PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

देउवाकै निर्देशनमा गणेश लामा छुटाउन आन्दोलन गर्दैछौँ : जिल्ला सभापति मधु आचार्य



देउवाकै निर्देशनमा गणेश लामा छुटाउन आन्दोलन गर्दैछौँ : जिल्ला सभापति मधु आचार्य

बुधबार राति पेस्तोल र गोलीसहित गणेश लामालाई काठमाडौँको गौशालाबाट पक्राउ गरेपछि नेपाली कांग्रेस काभ्रेले विरोध जनाएको छ। लामालाई राज्यले नै फसाउन खोजेको आरोप लगाउँदै कांग्रेसका काभ्रे जिल्ला सभापति मधु आचार्यले तत्काल रिहा गर्नुपर्ने माग गर्दै आन्दोलन गर्ने चेतावनी दिए। यसै सन्दर्भमा आचार्यसँग पहिलोपोस्टका संवाददाता नेत्र तामाङले गरेको कुराकानी

गणेश लामा रिहा गराउन तपाईँहरुले आन्दोलन गर्ने भन्नुभएको हो? 
हो, हामी आजैबाट आन्दोलन थाल्दैछौँ। आज साँझ बनेपामा मसाल जुलुस निस्कन्छ। काभ्रे कांग्रेसको नेतृत्वमा जुलुस हुन लागेको हो। थप आन्दोलन केकस्तो हुन्छ भन्नेबारे छिट्टै छलफल गरी निष्कर्ष निकाल्छौँ।

सदन नै ठप्प पार्ने कुरा सुनियो, कांग्रेस केन्द्रले त मुख खोलेको छैन, सम्भव छ त यो?
हामी केन्द्रीय सभापतिको निर्देशनमै कार्यक्रम गर्दैछौं। लामा पक्राउमा कांग्रेस केन्द्रको विरोध छ। सदन ठप्प पार्छु भनेर त हामीले भनेका छैनौँ। तर, राज्यले हाम्रो माग सुनेन भने हामी पार्टीमा यो कुरा राख्छौं।

राज्यले गुन्डा भनेर समातेको एकजना व्यक्तिलाई छुटाउन पार्टी लाग्यो भन्ने आरोप छ नि?
राज्यले कहाँ भनेको छ गुन्डा भनेर? केही प्रहरी प्रशासन र मिडियाले यो तक्मा भिराइदिएको हो। उनी गुन्डा हुन् भने लुकेर, भागेर हिंड्थे नि।
सामाजिक, राजनीतिक काम गरिरहेको सामान्य मान्छेलाई यसरी तक्मा लगाएर आतंकित बनाउन पाइन्छ? उनी गुन्डा हुन् भने राज्यले अहिलेसम्म किन समातेन? किन मुद्दा चलाएन? 

हतियारसहित पक्राउ पर्दा उनलाई नेता भनेर छाड्नुपर्ने?
बिल्कुल फँसाउन खोजिएको हो। उनी त त्यहाँ भाग्यले बचे। राज्यको सुनियोजित षड्यन्त्रमा परेका हुन्। जसलाई ताकेर गोली हानिएको छ, उसलाई पक्राउ गरेको छ। गोली हान्ने मान्छे किन पक्राउ परेनन्?

तर पनि लामा विवादित त हुन् नि?
अहिलेसम्म उनलाई लागेको मुद्दा भनेको सम्पत्ति शुद्धीकरणको मुद्दा हो। त्यो मुद्दा छिनिसक्यो। अहिले सामाजिक क्षेत्रमा राम्रो गर्दै आएको देखेर राज्यले गुन्डागर्दी गरिरहेको छ। व्यक्तिमाथि मानहानी गरिरहेको छ। यसले यो राज्यमा एउटा व्यक्तिको बाँच्न पाउने हक हनन् भएको छ। आतंकित बनाउन खोजिएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell