![मन्त्रीबाट आउट भएकाहरुको सभामुखमा दौड : माओवादीका चार नेतामा को बन्लान् सभामुख?](https://pahilopost.com/assets/upload/contentthumb/collage_(3).png)
काठमाडौँ : नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम पठाउन नसक्दा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन। माओवादी केन्द्रको भागमा परेका सात मन्त्रीका लागि दर्जनबढी नेता आकांक्षी छन्। केही नेताहरु भने मन्त्री हुने सम्भावनाबाट आउट भएका छन्। यसरी बाहिरिएका नेताहरुको सभामुख हुने दौड सुरु भएको छ।
वाम गठबन्धनका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको पावर सेयरिङ सहमति अनुसार राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभा उपसभामुख एमालेले पाउनेछ। उपराष्ट्रपति, प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभाको उपाध्यक्ष माओवादी केन्द्रले पाउनेछ।
सोही सहमतिका आधारमा माओवादी केन्द्रमा सभामुखका लागि चार नेताले लबिङ सुरु गरेका छन्। ‘दुई दलबीच भएको सहमति अनुसार हामीले सभामुख पाउने पक्का छ, त्यसका लागि चार नेताहरुको नाम अगाडि आएको छ,’ माओवादीका एक स्थायी समिति सदस्यले भने, ‘मन्त्रालयको संख्या घटेको र हाम्रो भागमा मन्त्रालय कम परेकाले पनि उहाँहरु सभामुखमा आउन चाहनु भएको छ।’
मर्यादा क्रम अनुसार प्रतिनिधि सभाका सभामुख मन्त्रीभन्दा माथि पर्छन्। सरकारले हालै जारी गरेको मर्यादा सूची अनुसार सभामुख राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशपछि पाँचौँ नम्बरमा पर्छन्।
त्यतिमात्र हैन, संविधानको धारा २८० अनुसार राष्ट्रपति र उपराष्ट्रपति दुवै पद रिक्त भएमा कार्यवाहक राष्ट्रपतिका रुपमा राष्ट्रपतिले गर्ने काम प्रतिनिधि सभाकै सभामुखले गर्ने व्यवस्था छ।
सभामुखको दौडमा निवर्तमान सभामुख ओनसरी घर्तीको नाम अगाडि छ। तर उनी प्रभावशाली मन्त्रालय पाए मन्त्री बनेर जाने सुरमा छिन्। पटक पटक मन्त्री भएका र उपप्रधानमन्त्रीसहित सञ्चार, परराष्ट्र र अर्थमन्त्रालय समेत सम्हालेका कृष्णबहादुर महरा पछिल्लो समय सभामुख बन्ने दौडमा लागेका छन्।
माओवादी केन्द्रबाट सरकारमा रामबहादुर थापा बादलले नेतृत्व गर्ने भए पछि उनी मन्त्रीको रेसबाट बाहिरिएका हुन्। माओवादी शान्ति प्रक्रियामा आएदेखि सबैभन्दा बढी मन्त्री हुनेमा महरा पर्छन्।
‘उहाँ मन्त्रीको दौडबाट हटिसक्नु भएकोछ, सभामुखमा कुरा भइरहेको छ,’ महरा निकट स्रोतले भन्यो, ‘अहिले नै केही भन्न सकिन्न, उहाँ मात्र हुनुहुन्न, चार पाँच जना नेताको नाम आएको छ।’
यही रेसमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीबाट बादलसँगै फर्किएका देव गुरुङ पनि छन्।
अघिल्लो पटक ओली नेतृत्वको सरकारमा उपप्रधान तथा ऊर्जामन्त्री भएका टोपबहादुर रायमाझी समेत मन्त्री हुने लाइनबाट बाहिरिएका हुन्। एक पटक उपप्रधानमन्त्री भइसकेको र अर्को कार्यकाल मन्त्रीमा जान नचाहेका उनी पनि सभामुखको लागि लविङ सुरु गरेका छन्।
त्यस्तै नेता गुरुङ मन्त्री र सभामुख दुबैको लाइनमा छन्। बादल समूहका उनी बादलकै नेतृत्वमा माओवादी सरकारमा गएपछि उनी पर्ने सम्भावना कम देखिन्छ। पछिल्लो समय बादल समूह माओवादी केन्द्रमा हावी हुँदा सोही समूहबाट गुरुङको नाम सभामुखमा उठेको छ।
माओवादीका धेरै समूहलाई भित्राएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ती समूहलाई समेटेर लाने चुनौती देखिन्छ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले पहिला मन्त्री बन्ने नेताहरुको टुंगो लागेपछि मात्र सभामुखको नाम टुंग्याउने बताइन्। ‘हाम्रो ध्यान पहिला सरकारलाई पूर्णता दिने तर्फछ, मन्त्रीको नाम टुंग्याउने जिम्मा तीन शीर्ष नेतालाई दिएका छौँ,’ भुषालले भनिन्, ‘सभामुखमा पनि केही नेताहरुको नाम आएको छ, यस विषयमा औपचारिक रुपमा छलफल भएको छैन्, मन्त्रिपरिषदले पूर्णता पाएपछि यस विषयमा छलफल हुन्छ।’
राष्ट्रपति विद्यादेवि भण्डारीले फागुन ७ गते प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद बैठक आह्वान गरिसकेकी छन्। संघीय संसदको पहिलो बैठक यही फागुन २१ गते दिनको ४ बजे बस्दै छ। सोही बैठकले सभामुखको निर्वाचन सम्बन्धि प्रक्रियाको विषयमा टुंगो लगाउने छ। सभामुख नचुनिँदासम्म ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्नेछन्।