- भावना शर्मा -
त्यो रात
समयको चिसो गुफाभित्र
भयंकर निन्द्राबाट
म एकैछिन नब्यूँझेको भए
तिमीले सुस्तरी डोहोर्याउँदै
सपनाको भर्याङ हालेर चढाइदिएको आकाशभरी
ताराहरु नफुलिदिएको भए
तिमीले एक पसर जून
मेरो आँखामा नपोतिदिएको भए
मेरो प्रेम अधुरै रहने थियो
र तिमीलाई भनिहालुँ
म अधुरा सपनासँगै
बाँच्न चाहन्नथें र मर्न पनि चाहन्नथें
…
मैले मागेकी थिएँ प्रेमका देवतासँग
मेरो प्रेम घाम जस्तै होस् जून जस्तै होस्
मैले टेकेको माटोमा
मान्छेको आयू धुँवाभन्दा छोटो
अनि प्रेमको आयू मान्छेको भन्दा पनि छोटो हुन्छ
र म चाहन्नथें मेरो प्रेमको कुनै आयू होस्
…
म नदी सुकेपछिको बगर
पात झरेपछिको रुख
मरुभूमिको बालुवा झैं छु
जड, जर्जर, रुखो नजाने के के…
यतिबेला मसँग नरम केही छ भने
तिमीले ओढाइदिएको सिंगो आकाश छ
जसको कुनै आयू छैन