PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सिडिओलाई जुत्ता हान्छु भनेपछि पक्राउ परेका पत्रकार रिहा



काठमाडौं : नुवाकोटमा प्रमुख जिल्ला अधिकारीलाई जुत्ता हान्छु भनेपछि पक्राउ परेका पत्रकार कपिलदेव खनालले आफूले गल्ती महसूस गरेको र आइन्दा अभद्र व्यवहार नगर्ने बताएपछि छाडिएको छ।    
 
जिल्ला दैवीप्रकोप उद्दार समितिको बैठकमा पत्रकारलाई प्रवेशको विषयमा विवाद हुँदा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई जुत्ता हान्छु भनेपछि रेडियो त्रिशुलीका अध्यक्ष रहेका खनाल पक्राउ परेका थिए। खनाल नेपाल पत्रकार महासंघ नुवाकोट शाखाका कोषाध्यक्ष पनि हुन्।

यसअघि आफूलाई अपशब्द प्रयोग गरेकाले उनलाई पक्राउ गर्न लगाएको प्रमुख जिल्ला अधिकारी निरौलाले पहिलोपोष्टलाई बताएका थिए। 'दैवीप्रकोप उद्दार समितिको बैठकमा अरु दिन जस्तै आज पनि पत्रकारहरु आउनुभएको थियो, छलफलकै क्रममा उहाँले मलाई 'तँलाई जुत्ता हान्छु' भन्नुभयो त्यसपछि मैले पक्राउ गर्न लगाएँ' उनले टेलिफोनमा भने।

भूकम्प पीडितको राहत तथा पुनर्स्थापनाको विषयमा छलफल गर्न मंगलबार जिल्ला दैवीप्रकोप उद्दार समितिको बैठक आयोजना गरिएको थियो। बैठकमा केही दिन अगाडि सार्वजनिक भएको जस्तापाता बिक्री काण्डको विषयमा छलफल हुँदै थियो। छलफलका लागि जस्तापाता सहयोग गर्ने नेपाल इन्भेष्टमेन्ट बैंकका प्रतिनिधि पनि पुगेका थिए।

त्यसैले प्रमुख जिल्ला अधिकारी निरौलाले पत्रकारहरुलाई बैठकका गतिविधि रेकर्ड नगर्न आग्रह गरेका थिए। त्यसपछि पत्रकार खनालले 'त्यसो भए जुत्ता हान्छु' भन्ने अभिव्यक्ति दिएका बैठकमा सहभागी एक पत्रकारले बताए। प्रमुख जिल्ला अधिकारीलाई अपशब्द प्रयोग गरेपछि पक्राउ गरेको प्रहरी प्रमुख अरुण पौडेलले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell