काठमाडौँ : २०६४ सालको निर्वाचनमा देशभर माओवादीको लहर आउँदा पनि २०४६ सालको परिवर्तनपछि भएका हरेक निर्वाचन तनहुँबाट जितेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संसद यात्रा यस पटक भने ब्रेक लाग्ने संकेत देखिएको छ।
आइतबार बिहान ४ बजेसम्म तनहुँ क्षेत्र नम्बर १ मा पौडेल ४ हजार ९७२ मतले पछि परेका छन्।
मतगणना सुरु भएदेखि नै नेकपा एमालेका कृष्ण कुमार श्रेष्ठ भन्दा पछाडि रहेका पौडेलले अहिलेसम्म अग्रता लिन सकेका छैनन्। उता श्रेष्ठले भने पौडेलमाथि मत अन्तर बढाउँदै लगेका छन्। अहिलेसम्म ५२ हजार ४८ मत गणना हुँदा एमालेका श्रेष्ठले २६ हजार २३७ मत प्राप्त गरेका छन् भने कांग्रेस नेता पौडेलले २१ हजार २६५ मत ल्याएका छन्।
१ लाख ५ हजार ५७२ मतदाता यहाँ छन्।
आफूलाई भावी प्रधानमन्त्रीका रुपमा चुनावी अभियानका क्रममा प्रस्तुत गरेका पौडेलले उम्मेदवारी दर्ता गर्दादेखि नै तनाव सहनु परेको थियो। उनको क्षेत्रबाट गोविन्दराज जोशीले बागी उम्मेदवारी दर्ता गरेका थिए। तर पौडेलकै उजुरीपछि जोशीको उम्मेदवारी निर्वाचन आयोगले बदर गरेको थियो।