PahiloPost

Jul 3, 2024 | २० असार २०८१

राष्ट्रिय क्लब भलिबल : एपीएफ र आर्मी च्याम्पियन

राष्ट्रिय क्लब भलिबल : एपीएफ र आर्मी च्याम्पियन

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपीएफले चौथो एनएसटी-एनभिए क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेका छन्।

शनिवार भएको फाइनलमा आर्मीले हेल्प नेपाल स्पोर्ट्स क्लबलाई सोझो सेटमा पराजित गर्दै पुरुषतर्फको उपाधि जित्दा महिलातर्फ एपीएफले पुनरागमन गर्दै शिवम् न्यू डायमण्ड एकेडेमीलाई ३-२ सेटमा हरायो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा न्यू डायमण्डले सुरुको दुई सेट समान २५-१५ को अन्तरमा जित्दै खेलमा २-० को अग्रता बनाएको थियो। न्यू डानयमण्डले बाँकी एक सेट आफ्नो पक्षमा पार्दा मात्र पनि उपाधि जित्ने थियो। तर घरेलु महिला भलिबलमा परिचित न्यू डायमण्ड विरुद्ध एपीएफले पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा बनायो।

एपीएफले तेस्रो सेट २५-१४ ले, चौथो सेट २५-१३ ले तथा पाँचौ सेट १५-९ ले जित्यो।

एपीएफको जितमा सरस्वती चौधरीले स्पाइकबाट २३, ब्लकबाट दुई र सर्भिसबाट एक गरी २६ अंक जोडिन्। यसैगरी नेबिका चौधरीले स्पाइकबाट १६ अंक बटुलिन्। शिवम् न्यु डायमन्डकी प्रतिभा मालीले स्पाइकबाट ३० तथा सर्भिसबाट तीन गरी सर्वाधिक ३३ अंक जोडे पनि जितका लागि पर्याप्त भएन। यस्तै मञ्जु गुरुङले स्पाइकबाट १२ अंक जोडिन्।

जितपछि एपीएफका प्रशिक्षक ज्ञानेन्द्र विष्टले दुई सेट हारेपनि खेलमा कमब्याक गर्न सकिन्छ भने आत्मविश्वासका साथ खेलेकाले सफलता हात पारेको बताए। 'सुरुको दुई सेटमा हाम्रो रिसिभ केही बिग्रिएको थियो। तर त्यसपछि रिसिभमा सुधार गर्दै हामीले बाँकी सेट जित्यौँ। दुई सेट हारेपनि हामीलाई खेलमा फर्कन सकिन्छ भन्ने विश्वास थियो र खेल जित्यौँ।'

यता पुरुषतर्फ एकपक्षिय बनेको फाइनलमा आर्मीले हेल्प नेपाललाई २५-१५, २५-२१, २५-१४ ले हरायो। आर्मीको जितमा मानबहादुर श्रेष्ठले स्पाइकबाट १७ तथा सर्भिसमा तीन गरी कूल २० अंक जोडे भने धनबहादुर भट्टले स्पाइकबाट १३ अंक जोडे। हेल्प नेपालका अमृत केसीले स्पाइकमा ९ तथा ब्लकबाट एक गरी १० अंक जोडे।

दुई वर्षपछि आर्मीको प्रशिक्षकमा फर्केका कपिल श्रेष्ठले यस सिजन आर्मीको पुरुष टिमलाई तेस्रो उपाधि जिताएका छन्। आर्मीले यसअघि पोखरामा भएको राष्ट्रिय प्रतियोगिता र चौथो प्रधानसेनापति कपको उपाधि जितेको थियो।

दुई वर्षअघि आफैले तयार पारेको खेलाडी भएका कारण खेल्न सजिलो भएको र उपाधि जित्न सहज भएको प्रशिक्षक श्रेष्ठले प्रतिक्रिया दिए। 'दुई वर्षअघि मैले नै ट्रेनिङ गराएको र सिकाएका खेलाडीहरु थिए। यसले गर्दा मलाई अली सजिलो भयो।'

यस्तै प्रशिक्षक श्रेष्ठले खेलाडीको मेहनत र प्रशिक्षकको सिकाईका कारण खेल जित्न सकेको बताए। 'गेम जित्न मुख्य दुई कुरा चाहिन्छ। पहिलो खेलाडीको मेहनत अर्को प्रशिक्षक। गेम खेलाडीले जित्दैन, प्रशिक्षकले जिताउने हो। त्यसैले गर्दा अहिले टिममा परिवर्तन पनि आइरहेको छ। ट्रेनिङ र गेम दुवैमा कोचको इन्स्ट्रक्सन हुन्छ। त्यसैअनुसार खेलाडीले खेल्छ।'

दोस्रो पटक आर्मीको प्रशिक्षण सम्हाल्दा श्रेष्ठले ब्लक, पावर स्पाइक र सेटरमा सुधार गर्दै खेलमा परिवर्तन ल्याएको बताए। यस्तै ब्लक र रिसिभमा अझै सुधार गर्नुपर्ने र पावर ट्रेनिङहरु गर्नुपर्ने उनले बताए।

श्रेष्ठकै प्रशिक्षणमा रहेको आर्मीको महिला टिमले तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पुलिसलाई कडा टक्कर दिएको थियो। तर खेल भने पुलिसले ३-२ को सेटमा जित्दै तेस्रो भयो। श्रेष्ठले आर्मीको महिला टिमलाई समेत नम्वर वान बनाउने लक्ष्य रहेको बताए। पुलिसले आर्मीलाई २५-२३, २२-२५, २४-२६, २५-१२, १५-१३ को सेटमा हरायो।

यस्तै पुरुषतर्फ एपीएफले पुलिसलाई २५-१९,२५-२३, २५-२३ को सेटमा हराउँदै तेस्रो बन्यो।

च्याम्पिनद्वय एपीएफ र आर्मीले नगद एक लाख ५० हजार र मेडल र ट्रपी हात पार्‍यो। यस्तै महिला उपविजेता न्यू डायमण्ड र पुरुष उपविजेता हेल्प नेपालले समान एक लाख रुपैयाँ प्राप्तच गरे भने तेस्रो भएको एपीएफ (पुरुष) तथा पुलिस (महिला)ले ६० हजार पायो। 

 

मान बहादुर र प्रतिभा उत्कृष्ट

च्याम्पियनसिपमा पुरुषतर्फ आर्मीका मान बहादुर श्रेष्ठ तथा महिलातर्फ शिवम् न्यू डायमन्डकी प्रतिभा माली उत्कृष्ट खेलाडी घोषित भए। दुवैले नगद १५-१५ हजार हात पारे।

यस्तै व्यक्तिगत उत्कृष्टतर्फ विजेता र उपविजेता टिमका खेलाडीको बाहुल्य रह्यो। व्यक्तिगत उत्कृष्टले ५-५ हजार हात पारे।

विजेता टिम तथा उत्कृष्ट खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा लगायतले पुरस्कार प्रदान गरे।

 

व्यक्तिगत उत्कृष्टहरु (महिला)

बेस्ट स्पाइकर : सरस्वती चौधरी (एपीएफ)

बेस्ट ब्लकर : मनिषा चौधरी (पुलिस)

बेस्ट सर्भर : हिरा केसी (एपीएफ)

बेस्ट लिब्रो : सलिना श्रेष्ठ (न्यू डायमन्ड)

बेस्ट सेटर : कृपा अधिकारी (न्यू डायमन्ड)

बेस्ट कोच : ज्ञानेन्द्र विष्ट (एपीएफ)

 

व्यक्तिगत उत्कृष्टहरु (पुरुष)

बेस्ट स्पाइकर : ललित कुमार (हेल्प नेपाल)

बेस्ट ब्लकर : प्रिन्स पल (हेल्प नेपाल)

बेस्ट सर्भर : धनबहादुर भट्ट (आर्मी)

बेस्ट लिब्रो : ईश्वर थापा (आर्मी)

बेस्ट सेटर : दुर्गा महतो (आर्मी)

बेस्ट कोच : कपिल श्रेष्ठ (आर्मी)

 

 



ट्रेन्डिङ पोस्ट

Ncell