PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

नेपालको भूकम्पबारे थाहा पाउनै पर्ने तीन तथ्य जसलाई वैज्ञानिकहरुले स्पष्ट भनिरहेका छैनन्



नेपालको भूकम्पबारे थाहा पाउनै पर्ने तीन तथ्य जसलाई वैज्ञानिकहरुले स्पष्ट भनिरहेका छैनन्
चार्ट : युएसजिएस

काठमाडौँ :  वैशाख १२ को विनाशकारी भूकम्पको चार साता बितिसक्यो। तर अझै पनि मानिसहरु भूकम्पको त्रासबाट मुक्त हुन सकेका छैनन्। बेलामौकामा विभिन्न स्रोतको हवाला दिँदै अझै ठूलो भूकम्प आउन सक्ने अनलाइन लिङ्कहरुले भ्रम फैलाउने काम जारी छ। यही बुझेर नेसनल डिस्कभरी च्यानल नामको ब्लगमा डन प्रिन्सले एउटा ब्लग लेखेका छन्।  ‘यो पोस्ट भूकम्पबाट त्रसित नेपालीलाई आश्वस्त पार्न लेखिएको हो’, उनले लेखेका छन्। उनको ब्लगको भावानुवाद-
 

तथ्य नम्बर १ : परकम्प मुख्य भूकम्पभन्दा ठूलो हुन सक्दैन

मुख्य भूकम्पभन्दा ठूलो परकम्प हुन सक्दैन। वैशाख १२ गतेको भूकम्पको म्याग्निच्युड ७.६ थियो। त्यसपछिका सबै परकम्पहरु मुख्य भूकम्पभन्दा सानै छन्। यसमा वैशाख २९ को ६.८ म्याग्निच्युड पनि समावेश छ। परकम्पहरु मुख्य भूकम्पभन्दा सानै हुन्छन्।

७.६ को भूकम्पभन्दा ठूलो भूकम्प जाने सानो संभावना कायमै छ। त्यसो भयो भने वैशाख १२ को भूकम्प पूर्वकम्प हुन जानेछ। तर पूर्वकम्पको समयसीमा नेपालमा पार भइसकेको छ। सामान्यतया पूर्वकम्प २४ घण्टाभित्र हुने संभावना हुन्छ। तर यसले चार साता पार गरिसकेको छ। त्यसैले पूर्वकम्पको संभावना छैन। अमेरिकी भूगर्भ संस्था युएसजिएसले समेत ठूलो भूकम्पको संभावना नभएको बताइसकेको छ। 

तथ्य नम्बर २ : एउटै रप्चर जोनमा नयाँ भूकम्प हुँदैन

परकम्प भइरहेको ठाउँलाई रप्चर जोन भनिन्छ। अहिले गोरखा, दोलखा, काठमाडौँ, रसुवा, नुवाकोट, धादिङ आदि क्षेत्रमा परकम्प भइरहेका छन्। केन्द्र नजिकै भएका कारण यी ठाउँहरु परकम्पमा बढी शक्तिका साथ हल्लिन्छन्। यी स्थानका बासिन्दाहरु अझै ठूलो भूकम्प आउने त्रासमा छन्। तर उनीहरुका लागि खुसीको कुरा के छ भने अहिलेको यो वर्तमान रप्चर जोनमा नयाँ फरक भूकम्प आउन सक्दैन। किनभने यो ठाउँमा सञ्चित ऊर्जा निस्किसकेको छ। अहिले भइरहेका परकम्पहरु क्रस्टमुनि रहेका नमिलेका प्लेटहरु समायोजन हुने क्रममा आएका हुन्। अनि यो समय अनुसार कम हुँदै जानेछ।
 

तथ्य नम्बर  ३ : यही समय, यही मिति र यही स्तरको भूकम्प आउँछ भनेर भविष्यवाणी गर्ने कुनै विधि विज्ञानसँग छैन

के तपाईँले यो भूकम्प आउने भविष्यवाणी वैज्ञानिकहरुले गरिसकेको भनेर सुन्नुभएको छ? सुन्नुभएको छ भने अचम्म नमान्नु होला, यस्तो खालको दीर्घकालीन भविष्यवाणी त हाम्रा औँठाछाप हजुरआमाहरुले पनि गर्नसक्नुहुन्छ। वास्तवमा भूकम्पको यकिन समय, स्थान र म्याग्निच्युड सँधै रहस्यको विषय हो। यसको कुनै नियम, विधि हुँदैन त्यसैले कसैले पनि भूकम्पको ठ्याम्मै भविष्यवाणी गर्न सक्दैन। युएसजिएसले पनि यसलाई स्वीकार गरेको छ।

तर केही वैज्ञानिकहरुले यो भूकम्पको भविष्यवाणी पहिले नै गरेको भनिरहेका छन्। त्यसो हो भने वैशाख १२ गते ११ बजेर ५६ मिनेट हुनुभन्दा अघि नै उनीहरुले नेपाल सरकारलाई किन यसबारे जानकारी दिएर सर्वसाधारणलाई सुरक्षित ठाउँमा जान भन्न सकेनन् त? वास्तवमा उनीहरुले नेपालमा भूकम्पीय जोखिमको भविष्यवाणी गरेका थिए। यही बेला भूकम्प आउनु एउटा संयोगमात्र हो।
 
अझै अलि स्पष्ट पार्न यो तथ्याङ्क हेरौँ-
 
नेपालमा भएका मुख्य भूकम्पहरु
मिति म्याग्निच्युड          क्षेत्र
१९३४         ८             पूर्वाञ्चल
१९८०       ६.५           सुदूरपश्चिमाञ्चल
१९८८       ६.८           पूर्वाञ्चल
२०११       ६.९           पूर्वाञ्चल
२०१५       ७.९           मध्यमाञ्चल
 
अब यो तथ्याङ्क हेरेपछि जसले पनि अनुमान लगाउन सक्छ नेपालको पश्चिम भाग भूकम्पीय जोखिममा छ। किनभने यो ठाउँमा लामो समयसम्म ठूलो भूकम्प गएको थिएन। यसलाई प्राविधिक भाषामा सेस्मिक ग्याप भनिन्छ। अब यही हेरेर कसैले पश्चिम नेपालमा भूकम्प आउन सक्ने अनुमान गरेका छन्। तर तथ्यांकलाई राम्रोसँग हेर्नुभयो भने थाहा पाउन सक्नुहुन्छ पूर्वमा पनि त्यस्तै स्थिति छ। त्यसैले कसैले पनि भविष्यमा भूकम्प कहाँ आउन सक्छ भन्न सक्दैन। न कहिले आउँछ भनेर नै भन्न सकिन्छ। कसैले भन्छ भने त्यो हावा हो।
 
अन्त्यमा भूकम्पको प्रकृति हरेक ठाउँको फरक हुन्छ। इतिहासमा भएका भूकम्पहरु जस्तै भविष्यको भूकम्प हुनुपर्छ भन्ने छैन। उदाहरणका लागि नेपालमा ठूलो भूकम्प आएको १७ दिनपछि शक्तिशाली परकम्प गयो। त्यसको मतलब अब भविष्यमा कुनै ठाउँमा आउने भूकम्पमा पनि त्यस्तै गरी १७ दिनपछि भूकम्प आउँछ भन्ने हन्न।
 
त्यसैले हल्लाको पछि लागेर दुःख पाउनु बेकार हो। अध्ययन गरेर विचार गरी धारणा बनाउनाले राहत दिन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell