भए तपाईहरु निर्वाचन आयोगको गतिविधिबाट रुष्ट हुनुहुन्छ ?
निर्वाचन आयोगबाट स्वतन्त्रता र निष्पक्षताको आशा गरेका छौं ।

० तपाईँलाई लक्षित गरी बम प्रहारको प्रयाससमेत भयो । प्रशासनको गतिविधिलाई कसरी लिनु भएको छ ?
प्रशासनिक क्षेत्रमा पनि तटस्थता आवश्यक छ। त्यो अहिले आंकलन गर्न मिल्दैन। बम विस्फोटबाट म डराएको छैन। गर्नेले नै जानुन् किन गरायो ।

० संविधान संशोधनको एजेण्डालाई तपाईहरुले निकै उठाउँदै हुनुहुन्छ । कांग्रेस एमालेका उम्मेदवारहरुले पनि संविधान संशोधन गराउँछु भन्दैछन् नि?
संविधान संशोधन नभए संविधान फालिनेछ । जुन कुरा झुक्दैन त्यो कुरा टुटछ ।  जति हावा आए पनि बाँस भाँच्चिदैन तर अरु रुख भाँच्चिन्छ किन भने बाँस झुक्न सक्छ। संविधानमा जति लचकता हुन्छ, संविधान जति परिवर्तन सापेक्ष हुन्छ त्यती बढी नै टिकाउ हुन्छ । सबैलाई समेटर गएको खण्डमा टिकाउ हुन्छ । जहाँ हठ गरिन्छ त्यहाँ संविधान फालिन्छ । अहिलेसम्म नेपालमा छवटा संविधान समाप्त भइसकेका छन् । यो सातौं हो यसको अवस्था पनि त्यस्तै हुन सक्छ ।

० कांग्रेस र एमाले माओवादीका उम्मेदवारहरुले पनि संशोधनको नारा दिएर भोट माग्दैछन्। कस्तो लाग्दैछ?
कांग्रेस त संविधान संशोधनको पक्ष मै थियो । त्यसकारण कांग्रेसको भनाई अस्वभाविक होइन । उहाँहरुको संशोधनको मुद्दा र हाम्रो संशोधनको मुद्दामा एकरुपता हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी छ।

० अनि वाम गठबन्धनले पनि संशोधन भन्छ नि ?
वामका उम्मेदवारहरुले संविधान संशोधनको कुरा गरेको सुन्दा हाँसो उठ्यो। त्यो त गठबन्धन नै होइन, ठग बन्धन हो । तिनीहरु त अवसरवादी हो । तिनीहरुमाथि के विश्वास गर्नु ? तिनीहरु संविधान संशोधनको कुरा उठाएर मधेशीको भोट ठग्न खोज्दैछ।  
 
० चुनावमा फोरम नेपाल र राजपाको अवस्था कस्तो होला जस्ता लाग्छ ? 
फोरम र राजपाको गठबन्धनले सकारात्मक संदेश दिएको छ । यसको परिणाम राम्रो आउने छ । दुई नम्बर प्रदेशमा हाम्रो सरकार नै बन्ने छ । हाम्रो फोरमको मात्रै सोध्ने हो भने पनि राम्रो अवस्था छ ।

० अन्तमा तपाइहरुले के आधार देखाएर भोट माग्दै हुनुहुन्छ त ?
परिवर्तनका लागि । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि । विभेद र उत्पीडिनबाट मुक्तिका लागि । सशक्त रुपले आवाज उठाउनका लागि । मधेशको विकास र निर्माणका लागि सबैले फोरम र मधेशी गठबन्धनलाई मतदान गर्छ भन्ने मलाई लागेको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell