PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राजधानीका ८८ प्रतिशत ठूला होटल सुरक्षित, एभरेष्ट र अन्ना क्यासिनोलाई रातो स्टिकर



राजधानीका ८८ प्रतिशत ठूला होटल सुरक्षित, एभरेष्ट र अन्ना क्यासिनोलाई रातो स्टिकर

काठमाडौं : भूकम्पबाट राजधानीका अधिकांश होटल सुरक्षित रहेको पाइएको छ। पर्यटन विभाग र भवन निर्माण विभागले संयुक्त रुपमा टोली बनाएर गरेको अनुगमनमा राजधानीका अधिकांश होटल सुरक्षित रहेको पाइएको हो।
 
‘हामीले गरेको अनुगमनमा राजधानीका अधिकांश होटल बस्न योग्य रहेका छन्,’ टोली संयोजक पोषनाथ अधिकारीले भने, ‘हामीले बस्न नमिल्ने भनिएका होटलमा समेत पूर्ण रुपमा एस्सिमेन्ट गरेपछि मात्रै भवन भत्काउनुपर्ने या रेट्रोफिट गरेर चलाउन मिल्ने थाहा हुन्छ।’
 
अनुगमनमा नयाँ बानेश्वरमा रहेको एभरेष्ट होटलमा रातो स्टिकर लगाएर तत्काललाई बस्न नमिल्ने सूचना टाँस गरिसकेको छ।   यो टोलीको  ‘र्‍यापिड एस्सिमेन्ट’ भएकोले प्रारम्भिक अध्ययन मात्रै हो। ठमेलमा रहेको काठमाडौं गेष्ट हाउसको हेरिटेज ब्लक मात्रै बस्न अयोग्य रहेको टोलीको ठहर छ।
 
उनका अनुसार त्यहाँ रहेको तीनवटा ब्लकले ‘हरियो’ स्टिकर पाएकोले बस्न योग्य देखिएको छ। गेष्टहाउसको  एउटा ब्लकले मर्मत गरेर बस्न मिल्ने(पहेँलो) स्टिकर पाएको छ। टोलीले  पाँच तारे होटल सोल्टीको कुनै पनि संरचनामा क्षति नपुगेकोले ‘हरियो’ स्टिकर दिँदै बस्न मिल्ने जानकारी दिएको छ।
 
टोलीले सोल्टीमोडमा रहेको ग्रान्ड, प्लाटिनम, र्‍याडिसन, मल्ललाई बस्ने योग्य भन्दै ‘हरियो ’ स्टिकर दिएको छ। अधिकारीका अनुसार सांग्रिला होटललाई बस्न योग्य रहेको छ। अनुगमनमा ह्यातको कोठाहरु सबै बस्न योग्य रहेको पाइएको छ भने क्यासिनोको छतका केही भाग सामान्य झरेकोले ‘पहेँलो’ स्टिकर पाएको छ।
 
‘एल्लो स्टिकर पाएकाले मर्मत गरेपछि संचालनमा ल्याउन मिल्छ,’ उनले भने। राजधानीका मनाङ, वैशाली, हेरिटेज होम, न्यू पान्डा, मर्स्याङ्दी, होटल साम्बाला, मनास्लु, मुनलाइट र गरुडा बस्न योग्य देखिएका छन्। मुलपानीमा रहेको गोर्कण फरेष्ट रिर्सोटको हन्टर ब्लकलाई रातो स्टिकर दिएको छ भने अरु सबै बस्न योग्य देखिएको भन्दै ग्रीन स्टिकर दिएको छ।
 
अधिकारीका अनुसार हन्टर ब्लक सिंहदरबारको शैलीमा बनाइएको पूरानो घर भएकाले भत्किएको र अन्य भवन पिल्लर सिस्टममा बनाइएकोले पूर्ण रुपमा सुरक्षित छन्।
 
राजधानीको पाँच तारे होटल अन्नपूर्णको क्यासिनो वाहेक सबै बस्न योग्य पाइएको छ। अन्ना क्यासिनो बस्न नमिल्ने प्राविधिकले जानकारी दिएपछि व्यवस्थापनले भत्काउन समेत थालिसकेको छ।
 
ललितपुरमा रहेको भ्यू भृकुटी होटलको बन्दै गरेको नयाँ ब्लकको पर्खालमा समस्या आएपनि पुरानो भवन भने पूर्ण सुरक्षित रहेको पाइएको छ।
 
टोलीले ठमेलमा रहेको कान्तिपुर टेम्पल हाउसको दुईवटा ब्लकमा केही समस्या भएकोले पहेँलो चिन्ह दिएको छ। टोलीले यो होटलका अरु भवनलाई भने बस्न योग्य भएको जानकारी दिएको छ।

 
पूर्ण मूल्यांकन आफै

भूकम्प क्षतिको पूर्ण मूल्यांकन होटल संचालकलेनै गर्नुपर्ने अधिकारीले बताए। ‘हामीले प्रारम्भिक चरणमा मात्रै मूल्यांकन गरेका हौ, उनले भने, ‘क्षतिको पूर्ण मूल्यांकन होटल संचालक आफैले गर्नुपर्छ।’ उनका अनुसार सरकारसँग पूर्ण जनशक्ति नभएकोले पूर्ण मूल्यांकन गर्न नसकिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell