PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

कथा किन पढ्ने?



कथा किन पढ्ने?
फोटो साहित्यकार तिवारीको फेसबुकबाट।

  • नारायण तिवारी- 
भनिन्छ- साहित्यको कुनै सीमा हुँदैन। कुनै बेला थियो साहित्य भन्नासाथ पुस्तक बुझिन्थ्यो। अहिले इन्टरनेटमा साहित्य सिर्जना भैरहेको छ चाहे त्यो वेबसाइटहरुमा होस् वा सामाजिक सञ्जालमा। फेसबुकमा त्यस्तै एउटा समूह छ जहाँ कथाका कुरा हुन्छन्। त्यहाँ कथा लेख्नेहरु पुग्छन्, पढ्नेहरु पुग्छन्। कथामा कृयाप्रतिक्रिया हुन्छ। लेखकका बारेमा चर्चा हुन्छ। फेसबुक ग्रुप कथा सुरु भएको २०७२ जेठ ३१ गते एक वर्ष पुग्दैछ। एकजना साहित्यअनुरागीको पहलबाट सुरु भएको यो ग्रुपमा सयौँ कथा, कथाकार परिचय, कथावार्ता र पुस्तक समीक्षा पोस्ट भएका छन्। फेसबुक ग्रुप कथा सुरु गरेका हुन् साहित्यकार नारायण तिवारीले। नारायण तिवारी मुलतः कथाकार हुन् तर तर उनका कविता पनि प्रकाशित छन्। तीन कथा संग्रह, दुई लघुकथा संग्रह, एक उपन्यास सहित उनका ९ पुस्तक प्रकाशित छन्। पहिलोपोस्टले तिवारीलाई फेसबुकमै सोधेको थियो- फेसबुकमा कथामै केन्द्रित ग्रुप कसरी सुरु भयो?

फेसबुकमा कथा ग्रुप सुरु गर्दाको पृष्ठभूमि भनिदिनुस् न।

पहिले लघुकथा सुरु गरेको थिएँ, लघुकथा कुनो नामाकरण गरेर। त्यो धेरै सफल भयो। अनि सोचेँ, अब कथातर्फ पनि लाग्नु पर्छ। फेरि मेरो मुख्य विधा कथा हो। बस्, सुरु भइहाल्यो यो कथा।

पत्रपत्रिका वा अन्य माध्यमभन्दा फेसबुक साहित्य छाप्ने सवालमा के भिन्न रहेछ?

हुन त पत्रपत्रिका नै हो दीर्घजीवि! तर पनि अहिलेको इन्टरनेटको युगमा फेसबुकले ल्याएको तहल्कामा हामी लेखकहरू जोडिने प्रयास हो यसमा सहभागीता। र, यसको भिन्नता के हुँदो रहेछ भने सारा सृजनाहरू क्षणभरमै सारा संसारभरि फिँजिँदो रहेछ। आफ्ना सिर्जनाका कुरा आफैँ सुनाउनुस् सारा संसारका नेपाली साहित्यमा रुचि राख्ने मानिसहरूलाई। र, यस्तो चमत्कारिक काम पत्रपत्रिकाले गर्न सक्दैन।

ग्रुपमा सदस्य कति छन? लेख्ने पढ्नेको सहभागिता कस्तो छ?

सदस्य ठिक यतिबेला १६६२ रहेछन्। र, पेन्डिङमा छन् थुप्रै, जसलाई सकल परिचयको अभावमा स्विकार गरिएको छैन। यसमा पूराना भन्दा नयाँ लेख्न चाहनेले सहभागीता धेरै जनाएका छन्। त्यसो त मोराश, परशु प्रधान, चुडामणि रेग्मी, कृष्ण पोखरेलजस्ता व्यक्तित्वहरू पनि सकृयता देखाइरहनु भएको छ। कथाहरू पोस्ट भएकोमा सो को विवरण नै दिने गरिएको छ। कथाहरू शीर्षकमा फाइल बनाएर विवरण राखिएको छ।

लेख्ने पढ्ने ठाउँ त यो हो नै। त्यसबाहेक यसको अरु उपादेयता के छ?

यो मुलधारका सञ्चारमाध्यमलाई पनि सामग्री खोज्ने ठाउँ बनेको छ। शारदाले कथावार्ता साभार गरेर छाप्यो। त्यसै गरेर शुक्रवार पत्रिकाले पनि कथाबाट साभार भनेर कथावार्ता छाप्यो। राम्रै कुरा हो। तर छाप्नु अघि स्वीकृति चाहिँ लिनुपर्छ है भन्दैछु। यो त सारा कथा साहित्यमा रुचि राख्नेहरूका लागि सामाग्री पढ्ने, उपयोग गर्ने ठाउँ हुनसक्छ नि। तर यसको दुरुपयोग नभइदेओस् भन्ने चाहिँ चिन्ता लाग्छ। किनभने चोर्नलाई फेसबुक सजिलो हुने रहेछ। कपी गर्‍यो, पेस्ट गर्‍यो, सजिलो।

यसबाहेक कथा ग्रुपका अरु अभियान पनि छन् कि?

छन् नि। कथावार्ता, पुस्तक समीक्षा, कथाकार वार्ता लगायतका काम छन्। धान्न पो कति सकिने हो थाहा छैन। किनभने यसमा लगाउने समय भने कुनै पनि लाभ रहित हुन्छ। कठिन हुने भएर त यसलाई कहिलेसम्म धान्न सकिन्छ थाहा छैन।

तपाईँ एक्लैले यो सबै म्यानेज गर्दै आउनुभएको रहेछ। अरु समस्या के छन्?

शारिरिक खति पनि हुन्छ। जस्तो कम्प्युटर धेरै चलाएर मै घाँटीको हड्डी खिइने रोगको सिकार भएको थिएँ। तर, हेर्नुस् न दुई महिनाको रेस्ट पछि फेरि सुरु भयो। कमेन्ट हेर्नुपर्‍यो। नियम मिचिएको छ कि छैन हेर्नुपर्‍यो। धेरै इतर पोस्ट गरेर दुख दिन्छन्, त्यसलाई डिलिट गर्नु पर्छ।

अन्त्यमा, कथा किन पढ्ने?

यो त साहित्यको के काम? साहित्यले के गर्छ? भनेजस्तो भयो। त्यसो होइन। कथा साहित्यको एउटा शक्तिशाली विधा हो, साहित्यले मानिसलाई सभ्य बनाउँछ, चेतनशिल बनाउन मद्दत गर्छ। कथाले यश अर्थमा समाजपरिवर्तनतर्फ मानिसलाई प्रेरित गर्दछ। तसर्थ समाजलाई अगाडि बढाउन वा आफू चेतनशिल हुन, सभ्य हुन कथा पढ्ने हो। यसो हुँदा आनन्द पनि प्राप्त हुन्छ। कथामा यसरी हाम्रै जीवनका तितामिठाहरू भेटिने हुँदा, जिन्दगानी बुझ्न कथा पढ्ने हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell