PahiloPost

Nov 8, 2024 | २३ कात्तिक २०८१

​घर



  • स्वेच्छा राउत-
सबैले फतौरी आमा भनेर चिन्ने सुशीला आमा फेरि आइन् फोटोसपले टिलिक्क पारेको अर्को एउटा फोटो बोकेर। मैले अनुहार खुम्चाएको देख्नासाथ मुस्कुराउँदै आएकी फतौरी आमा एक्कासी रुपको रङ फेर्दै कराइन्, “यो पटक त तँ हेरेको हेरै हुन्छेस्।” म ओठ लेप्राउदै आफ्नो कोठामा छिरेँ। मम्मी फुरुक्क हुँदै भान्साबाट कराउनु भयो, “राम्रो घर परिवारको त हो नि?”

अरु केही काम त छैन, त्यही लमी काम गरेरै धोतीदेखि जुत्ता सम्म फेरि फेरि लाउछिन् फतौरी आमै। आफूले कुरा ल्याएको केटाकेटीको बारे बखान गरेको सुन्दा लाग्छ उन्ले लमी शास्त्रमा डिग्री हासिल गरेकी छिन्। फोटोमा हेर्दा अलि नराम्रो लाग्ने मान्छेको पनि, फोटो मात्र यस्तो मान्छे त उल्कै राम्रो छ भन्थिन्।

मम्मीको प्रश्नको पनि जवाफ दिदै भनिन्, “राम्रो परिवार हुन्। घर पनि तलदेखि माथिसम्मै मार्बल बिच्छाएको। खुट्टा राख्दै दाग लाग्ला जस्तो छ। गाडी र मोटर साइकल त फेरि फेरि चढ्छन्।”

मेरो बिबाहको कुरा सुरु हुन थाल्दै मैले मम्मीलाई आफूले मन पराएको केटाको बारे भनेको थिएँ। मम्मीले भेटेर कुरा पनि गर्नु भयो। केटो हेर्दा राम्रो र असल पनि, पढाइ सक्काएर आफ्नै मिहिनेतले कमाउदै गरेको। तर एउटै कुराको खोट लगाउनु भयो मम्मीले, केटाको काठमाडौमा घर थिएन। मैले भन्न त भनेको थिए, पुर्ख्यौली सम्पत्ति बेचेर घर बनाउने, गाडी चड्ने भन्दा आफ्नै मिहिनेतले छाक टार्ने सँग खुसी हुन्छु म। तर जवाफमा भन्नु भयो- आदर्शले खान दिँदैन। एकदिन त तँलाई केटाको घरमै जानू पर्छ, टाढा पठाएर के गर्नु? मैले प्रतिवाद गर्न सकिनँ। थाहा थियो मम्मी मलाई खुसी होइन सुरक्षित अनि सुखी हातमा सुम्पन चाहनु हुन्छ। आज्ञाकारी छोरी बन्ने होडमा म असल बन्न अनि आफ्नो आदर्शमा टिक्न चुकेँ।

त्यसपछी फतौरी आमाले लगातार धेरै  केटाहरुको फोटो लिएर आइन्। सबैलाई कुल घराना हुन् भन्थिन्। तर थुप्रै केटाहरुको फोटो हेर्दा पनि शान्त मुद्रामा रहेको मेरो मन पेट यो पटकको फोटो हेर्दा बोल्यो, “पहिले फेसबुकमा कुरा गर्छु नि त।” मम्मीको मुहारमा खुसिको बाढी आउन थाल्यो। लाग्दैथ्यो मलाई बिबाहको कुरा अगि बढाउन राजी गरेर उहाँले कुनै युद्द जित्नु भयो।

शौरभ थापा – मान्छे राम्रो थियो। उस्को कुरा अनुसार लाग्थ्यो परिवार पनि राम्रै छ। काम गर्दै रहेछ। कुरा गर्दै जादा हाम्रो विचार मिल्यो, भावना मिल्यो। हामी नजिकियौँ। मम्मी खुसी हुनुन्थ्यो। फतौरी आमाको मनमा झन् कति लड्डु फुटे होलान्। मुखले “जोडी मिलाउनेले धर्म कमाउछ” भन्थिन् तर उन्को व्यवहारमा लमि भागको लोभ प्रष्ट छछल्किन्थ्यो।

दुबैले शनिवार अफिस बिदाको दिन पारेर भेट्ने निधो गरेका थियौं। नयाँ उमंग, नयाँ जोस, अलिअलि लाज अनि खुल्दुली थियो मन मस्तिष्कमा। त्यो शनिवार उठेदेखि घडी र मोबाइल पटक पटक हेरेको हेर्‍यै थिएँ। मम्मी पनि मलाई राम्री बनाउनमा लाग्नु भएको थियो। सायद उहाँलाई जसरी हुन्छ केटाले मलाई मन पराओस् भन्ने थियो।

समयमै म भेट्ने भनिएको ठाउँमा पुगेँ। ऊ मलाई कुर्दै रहेछ। सम्भवतः च्याटले नजिक बनाएको हाम्रो सम्बन्धलाई पहिलो भेटमा त्यति औपचारिकता निभाउन परेन। हामी चोभार गयौँ। दुवैको मुहारमा अलि कति लाज अनि धेरै खुसी छर्लङ्ग देखिन्थ्यो। प्रायः च्याटमै हुने खालको कुरा हुँदै थिए। कहिले दुबै मौन हुन्थ्यौँ त कहिले एक अर्कालाई हेरेर मुस्कुराउथ्यौँ।

यसै बिच अचानक जमिन जोडले हल्लिन थाल्यो। म आत्तिएर रुन थालेँ। ऊ भूकम्प आएको हो नडराउ केही हुँदैन भन्दै बुझाउदै थियो। सायद उस्लाई पनि डर लागेको थियो होला तर मनको डर अनुहारमा नदेखाएरै ऊ मलाई सम्झाउन थाल्यो। घरी घरी परकम्पको धक्का महसुस भइरहेको थियो। हामी त सुरक्षित चौरमा थियौँ तर दुवैको घरमा फोन लागि रहेको थिएन। उ अत्तालिदै फोन ट्राइ गर्दै मलाई आश्वासन दिदै थियो। फोन लाग्दै लागेन।

उसले त्यस्तो अवस्थामा पनि मुस्कुराउदै भन्यो, “हेर त यस्तो अप्ठ्यारो परिस्थितिमा पनि हामी सँगै छौँ, एक अर्काको साथ। अब हामी सधै साथ हुन्छौँ, जस्तो सुकै सहज अनि कठिन अवस्थामा पनि।”

उसको कुरा निकै मीठो लाग्यो। उसको लागि मनभरी प्रेम उर्लियो। मनमा बेग्लै तरङ्ग फैलियो पहिलो भेटमै ऊ मेरो आँसु पुस्दै थियो। लाग्यो म शौरभसँग सुखी, सुरक्षित अनि खुसी पनि रहन्छु। मनमनै फतौरी आमा अनि मम्मीलाई सम्झिएँ।

बेलुकी घर पुग्दा, घर र परिवार सुरक्षित रहेछन्। ढुक्क भयो। परकम्पले छोडेको थिएन। पालमा रात कटाउने तयारी भयो। बत्ती आएन, मोबाइलमा चार्ज नभएकोले त्यस दिन शौरभसँग कुरा भएन। खबरहरु सुन्दा निकै डर लागि रहेथ्यो। शौरभको परिवारको कुशलताको कामना बाहेक केही गर्न सकिनँ।

भोलिपल्ट आइतबार दिउँसो करिब एक बजे तिर मात्र शौरभको फोन आयो। ऊ निकै आत्तिएको थियो, परिवार ठिक हुनुन्छ भनी सकेर निकै शून्य भयो र भन्यो, “हाम्रो घर त रहेन।”

मान्छे सबै सकुशल थिए त्यसैले धैर्य गर्न, नआत्तिइ परिवारको ख्याल राख्न भनेँ। हामी कुरा गर्दागर्दै अर्को ठूलो परकम्प आयो। नेटवर्क गयो। मम्मीलाई शौरभको घर भत्किएको कुरा सुनाए। उहाँ बिल्कुल प्रतिक्रिया बिहिन हुनुभयो।

सबै डर, त्रास, दुख, अभावको बिचमा पाल मुनि थोरै आश अनि विश्वास बोकेर बसेका थियौँ। घरी घरी आउने धक्काहरुले सबैलाई झस्काइ रहेथ्यो। एक हप्ता पछि जीवन अलिअलि सामान्य बन्दै गर्दा शौरभलाई भेट्न जाने निधो गरेँ। तर मलाई मम्मीले भेट्न जान पर्दैन, नजा भनेर रोक्नु भयो। उसको परिवार त्यति ठूलो समस्यामा छ किन नजानु? मम्मीबाट केही जवाफ पाइनँ।

म एक्लै निरीह भएर सोच्न बाध्य भए, आखिर मम्मीले मलाई शौरभ र उसको परिवार भेट्न जान नदिनुको कारण के थियो? म बाहिर हिँड्दा अर्को ठूलो भूकम्प आएर समस्यामा पर्छु भनेर या शौरभको काठमाडौमा भएको घर भूकम्पले भत्काएर?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell