PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

रोहितको प्रशंसा गर्दै शरदले भने : नेपालको लागि नयाँ फिनिसर पाएका छौँ



गोविन्दराज नेपाल

रोहितको प्रशंसा गर्दै शरदले भने : नेपालको लागि नयाँ फिनिसर पाएका छौँ

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल), दोस्रो क्वालिफायर।

स्थान : कीर्तिपुरस्थित टीयू मैदान।

ललितपुर प्याट्रिओट्सविरुद्धको खेल जित्न भैरहवालाई अन्तिम ओभरमा १३ रन चाहिएको थियो। क्रिजमा थिए नेपाली यू-१९ राष्ट्रिय टिमका खेलाडी रोहित कुमार पौडेल।

ललितपुरका लागि अन्तिम ओभर बलिङ गर्न विदेशी खेलाडी दिपेश भण्डारी तयार थिए। भारतमा रणजी लेभलका क्रिकेट खेलेका दिपेशलाई ललितपुरका कप्तान ज्ञानेन्द्रले विश्वास गर्दै बल थमाएका थिए। तर उनको अनुभव नेपालका युवा स्टारको अगाडी काम लागेन। रोहितले अन्तिम ओभरको पहिलो बलमै छक्का प्रहार गर्दै खेलको समिकरण बदले। जितका लागि ५ बलमा ७ रन आवश्यक।

रोहितको दिपेशको दोस्रो बलमा पनि छक्का प्रहार गरे। त्यसपछि भैरहवालाई जितका लागि ४ बलमा १ रन चाहियो। तेस्रो बलमा रोहितले १ रन लिदै भैरहवालाई ३ विकेटको रोमाञ्चक जित दिलाए।

रोहितले लिग चरणमा पनि ललितपुर विरुद्धको खेलमै ११ बलमा ३१ रनको पारी खेलेका थिए। त्यस खेलमा रोहितले मेहबुब आलमको १९औँ ओभरमा १ छक्का र ३ चौकाको मद्दतमा १८ रन प्रहार गरेका थिए।

भैरहवालाई फाइनलमा पूर्‍याएपछि खुशी देखिएका टिमका कप्तान शरदले रोहितको खुलेर प्रशंसा गरे। 'हामीले नेपालको लागि नयाँ फिनिसर पाएका छौँ। आशा छ उनले नेपालको लागि खेल्ने चान्स पायो भने खेल्न सक्छ भने विश्वास छ। उसले प्रतियोगितामा राम्रो स्किल देखाउँदै राम्रो प्रदर्शन समे गरेको छ। नेशनल टिमको सेलेक्टरहरुले पनि रोहित खेल हेरिरहेको होला।'

अन्तिम ओभरअघि मनमा के खेलिरहेको थियो भन्ने प्शर्नमा शरदले भने 'विश्वास थियो रोहितले गर्न सक्छ भन्ने। किनकी यसअघि पनि ललितपुर विरुद्धकै खेलमा उसले उत्कृष्ट फिनिसिङ गरेको थियो। १३ रन बाँकी भएको अवस्थामा पहिलो बलमै छक्का हानेपछि सहज भयो।'

१७ बलमै नटआउट २८ रन बनाउँदै खेल जिताएपछि म्यान अफ दि म्याच बनेका रोहितले खेल जित्नेमा आफूमा विश्वास रहेको प्रतिक्रिया दिए। 'विकेट झरिरहेको थियो, खेललाई लास्ट ओभरसम्म लैजाने प्लान थियो। सेकेण्ड लास्ट ओभरमै गेम सकाउने योजना थियो। तर रसिदले १९औँ ओभर राम्रो बलिङ गर्‍यो।' खेलपछि रोहितले भने।

लास्ट ओभरअघि मनमा के थियो भन्ने प्रश्नमा रोहितले भने 'म क्लियर माइन्डमा थिएँ, रेन्जमा बल आयो भने हान्ने भनेर। दुई बल राम्रो पाएँ छक्का हानेँ।'

उनले स्लोयर बलको अपेक्षा गरेको र रेन्जमा बल आएकाले छक्का प्रहार गरेको बताए। अब विराटनगर विरुद्धको फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने रोहितले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell