PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

कस्मिक एयरको थोत्रो जहाज बन्यो नेपालको पहिलो एयरक्राफ्ट म्युजियम



कस्मिक एयरको थोत्रो जहाज बन्यो नेपालको पहिलो एयरक्राफ्ट म्युजियम

कञ्चन अधिकारी/पहिलोपोस्ट-
काठमाडौँ : क्याप्टेन आरपी प्रधानले सन् १९९७ मा सुरु गरेको निजी वायुसेवा कम्पनी कस्मिक एयर ११ वर्षपछि बन्द भयो। कस्मिकले उडाउने गरेको १०५ सिटे फोक्कर १०० जहाजको डच निर्माता कम्पनी फोक्कर पनि टाट पल्टिसक्यो।
 
एक दशकअगाडि ग्राउन्डेड भएको त्यही फोक्कर १०० जहाजलाई नयाँ जीवन दिन लागि परेका छन् अर्का क्याप्टेन वेद उप्रेति।
 
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उप्रेतिले झण्डै ७० लाख रुपियाँ तिरेर यो जहाज किने।
 
त्यसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढी पुर्‍याउन थप पाँच लाख रुपैयाँ लाग्यो। जहाजलाई तीन भागमा खोलेर तीनवटा गाडीमा राखेर पाँच दिनमा पुर्‍याइएको थियो।
 
छ महिनाको मेहनतपछि यो जहाज लगभग तयार भइसक्यो। तर यस पटक यो जहाज आकाशमा भने उड्ने छैन, जमिनमा रहेरै यात्रुहरुको सेवा गर्नेछ।
 
यात्रुहरुलाई आकर्षित गर्न यो जहाजभित्रै म्युजियम बनाइएको छ। त्यसभित्र राइट ब्रदर्सका पालादेखि हालसम्मका दुई सय वटा मिनियचर एयरक्राफ्ट्स राखिएका छन्। ती मध्ये केही जहाज रिमोट कन्ट्रोलबाट हजार मिटर माथिसम्म उडाउन मिल्छ।
 
त्यतिमात्र हैन, एरियल फोटोग्राफरसमेत रहेका उप्रेतिले खिचेका देश–विदेशका उत्कृष्ट तस्बिरहरु समेत यसभित्र हेर्न सकिने छ। विश्वका ३० चर्चित पर्यटकीय गन्तव्य र सुदूरपश्चिमका २४ ठाउँको तस्बिर सो संग्रहालयमा राखिएको उप्रेति बताउँछन्।
 
कैलालीको सदरमुकाम धनगढीको हसनपुरमा यो एयरक्राफ्ट म्युजिम रहनेछ।
 
शनिबार राजधानीमा एयरक्राफ्ट म्युजियमबारे जानकारी दिन आयोजित कार्यक्रममा उप्रतीले भने, 'विदेशमा जहाजसँग सम्बन्धित धेरै संग्रहालयहरु बनेका छन् । तर यस्तोखाले नौलो कन्सेप्टमा बनेका छैनन् । त्यही भएर थन्केर बसेको जहाजलाई उपयोग गर्न संग्रहालय बनाएँ।'
 
संग्रहालयभित्र घुम्नेले जेट ककपिट अवलोकन गर्न पाउँछन्। पाइलट र टावरको रेकर्डेड संवाद सुन्न सक्छन्। जहाजभित्रै ६० इन्चको टिभीमा 'एयरक्राफ्ट म्युजियम' सम्बन्धी वृतचित्रसमेत देखाइने उप्रेतिले बताए।
 
संग्रहालय बनाउन एक करोड २५ लाख खर्च भइसकेको उप्रेति बताउँछन्।
 
असोज १ गते उद्‌घाटन हुने संग्रहालय छिर्न १०० रुपैयाँ शुल्क तोकिएको छ भने विद्यार्थीले ५० रुपैयाँ तिरेर अवलोकन गर्न सक्नेछन्।
 
संग्रहालयको आम्दानीको केही हिस्सा वेद उप्रेती ट्रस्टमार्फत सुदूरपश्चिमका क्यान्सर बिरामीको उपचार र जेहेन्दारको छात्रवृत्तिमा खर्च गर्ने घोषणा उनले गरेका छन्।  
 
उप्रेती इन्डोनेसियाको लायन एयरमा वरिष्ठ प्रशिक्षक पाइलटका रूपमा उडान भर्दै आएका छन्।
 
दुई दशकदेखि फोटोग्राफीमा समेत संलग्न उनले नेपाल चिनाउने आधा दर्जनभन्दा बढी फोटो पुस्तक प्रकाशित गरिसकेका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell