PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​थोमस बेल भन्छन् – 'काठमाडौँमा जासुसहरुको जालो छ'



​थोमस बेल भन्छन् – 'काठमाडौँमा जासुसहरुको जालो छ'

सन् २००२ देखि २००७ सम्म नेपालमा बसेर यहाँको सशस्त्र द्वन्दका विषयमा द इकोनोमिष्ट र साउथ चाइना मर्निङ पोष्टका लागि रिपोर्टिङ गरेका थोमस बेलद्वारा लिखित पुस्तक ‘काठमाण्डु’मा विभिन्न देशका जासुसी गतिविधिहरुबारे विस्तृत उल्लेख छ। विभिन्न देशले आ-आफ्नै स्वार्थमा जासुसी गतिविधि सञ्चालन गर्ने गरेको तर त्यसमा भारतीय ‘र’ले भने राजनीतिक हस्तक्षेपसमेत गर्ने गरेको त्यसमा उल्लेख छ। नेपाली खुफिया एजेन्सी भने विदेशीहरुको हैन एकआपसको जासुसी गर्नमा नै व्यस्त रहेको बेल बताउँछन्। उनको पुस्तकका केही अंश-
 
काठमाडौँमा जासुसहरुको जालो छ। दक्षिण कोरियालीहरु र जापानीहरु उत्तर कोरियालीहरुको निगरानी गर्न त्यहाँ छन्…उत्तर कोरियाली दूतावास भने यति गरिब छ कि आर्थिक जोहो जुटाउन प्योङयाङ नामको रेस्टुरेन्ट खोल्नु परिरहेको छ। उत्तर कोरियालीहरु आफैले उत्पादन गरेको भायग्रा (यौन उत्तेजना बढाउने औषधि) बेचेर पनि पैसा कमाउँछन्।

चिनियाँहरु त्यहाँ तिब्बती शरणार्थी हेर्नका लागि छन्। स्वयंसेवक शिक्षक, ल्याङ्ग्वेज इन्स्टिच्युट, गैर सरकारी संस्था, रेस्टुरेन्टहरु र साना व्यापारीहरुको भेषमा चिनियाँ जासुसहरुको बृहत् जालो रहेको बताइन्छ। 

हिमालय पार गरेर भाग्नुअघि उनीहरुले शरणार्थीहरुभित्रै पनि एजेन्टहरु राखेका हुन्छन्। बौद्ध जस्ता ठाउँहरु जहाँ शरणार्थीहरु भेला हुन्छन्, त्यहाँ सूचना दिनेहरु र हेर्नेहरुको संख्या बढ्दो छ।


भारतीय जासुसी एजेन्सी 'र'ले थुप्रै अधिकारीहरुसहितको एउटा स्टेसन यहाँ चलाउने गर्छ। किनकि पाकिस्तानी जासुसी संस्था आइएसआइले भारतमा नक्कली नोट पठाउन नेपालको बाटो प्रयोग गर्छ। 

पाकिस्तानी कुटनीतिज्ञहरुसँग सम्बन्धितहरुका काठमाडौँस्थित घरहरुमा विस्फोटक पदार्थहरु भेटिएका छन्। जब सन् १९९९ मा काठमाडौँबाट उडेको इन्डियन एयरलाइन्सको जहाज अपहरणमा पर्‍यो, पाकिस्तानी कुटनीतिज्ञहरुतर्फ पनि ‍औँला उठेका थिए।


तर मुख्यतया रले नेपालका राजनीतिक पार्टीहरु र अन्य संस्थाहरुमा घुसपैठ गरी म्यानिपुलेट गर्ने गर्छ। ‘र' सामान्य जासुसी एजेन्सी जस्तो होइन’, एक पश्चिमी खुफिया अधिकारीले भने, ‘यसले जासुसी गर्दैन, यसले राजनीतिक हस्तक्षेप गर्छ।‘

कुटनीतिज्ञहरुले आफ्ना काम गर्ने रेस्टुरेन्टहरु र कफी पसलहरुमा घरेलु निगरानी हुन्छ। तर यो मुख्यतया को नेपालीले कोसँग कुरा गरिरहेको छ थाहा पाउनका लागि हुन्छ। नेपालीहरुले विदेशी सरकारहरुलाई धेरै गम्भीरताका साथ निगरानी गर्दैनन् तर उनीहरु एकअर्कालाई जोशका साथ जासुसी गर्छन्।

राष्ट्रिय अनुसन्धान विभागका आधा जति कर्मचारीहरु अझै सरकारमा रहेको पार्टीका मुख्य विपक्षीको जासुसीमा लागेका हुन्छन्। यो संगठन राजनीतिक नियुक्तिबाट भरिएको हुन्छ। सरकारले त्यसलाई परिवर्तन गरिरहन्छ।

मैले विभागका एक अधिकारीसित पर्यटकीय ठाउँ ठमेलको एउटा इटालियन रेस्टुरेन्टमा भेट्ने समय मिलाएको थिएँ। ती अधिकारी मोटा थिए। सुनका औँठी र रंगीन पत्थर थिए औँलाहरुमा। हामीले केही पनि खाएनौँ तर केही समयपछि थुप्रै जिन र टनिकहरु पियौँ। उसले आफू मातहतको एक कर्मचारी पनि ल्याएको थियो। उसले एक बोतल बियर पियो।

एउटा नेताको घरको बाहिर क्यारम खेलिरहेका मानिसहरु शायद् उसका सहकर्मी हुनसक्छन् भनेर जब मैले ठट्टा गरेँ, विभागका अधिकारीले म सिरियस भएको ठाने। अनि आफू मातहतका कर्मचारीलाई त्यसो हो र भनेर सोधे। 

अनि उसले एउटा कथा हाल्यो, जासुसी ड्युटीमा रहेका एक व्यक्तिबारे जो टिचिङ अस्पताल अगाडि जुत्ता सफा गराउँदै थिए। निगरानी गरिरहेका व्यक्ति त्यहाँबाट हटे अनि उसले एउटा जुत्ता नलगाइकनै मोटरसाइकल चलाएर पिछा गर्नुपर्‍यो।


त्यो जुत्ता चम्काउने मानिस पनि शायद् जासुसै होला, मैले भनेँ। ‘हो', उसले भन्यो, 'भारतीयहरुका लागि स्थायी पोस्ट! अहिले थुप्रै मानिसहरु एउटै टार्गेटको निगरानी गरिरहेका हुन्छन्। जब ऊ सुत्न जान्छ, त्यतिबेला अन्तिममा उसको वरपर हुन्छ हाम्रा मान्छे, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र भारतीय र।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell