- भावना शर्मा-
किन फाट्यो आकाश
जब भेटियौ हामी छितिजमा....

तिम्रा आँखाहरुमा छल्किदा मेरो आँशु
किन रोयो बादल त्यो
किन फुट्यो धर्तीको बाँध
र त काप्यो त्यसको मुटु
के हाम्रो धड्कनमा येति कम्पन थियो ?
कि प्रकृति विरुद्ध थियो हाम्रो प्रेम ?
लाग्छ-
सायद ब्यग्र थियो उ पनि
अंगाल्न हिमचुली
र त बदलियो भूगोल
कतै थोरै अग्लियो कहिँ केहि पग्लियो ....
हामी जस्तै....
थर्थरायेका ओठ
कापेको शरीर
जब मैले चिम्लिदिए आँखाहरु
एउटा कम्पन उसैगरी गयो
जसरी भत्कियो सारा प्रकृति
उसैगरी भत्कियो वर्षौको व्यग्रता
उसैगरी मेटियो साँध सिमाना....
(भावना शर्माका दुई पुस्तक प्रकाशित छन्। ‘जुनको आतंक’ कवितासंग्रह हो भने ‘गणतन्त्रका प्रणेता’ दिवंगत नेता रामराजाप्रसाद सिंहको आत्मवृतान्त हो।)