PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

साना दलको उपस्थिति अब प्रदेशसभामा मात्रै, तीन पार्टीको देखियो सम्भावना



साना दलको उपस्थिति अब प्रदेशसभामा मात्रै, तीन पार्टीको देखियो सम्भावना

काठमाडौँ :  प्रतिनिधि सभातर्फ समानुपातिकतर्फ आधाभन्दा बढी मत गणना भइसक्दा प्रमुख तीन दल र मधेसवादी दुई दलसहित पाँच दलले मात्रै सिट पाउने देखिएको छ। समानुपातिकतर्फ तीन प्रतिशत मतको थ्रेसहोल्ड काट्ने र प्रत्यक्षतर्फ एक सिट पनि जितेको दलमात्र राष्ट्रिय पार्टी हुनसक्ने भएकोले एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपामात्रै राष्ट्रिय दल हुने देखिन्छ। 

प्रत्यक्षमा एक सिट जितेको नयाँ शक्ति पार्टीको राष्ट्रिय पार्टी बन्ने र प्रतिनिधि सभामा समानुपातिक सिट जित्ने सम्भावना लगभग सकिएको छ। झापामा वाम गठबन्धनको सहयोगमा एक सिट जितेको राप्रपाको लागि तीन प्रतिशत मत पुर्‍याउने चुनौति बाँकी छ।

विवेकशील साझाले प्रत्यक्षमा सिट जित्न नसके पनि समानुपातिकमा तीन प्रतिशत मत पुर्‍याउँदा चार जना समानुपातिकतर्फको सदस्य निर्वाचित हुनसक्थ्यो। तर यो लक्ष्य विवेकशीललाई कठिन देखिँदैछ। 

यस्तो अवस्थामा साना दलहरुको उपस्थिति भने अब प्रदेश सभामा मात्रै देखिने भएको छ। प्रदेश सभामा हालसम्मको मतगणना अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व नगर्ने तीन साना दलले पनि समानुपातिकमा सिट पाउने सम्भावना देखिएको छ। गणना बाँकी मतमा उल्लेख्य मत नपाए यी दलले सिट नपाउन पनि सक्छन्। 

प्रदेश १ : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च  

३७ वटा समानुपातिक सिट रहेको प्रदेश नम्बर १ मा १३ लाख २९ हजार मतगणना हुँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाले पनि समानुपातिकमा एक सिट पाउने देखिएको छ। पूर्वको नौ जिल्लालाई लिम्बुवान राज्य बनाउनु पर्ने माग गर्दै आएका विभिन्न लिम्बुवान पार्टी सम्मिलित संघीय लिम्बुवान पार्टी नेपाल विभाजित भएर बनेको यो पार्टीको नेतृत्व कुमार लिङ्देनले गरेका छन्। दाप सहितको खुकुरी चुनाव चिह्न लिएर यो पार्टी चुनावमा होमिएको थियो। 

प्रदेश २ : संघीय समाजवादी पार्टी

४३ वटा समानुपातिक सिट रहेको प्रदेश नम्बर २ मा ७ लाख ८५ हजार मत गन्दा संघीय समाजवादीले पनि एक सिट पाउने सम्भावना देखिएको छ। नेकपा एमालेबाट गृहराज्य मन्त्री भएका रिजवान अन्सारी अशोक राईसँगै संघीय समाजवादी पार्टीमा गएका थिए। राईको पार्टीमा उपाध्यक्ष रहेका अन्सारी उपेन्द्र यादवको पार्टीसँग एकीकरण हुँदै कुनै पद पाउन सकेन। पार्टी एकीकरणबाट रुष्ट रहेका अन्सारीलाई संघीय समाजवादी फोरम नेपालले कारवाही गरेपछि उनले अफ्नै नेतृत्वमा राजनीतिक समूह खडा गरे। 

संघीय विचार समूह खडा गरेका अन्सारीले स्थानीय निकायको निर्वाचन अघि नेपाल संघीय समाजवादी पार्टी बनाए। स्थानीय निकायको निर्वाचनमा नेपाली जनता दलको चुनाव चिन्हबाट पर्सामा एक स्थानीय निकायसमेत जिते। 

यही पार्टी अहिले बस चुनाव चिन्ह लिएर प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा सहभागी भएको थियो।  नेपालको कूल मुस्लिम मध्ये करिब ९२ प्रतिशत मुस्लिम मधेशमा बसोबास गर्ने गरेका छन् । र मधेशमा मुस्लिम अध्यक्ष भएको पार्टीका रुपमा नेपाल संघीय समाजवादी पार्टीलाई लिइएको छ, जसकारण मधेशका अधिकांश मुस्लिम भोट यस पार्टीलाई गएको छ।

प्रदेश ३ : विवेकशील साझा 

४४ वटा समानुपातिक सिट रहेको प्रदेश नम्बर ३ मा ११ लाख ९८ हजार मतगणना भइसक्दाको अवस्थामा विवेकशील साझा पार्टीले ३ र राप्रपाले २ र नयाँ शक्ति पार्टीले १ सिट पाउने देखिएको छ। उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी एकीकरण भई बनेको विवेकशील साझा पार्टीले विशेष गरी काठमाडौँबाट धेरै भोट पाएको छ। विदेशमा बस्नेहरुलाई धेरै आकर्षित गरेको र उनीहरुले स्वदेशमा बस्नेहरुलाई पारेको प्रभाव हुनसक्छ काठमाडौँ बाहिर पनि संगठित भइनसकेको यो दलले मत पाएको छ। 

दोस्रो संविधानसभामा काठमाडौँबाट सबैभन्दा बढी समानुपातिक मत पाएको राप्रपाले यसपालि प्रदेश ३ मा हालसम्म पाएको मतका आधारमा प्रदेशसभामा उपस्थिति जनाउने देखिएको छ। 

नयाँ शक्तिले प्रदेश ३ मा रसुवाबाट प्रशस्त भोट पाएको छ। नयाँ शक्तिले रसुवामा स्थानीय तहसमेत जितेको थियो भने प्रदेश सभातर्फ रसुवा खमा एक सदस्य् प्रत्यक्षमा पनि जितेको छ। 

प्रदेश ३ को प्रदेश सभाका लागि नेमकिपाले भक्तपुर १ खमा एक सदस्य प्रत्यक्ष सदस्य पनि जितेको छ। 
   

प्रदेश ४ 

२४ वटा सिट रहेको प्रदेश नम्बर ४ मा ८ लाख २३ हजार मत गनिसक्दा राष्ट्रिय जनमोर्चा र नयाँ शक्तिले उपस्थिति देखाउने सम्भावना देखाएको छ। हालसम्मको मतपरिणाम अनुसार दुवैले एक एक सिट पाउने देखिन्छ। प्रदेश ४ मा गोरखा पनि पर्छ जुन बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचन कांग्रेससित गठबन्धन गरी जितेको ठाउँ हो। यो प्रदेशमा नयाँ शक्तिले गोरखा २ कमा प्रत्यक्षतर्फ एक प्रदेश सभा सदस्य सिट पनि जितेको छ।  

प्रदेश ४ मा बाग्लुङ पनि रहेको छ जुन जनमोर्चाका नेता पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको प्रभाव क्षेत्र हो। दोस्रो संविधानसभामा तीन सिट जितेको जनमोर्चाले यस पटक प्रदेश ५ को प्युठानबाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनाएका दुर्गा पौडेलले विजय हासिल गरिसकेर प्रतिनिधि सभामा उपस्थिति छिन्। जनमोर्चाले प्रदेश सभामा प्रत्यक्षतर्फ बाग्लुङ १ ख र बाग्लुङ २ ख गरी दुई प्रत्यक्ष सदस्यको सिट पनि जितेको छ। 

बाँकी प्रदेश

३५ सिट रहेको प्रदेश ५ मा १२ लाख ६९ हजार, १६ सिट रहेको प्रदेश ६ मा झण्डै ३ लाख र २१ सिट रहेको प्रदेश ७ मा ४ लाख मत गणना भइसकेको छ। हालसम्म यी प्रदेशको प्रदेश सभामा प्रमुख पाँच दल बाहेक अरु दलको उपस्थिति हुने देखिएको छैन। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell