- रमेश भट्टराई-
मनमा फ्याट्ट कुरो खेल्यो। फेसबुक खोलिराख्या थिएँ, लेखिदिएँ।
सामाजिक सञ्चाल मनको बह पोख्ने, सुख–दुःख भन्ने ठाउँ भएको छ। प्रतिक्रिया आउन थालिहाल्यो। प्रतिक्रियामा प्रतिक्रिया जनाएँ। भर्चुअल समाजमा म गफ गरिराखेको थिएँ।
समूहमा भेट हुँदा कसैसँग छुट्टै कुरा गर्दा छेउमा लगेर खासखुस गरेझैं मलाई यो भर्चुअल समाजमा रविले सोध्यो- ‘दाइ तिम्रा सपनाबारे लेख।‘ उमेरले ऊ दाइ हो वा म मलाई थाहा छैन तर हामी दुबै एकअर्कालाई दाइ सम्बोधन गर्छौं। कहिले तिमी त कहिले तपाईं। जबाफ फर्काउन नपाउँदै उसले फेरि लेखिसकेको थियो- ‘लेखिदेउ तिम्रा सपना। हामी पनि थाहा पाउँ।‘
खासखुस शैलीमा नै अर्को सन्देश आयो– ‘नेगेटिभ धुलाउने ठामको बाटो म देखाइदिउँला, तर धुलाउने मान्छेसँग चाहिँ आफैं कुरा गर्नु।’
मैले लेख्ने सहमति जनाएँ। लेख्छु त भनें तर के चाहिँ लेखौं। सपना त धेरै पो छन् त गाँठे। अनि मैले कुन चाहिँ सपनाको नेगेटिभ धुलाउने ठाउँ खोजेको? अनि लेख्न खोजेको एकादेशको दन्त्य कथा पनि त होइ। त्यसो भएपछि आफ्नै सपना कसरी लेख्नु?
कहिलेकाहिँ कुराहरु कतिसाह्रै गोल–गोल घुमाएर गर्नुपर्छ। कहिलेकाहिँ आफ्नै सपनालाई पनि भन्ने गर्छु– ‘आज मैले तिमीलाई सपनामा देख्या नि। अनि हामी त्यहाँ सँगै थियौं अनि मज्जाले गफ गर्या नि।’ यो पनि सपना नै हो।
सपनाहरु त विल्कुल व्यक्तिगतदेखि आफ्नो सपनालाई विपना बनाउन खोज्दा परिवार, साथीहरु, अरु केही व्यक्तिहरु प्रभावित हुने, कुनै कुनैले अलि धेरैलाई प्रभावित बनाउने सबै किसिमका छन्। केही सपनाहरु नेगेटिभमै सीमित भइसकेका पनि छन्, केहीलाई अब धुलाउँदिन भनेर थन्क्याइएको पनि छ। जस्तो कि एकताका स्वर्गीय पण्डित नारायण पोखरेलजस्तै पण्डित बन्ने सपनाको नेगेटिभ राखेको थिएँ।
०००
बुबा पुरोहित। सात वर्षकै उमेरमा ब्रतबन्ध गराइदिएर सँगै लिएर हिँड्नुभो। संगत नै पण्डित, पुरोहितहरुको मात्रै। सबै केश फुल्न थालेको बुढाहरुसँगको संगत। झोली बोकेर हिँड्दा देख्नेहरु पनि हाँस्थे, कति सानो पुरेत भनेर। मलाई धेरैले साना बाहुन भन्थे। त्यतिबेला स्व. पण्डित पोखरेलको जताततै खोजी हुन्थ्यो, पोखरेलकै मुखबाट पुराण सुन्न पालो कुर्नुपर्ने। अनि बनेको थियो सपनाको नेगेटिभ, पण्डित पोखरेलजस्तै हुने।
समयक्रम र नयाँ ज्ञानले पण्डित सपनालाई नेगेटिभमै सीमित पारिदियो। एसएलसी दिएर काठमाडौं आएपछि पहिलो पटक कम्प्युटर देखेको। स्कुलमा पढ्दा अंग्रेजीमा कम्प्युटरको बारेमा परिचयात्मक पाठ पढेको थिएँ। सरले भन्नुहुन्थ्यो – माउस मुसो जस्तै हुन्छ, पुच्छरमा छोइदिएपछि सप्पै काम त्यसैले गर्छ, टेबलको छेउमा फाइलको चाङ हुन्छ, सिपियुले फाइल पढ्छ, मोनिटरले सप्पै पाना देखाइदिन्छ पढेर सकेपछि आफैं पाना पल्टिन्छ।
त्यो सुनेको कम्प्युटरको कुरो भो। एसएलसीपछि काठमाडौंमा कम्प्युटर सिक्न जाँदा त कुरो अर्कै रहेछ। कम्प्युटरको ती पार्टपुर्जाबाहेक अर्को कुरा पनि थाहा भो– भाइरस। कम्प्युटर पढाउने सरले भन्नुहुन्थ्यो – कम्प्युटरमा भाइरस लाग्छ, घरमा राम्रोसँग हात धोएर आउनु अनि चप्पल बाहिरै फुकाल्नु। अफिस प्याकेज, डस, इमेल–इन्टरनेट सिकेपछि कम्प्युटरको कक्षा सकियो। आफूलाई कम्प्युटर झन्–झन् रहस्य लाग्न थालेको थियो। आफूलाई भने ठ्याक्कै रहस्यको गर्भसम्म पुग्न मन लाग्ने। असाध्यै गहिराइमा पुग्न मन लाग्ने। त्यो कम्प्युटरको कक्षा त बिल्कुल सतह थियो। अनि भनें – मलाई अझै पढ्न मन छ। कम्प्युटर पढाउने सरले भन्नुभयो – एसएलसी पास भएपछि कम्प्युटर साइन्स पढ।
११ कक्षामा भर्ना हुनुअघि विषय छनौट गर्दै थिएँ। मानविकी संकाय रोजेको थिएँ, विषयहरुको सूचीमा सुरुमै कम्प्युटर साइन्स देखें अनि त्यसैमा ठीक लगाएँ। दोस्रो कोलममा गणित छानें – एसएलसीमा सबैभन्दा धेरै नम्बर गणितमै आएको थियो नि त। अनि तेस्रो कोलममा चाहिँ मैले त्यतिबेलासम्म नसुनेको र त्यसको अर्थ पनि थाहा नभएको विषय छानें– मास कम्युनिकेसन। कसैको सल्लाहविनै आफैं छानेको थिएँ। पछि गएर के बन्ने भन्ने कुनै योजना थिएन। त्यसपछि बन्यो कम्प्युटर इन्जिनयरको सपना।
ज्या, कम्प्युटर इन्जिनियर पढ्न त थुप्रो पैसो लाग्ने रैछ। अनि मानविकी संकायबाट जाँदा अरु पनि के के झन्झट छ भनेर भन्दिए अरुले अनि त सुरुमै रोकियो कुरो। पैसाको कुरो सुनेपछि नै थप बुझ्न मन लागेन। अनि रत्नराज्य क्याम्पसमा स्नातक भर्ना भएपछि पत्रकारिताप्रति अलि बढी रुची बढ्यो। त्यही रुचीकै कारण स्नातकोत्तर पनि पत्रकारितामा नै गरें। केही समय असाध्यै रुचीपूर्वक पत्रकारिता पनि गरें, टेलिभिजन, दैनिक पत्रिका र केही अनलाइनमा। तर केही समयदेखि यता यसमा पनि शीथिलता आएको छ।
०००
केही महिनाअघि फेसबुकमा लेखेको थिएँ – ‘यस्सो सन्दुक खोतल्दा भेटिए धुलाउन नसकिएका सपनाका थुप्रै नेगेटिभहरु। फेरि ती नेगेटिभ हेर्दा कैयौं सपना धुलाउन नसकेकोमा असाध्यै पीडाको अनुभुति। कतिपय नेगेटिभ त हेर्दै रोमाञ्चक लाग्ने, अहो! यसलाई धुलाउन पाए त झन्! थन्क्याइएका नेगेटिभहरुले फेरि जिस्क्यायो सुषुप्त चाहना र रहरलाई। फेरि खिचिए नेगेटिभमा केही नयाँ सपनाहरु र थन्क्याइए त्यही पुरानो सन्दुकमा। अहो! कहिले धुलाउने हो यिनलाई? सपनाका नेगेटिभहरु धुलाउने यात्रामा कति फाट्ने हुन् तलुवाहरु? कति धुलाइने हुन्, कति रोमाञ्चक सपनाका रुपमा नेगेटिभमै सीमित हुने हुन्, कतिले फेरि सन्दुक खोतल्दा पीडा दिने हुन्! अहो! मेरा सपनाका नेगेटिभहरु!’
त्यसयता पनि थपिएका छन् सन्दुकमा केही थान सपनाका नेगेटिभहरु। तर कुनै कुनै नेगेटिभहरु यति विशिष्ट खालका हुँदा रहेछन् कि बेला बेला सन्दुक खोलेर झिक्न र सुम्सुम्याउन मन लागिरहने। अझ सन्दुकमा पनि होइन सिरानीमा नै राखेर बेला बेला हेरिरहन मन लाग्ने, नेगेटिभ हेर्दै मन पुलकित हुने। अनि यही नेगेटिभले चाहिँ सबैभन्दा बढी झस्काउने र पीर पनि पार्ने– ‘धुलाउन सकिएन भने!’ भन्ने डर पस्दा।
०००
एक पटक नेगेटिभसँग कुरा हुँदा प्रश्न आएको थियो – ‘तपाईंको सपना के हो?’
‘मान्छे बन्ने।’
–‘ह्या यस्तो भावनात्मक खालको होइन क्या।’
‘जीवनभर पढ्ने।’
– ‘पढ्ने त सबैको भइहाल्छ नि, यो यो गर्छु भन्ने खालको ड्रिम हुन्छ नि।’
‘पीएचडी गर्ने, बिहे गर्ने, आफ्नो र परिवारको लागि केही कमाउने, त्यसपछि सकें भने मानव जातिका लागि केही गर्ने।’
त्यसपछि मैले पनि सोधेको थिएँ। यस्तै सपनाका संवादहरु धेरै भएका छन्। अहिले ती सपना पनि आफ्नै सपना लाग्न थालेका छन्। यसकारण कि ती स्वप्नद्रष्टा पनि मेरा सपनाका नेगेटिभमै भेटिन थालेको छ आजभोलि।
०००
अघिल्लो रात सुतिएको थिएन, विहान ६ बजे सुत्नुअघि किताब र्याकमा ल्यापटप राखेंको थिएँ। दिमागमा के आयो कुन्नी भुईंचालो आयो भने त र्याक ढलेर ल्यापटप फुट्छ भनेर सिरानी नजिकै राखें र सुतें। त्यही साढे १० तिर उठेर खाना खाइवरी एक छिन आराम गरें र ल्यापटप खोलेर केही टाइप गर्दै थिएँ बेस्सरी सबथोक हल्लाउन थाल्यो, अनि मलाई पनि। अनि सबैभन्दा पहिले ढल्यो त्यही किताबको र्याक। गएको बैशाख १२ गतेको कुरो हो यो। जमीन हल्लाउन छोडेपछि घरबाहिर गएँ। धेरै जना मरे होला, धेरै घर ढले होलान्, केन्द्रविन्दू कता परेको होला सोच्दै आफ्ना नजिककासँग सम्पर्क गरें। आफ्ना नजिकका जति सबैसँग सम्पर्क भयो। सबै ठीक भएको थाहा पाएपछि अरु खबर बुझ्न लागें। धेरै क्षति पुगेको र मानिसहरु हताहत भएका खबर आउन थालेका थिए, जमिन बेला बेला हल्लिराखेको नै थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटबाटै नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाइसकेका थिए, हाम्रो मन्त्रीपरिषद् बैठक बसेको खबर आएको थिएन।
त्यत्तिकैमा सपना देखेको थिएँ मैले। भूकम्पको पहिलो धक्का रोकिनेवित्तिकै प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठक डाकिहाले। केही निर्णय गर्दै १५ मिनेटमै बैठक सकियो। विपद् जतिबेला परे पनि तत्काल गर्नुपर्ने निर्णयको पूर्वतयारी भइसकेको थियो। त्यसैले धेरै छलफल र माथापच्ची गर्नै परेन। औपचारिकताका लागि केही निर्णयहरु सरकारले गरेको थियो। सरकारले तत्काल हजारौंको संख्यामा स्वयंसेवकका लागि आह्वान गर्यो। सहरका लागि आवश्यक संख्यामा र गाउँमा पनि प्रत्येक वडामा कम्तीमा २० जना स्वयंसेवक पुग्ने गरी सरकारले स्वयंसेवक दलको निर्माणका लागि आह्वान गर्यो। आह्वानमा सरकारले भन्यो राष्ट्रिय विपत्तिमा स्वयंसेवा गर्ने युवाहरुलाई सरकारले राष्ट्रिय प्रमाणपत्र दिनेछ र भविष्यमा सधैं त्यसको मूल्यांकन हुनेछ। सरकारले आह्वान गर्नेवित्तिकै युवाहरु उत्साहपूर्वक स्वयंसेवा दलमा सहभागी भए। तत्काल सरकारले प्रत्येक वडामा निजामति कर्मचारी, इन्जिनियर, प्रहरीसहित स्वयंसेवा दललाई खटायो। हरेक वडामा उद्धार, क्षतिको विवरण संकलनको काम तिब्र रुपमा अघि बढ्यो।
हरेक वडामा एकसाथ टोली खटिएका कारण भोलिपल्टै क्षतिको विवरण आइसकेको थियो। क्षतिको विवरणसँगै आवश्यक तत्काल राहतका सामग्रीको बारेमा पनि सरकारले विवरण प्राप्त गरिसकेको थियो। सोही स्वयंसेवा दलसहितको सरकारी संयन्त्रले तत्काल राहतको सामग्री वितरणको काम गर्यो। तुरुन्तै अस्थायी आवासको लागि जनता र स्वयंसेवा दल मिलेर काम अघि बढिहाल्यो। सरकार र राजनीतिक दलहरु केन्द्रमा बसेर दीर्घकालीन योजना बनाइराखेका थिए। एक सातामा नै सरकारले दीर्घकालीन योजना सार्वजनिक गर्यो। आवश्यक पर्ने सबै सामग्रीहरु खरिदका लागि सरकारले सूची तयार पार्यो। पुनःनिर्माण/नवनिर्माणको लागि अध्ययनको लागि प्राविधिज्ञको टोली तुरुन्तै प्रभावित स्थानहरुमा खटिइसकेको थियो। सरकारले भूकम्पप्रभावित क्षेत्रमा तत्काल निर्माणको काम अघि बढाउने र देशका बाँकी भागमा पनि भूकम्पप्रतिरोधी संरचनाहरुको निर्माणको काम पनि सँगसँगै अघि बढाउने गरी योजना बनाएको थियो। यसरी देश पूरै विपद् व्यवस्थापन र निर्माणमा बेगवान गतिमा अघि बढ्यो। ...
खै यो सपना कसरी धुलाउनु? विपनाको कुरा त अरुले पनि देखेकै छन् किन भन्नुपर्यो। सपना त मैले यस्तो देखेको थिएँ बाबै। बैशाख १२ को केही दिनपछि भएको भेटमा रविसँग पनि पनि भनेको थिएँ मैले मेरो सपना।
०००
भन्न त भन्यौ तिमीले- लेखिदेउ तिम्रा सपना। तर दाइ, खै दन्त्य कथाजस्तो त भएन त हौ। स्टाटस लेख्नुजस्तो कथा लेख्नु कहाँ हुने रहेछ र। मेरा सपनाका छनकहरु त यिनै हुन्। गफ गर्या जस्तो भो यो त। बस् यस्तै सपनाहरु धुलाउनु छ।
केही अघि फेसबुकमा लेखेको थिएँ – ‘ह्युमन बिइङ एण्ड बिइङ ह्युमन... टोटल्ली डिफरेन्ट।’ आजकाल मान्छे भइराख्न सकेका मानवजाति निकै थोरै देख्या छु मैले। मलाई मन छ मान्छे भइराख्न, यो समाज पढ्न, रहस्यको गर्भमा पुग्न, गहिराइमा पुगेर तत्वज्ञान भेट्न।
केही समययता पाइला सराइ धिमा भएको छ। यो होइन कि यसमा गति छैन, त्यसैले म पटक्कै निराश छैन। केही अघि लेखेको थिएँ – ‘जसलाई धेरै पर पुग्नुछैन उसलाई हतारो पनि हुँदैन, मलाई त बत्तिनु छ असाध्यै पऽऽऽर पुग्न, अनि पखेँटा हालेर बेग हान्नु छ...।‘
सपनाका नेगेटिभहरु धुलाउँदै जानु छ अब। अझै केही सपनाका नेगेटिभहरु थपिएलान् नै, केही धुलाउन आवश्यक नहुन पनि सक्छ कालान्तरमा। कसैले देख्या छ त सपनाका नेगेटिभहरु धुलाउने ठाम?
(ताप्ले ६, गोरखाका रमेश भट्टराई काठमाडौंको थियटर मलसँग आवद्ध छन्।)