
- अश्विनी कोइराला-
मान्छेलाई होच्याउने उनको यो वाक्यले मलाई यति छोयो कि मैले कथा नै लेख्ने निर्णय गरें। उनी अर्थात रिया। धेरै पटक कर गर्दा पनि उनले वास्तविक नाम भनिनन्। नाम फेरिरहिन्। पछि पछि मलाई उनको वास्तविक नाम प्रति वास्ता पनि लाग्न छाड्यो। रियाको कथा म उनकै त्यही प्रशिद्ध भनाइबाट सुरु गर्दै थिएँ। अर्थात युवाहरुलाई पनि भन्ने गरेको कथन, ‘कस्तो बुढो गधा जस्तो गन्हाएको...।
ठीक त्यही बेला रमेश मेरो घर आइपुग्यो। रमेश अर्थात् टोलको युवा नेता। मलाई राजनीतिक प्राणी उति मन पर्दैनन्। थाहा छ, राजनीति मन नपराए पनि हामी राजनीतिसँग यसरी जेलिएका छौं कि मुक्त हुने ठाउँ छैन। तैपनि मन पर्दैन त म के गरौं ? त्यसमाथि उमेर नै नपुगी टोले नेता यसरी कुरा गर्छ, मानौं ऊ सर्वज्ञ छ। उसलाई थाहा नभएको कुरै केही छैन जस्तो गर्छ। हामीबीच अघोषित प्रतिस्पर्धा पनि छ। ऊ ठान्छ– ऊ जान्नेसुन्ने छ म भन्दा पनि। ऊ ठूला नेताको बेडरुमसम्म पुग्ने हैसियत राख्छ। विद्यार्थी नेता भएका कारण गुण्डाहरुको आडमा सबैलाई थर्काउन सक्छ। सबैजसो सूचनामा उसको पहुँच छ।
म ठान्थें, यी टोले नेतालाई राजनीतिको मात्र ज्ञान छ, म त सबैसँग चाहेको बेला भेट गर्न सक्छु। चाहेको सूचना लिन सक्छु। सडकदेखि सिंहदरवारको सूचना चाहेको बेला प्राप्त गर्न सक्छु।
‘नमस्ते, लेखक महोदय,’ उसलाई देखेर पनि मैले उति वास्ता नगरेको बुझेपछि आफ्नै खालको व्यङ्ग्यात्मक शैलीमा रमेश बोल्यो, ‘केही गम्भीर कुरा लेख्दै हुनुहुन्छ जस्तो छ। डिस्टर्ब त गरिन ?’
मैले डिस्टर्ब भयो भन्दिन भन्ने उसलाई थाहा छ। ऊ सोफामा बस्दै फेरि बोल्यो, ‘म धेरै समय लिन्न। एउटा सहयोग चाहिएको थियो।’
यसरी डिस्टर्ब भएपछि रियाको कथा कसरी लेख्न सकिन्छ र? ल्यापटप बन्द गरें। त्यसपछि ध्यान दिएर उसलाई हेरें। ऊ भर्खरै लगाउन शुरु गरेको भादगाउँले टोपी मिलाउँदै थियो। कलिलो अनुहारमा त्यो टोपी उसलाई राम्रै सुहाएको थियो।

‘आश्चर्य मान्नु पर्दैन, कसैको भलाइ गर्न खोजेको हुँ। राजनीतिमा लागेपछि जस्तो पनि काम गर्नुपर्छ।’
मेरो आँखामा झट्ट रियाको अनुहार नाच्यो। उसको खोपिल्टो पर्ने गालाको सम्झना आयो। रमेशको कुरा कुरा सुनेर मेरो अनुहारमा मुस्कान नाच्यो।
‘मलाई धेरै रेट नलिने सामान्य युवती भए पुग्छ,’ उसले भन्यो, ‘केटीले विशेष सेवा दिनु पर्दैन। केवल एउटा काम गरे पुग्छ।’
उसको कुरामा विशेष चासो लाग्यो। सायद यौनकर्मीकै कथा लेख्न लागेका कारण पनि मलाई चासो लागेको हुनुपर्छ। मैले कारण खोतल्न थालें। कारण बताउन आनीकानी गर्यो।
म यौनकर्मीका विषयमा लेख्दैछु भन्ने उसलाई जानकारी थियो–थिएन यसै भन्न सक्तिन। उसले अधिकारसहित यौनकर्मीको नम्बर मागेपछि नम्बर छैन भन्न सकिन। तै पनि बिना कारण म उसको सेवा गर्न तत्पर थिइन। यत्रो वर्षको मेहेनतले आर्जेको रिया र रियाजस्ता दर्जन यौनकर्मीहरुको नम्बर उसलाई बिना सोधपुछ दिनुपर्ने आवश्यकता पनि थिएन। म आफ्नो कामको पूरापूर मूल्य चाहन्थें, सम्मानको मूल्य।
म यो टिटौले नेताभन्दा दुई–चार वर्ष जेठै हुँ। तै पनि कहिल्यै उसले दाइ जस्तो व्यवहार गर्दैन। उसले बोल्दा पनि लेखक महोदय भन्ने गर्छ। यसमा सम्मान भन्दा पनि व्यङ्ग्यात्मक भाव झल्कने गर्छ। मैले धेरै पटक दाइ भन्दा पनि हुन्छ भनेर सम्झाइसकें। तै पनि उसको हेपाहा शैली परिवर्तन भएन। आज उ मसँग सहयोग माग्न आएको थियो र उसलाई झुकाउने यो राम्रो मौका थियो।
‘हेर्नुस् भाइ,’ मैले भाइ शब्दमा अलि जोड दिँदै भनें, ‘यौनकर्मीको नम्बर दिनेबित्तिकै उनीहरुसँग काम लिन सकिन्छ भन्ने हुँदैन। उनीहरुलाई सबै कुरा बताउनु पर्छ। तपाईंको कुरा मलाई उचित लागे म उनीहरुसँग भेट्छु, त्यसमध्ये एउटीलाई कन्भिन्स गरौंला।’
मैले अधिकारपूर्वक अलि कडा स्वरमै यी कुरा भनें।
उसको अनुहारको भाव केही परिवर्तन भयो। मोबाइल निकालेर एकछिन नम्बर थिचे जस्तो गर्यो। तनाउमा आउँदा यो केटो यसै गर्छ भन्ने मलाई थाहा छ।
‘तपाईंलाई एकछिन फूर्सद छ? हिँड्नुहोस्, म घटना स्थलमै पुर्याइदिन्छु। त्यसपछि त्यहीं निर्णय गरौंला।’ निकैबेरपछि ऊ बोल्यो। उसको यो कुरा पनि मेरो जस्तै निर्णयक थियो।
उसको पछि नलागौं, आफ्नो धाक खेर जाने सम्भावना थियो। उसलाई चाहिएको यौनकर्मीको नम्बर उसका धेरै साथीहरुसँग हुन सक्छ। आजको जमानामा यस्ता युवतीको खाँचो नै कहाँ छ र? त्यसमाथि कुनै घटनातर्फ उसले संकेत गर्दै थियो। विशेष घटना मेरा लागि चासो नहुने कारण थिएन।
‘हिड्नुस् दाइ, म धेरै समय लिन्न।’ उसले यसपटक लेखक महोदय भनेन, दाइ भन्यो।
म उठें। केही क्षणमै तयार भएँ। त्यो बेलासम्म उसले मोटरसाइकल स्टार्ट गरेर मलाई कुरिरहेको थियो। मोटरसाइकल पछाडि बसें। केही मिनेटभित्र बजार पुगियो। एकछिनपछि बजार छिचोलेर अर्को रोड निस्कियो। त्यसपछि एउटा चोकमा पुगेर मोटरसाइकल रोकियो।
‘पारीपट्टी एउटा केटो बसिरहेको छ, देख्नुभयो?’ मोटरसाइकल रोकेर उसले चोक पारिपट्टिको घरको पेटीमा देखायो। देखें, प्लेकार्ड आगाडि राखेको, म्याट ओछ्याएको एउटा केटो पलेटी मारेर बसिरहेको थियो।
‘त्यो केटो मेरो साथीकी बहिनी लाई प्रेम गर्छु भन्छ। बिहे गर्न पाइन भने यहीँ भोक हड्ताल गरेरै मर्छु भन्छ। त्यसले दुई दिनदेखि केही खाएको छैन। यो केटोले मलाई धेरै समस्या पारिसक्यो।’
उसले एकछिनसम्म केटोलाई तम्तम्याइलो भएर हेरिरह्यो।
‘त्यो मेरो सबैभन्दा नजिकको साथीको घर हो। घर अगाडि नै यसरी धर्ना दिएपछि घरका सबैजना टेन्सनमा छन्।’
उसको अनुहार तनावग्रस्त देखियो। दुई–चार केटाहरुलाई पछि लगाएर हिड्ने मान्छे, एउटा फुच्चेसँग यसरी लाचार भएको देखेर मलाई हाँसो पनि उठ्यो।
‘प्रहरीमा लगेर थुनिदिए भैगो नि। नत्र केटाहरु लगाएर ठटाउनू,’ मैले उसलाई उकास्दै भनें, ‘भाइ, तपाईंलाई यस्ता सानातिना कुरामा चिन्ता गरेको सुहाएन।’
सबै गरिसकें। दुई दिन प्रहरीमा थुनाएँ। अहपरण गरेर होटलमा थुनेर कुटेँ। केही गरे पनि बहिनीको पिछा छोडेन। पहिले त पर परैबाट दुःख दिन्थ्यो। प्रहरीमा थुनेपछि र केटा लगाएर कुटेपछि घरमै आएर धर्ना दिन थाल्यो। हाम्रो पो बेइज्जत भयो।’
मलाई त्यो प्रेमीको साहस सुनेर रमाइलो लाग्यो। रोड पारि गएर नजिकैबाट केटाको अनुहार हेर्न मन लाग्यो।
‘मलाई यौनकर्मी चाहियो।’ म रोड क्रस गर्न लाग्दा उसले प्रेमपूर्वक याचना गर्यो। ‘यति मलाई सहयोग गर्नुपर्यो दाइ। राजनीतिमा मलाई यो घरले धेरै सहयोग गरेको छ। मेरो दोस्रो घर हो। यो समस्याबाट निकाल्नु मेरो धर्म पनि हो। दाइ, प्लीज त्यति गरिदिनु पर्यो।’
फर्किएर हेरें। प्रेमपूर्वक प्रयोग भएको यो ‘दाइ’ शब्द सुन्न म कति लालयित थिएँ, भनिसाध्य थिएन। उसले मैले चाहेजसरी नै सम्मानपूर्वक यो शब्द प्रयोग गरेको थियो।
‘मलाई एउटी यौनकर्मी मिलाइदिनु पर्यो। अब कुनै अस्त्र बाँकी छैन,’ उसले फेरि दोहोर्यायो।
कहाँ प्रेम, कहाँ यौनकर्मी। एक अर्काबीच कुनै तारतम्य नमिल्ने यो कुरा अचम्मको थियो।
मैले आश्वासनको मुन्टो हल्लाएँ।
०००००
‘...हाम्रो स्कुलदेखि प्रेम थियो। हामी एकअर्काबिना बाँच्नै सक्तैनथ्यौं। धेरैपटक लामो टुर पनि गर्यो। एक–अर्कालाई धोका नदिने कसम खाएका थियौं। क्याम्पस सक्ने वित्तिकै दुवै मिलेर जागीर खाने र परिवारलाई मनाएरै विवाह गर्ने योजना बनाएका थियौं। तर अचानक....।’
म अनसन बसिरहेको केटाको अघि थिएँ। दुई दिनदेखि केही नखाइकन सत्याग्रह गरेकाले होला, उसको अनुहार फुस्रो भैसकेको थियो। राम्ररी बोल्न सकिरहको थिएन। अनुहारभरि चोट थिए। हात भाँचिएकाले हुनसक्छ, फोल्ड गरेर काम्रोले बाँधेको थियो। भन्नु परेन, हाम्रो युवा नेताको परिश्रमको फल उसको अनुहार र हातमा देखिएको थियो।
‘... अचानक ममताले ब्रेकअप गरिन्। म कारण थाहा पाउन चाहन्थेँ। यो मेरो अधिकार होइन र? जति गर्दा पनि उनले कारण बताउन चाहिनन्। हो, त्यसपछि मैले फलो गरेको हो। उसले मोबाइल पनि उठाउन छाडेपछि घरमा फोन गरेको हो। गेटमा उसलाई पर्खिएको हो। के यो अपराध हो? मैले प्रहरी कस्टडीमा बस्नुपर्यो। गुण्डाहरुको कुटाइ खानु पर्यो। प्रेम गर्नु अपराध हो?’
उसले आफ्नो लामो प्रेम कथा छोटोमै सक्यो। हेर्दा लुरे भए पनि उसको तर्कमा गहिराइ थियो। आँखामा विश्वास झल्किन्थ्यो। मलाई केटाको प्रेमप्रति सहानुभूति त झल्कियो, लगत्तै केही पर छलिएको युवा नेताको पनि सम्झना आयो।
‘के रे तपाईंको नाम?’ मैले उसलाई उत्सुकता जनाउने हिसाबले भने, ‘म तपाईंले मन पराउने केटीसँग संवाद अघि बढाउन सक्छु। उसको दाइ मेरो साथी हो।’
म दुवैको समस्या अनुभव गर्न सक्थें। एउटाको इज्जतको धज्जी उडिरहेको थियो। परिवारले नेता, प्रहरी र गुन्डा जुटाएर पनि प्रेमका अघि हार खाइरहेका थिए। यता एउटाको प्रेम छुटिरहेको थियो। जति प्रयास गर्यो, प्रेमीकाबाट टाढा हुँदैथियो। दुवैको मध्यस्तता जनाउने आश्वासन दिँदै भने, ‘वार्ता गरेर समस्याको सामाधान निकाल्न सकिँदैन?’
खासमा म युवकसँग धेरै कुरा चोर्न चाहन्थें। कतैबाट यो टोले नेतालाई अझ कजाउन पाइन्छ कि भन्ने मनको कुनामा आशा छदैं थियो।
‘मैले वार्ताको धेरै प्रयास गरें। त्यसको बदालामा कुटाइ खाएँ, प्रहरीमा थुनिएँ। अब वार्ताको डेडलाइन सकियो सर। मैले अल्टिमेटम दिएरै आमरण अनसन बसेको हुँ,’ केटाले दृढ स्वरमा भन्यो।
‘त्यसो भए तपाईंको माग चाहिँ के हो?’ मैले सोधें, ‘कि कुनै माग छैन?’
‘माग बिना आमरण अनसन कसरी हुन्छ?’ उसले मेरो प्रश्नमै खिसी गर्दै उत्तर दियो, ‘विशेष माग छैन। मेरो माग प्रेममा सहिद हुन पाउने अधिकार सुरक्षित गर्नु हो। मेरो माग एउटै छ, प्रेम स्वीकार गरेर ममताले मलाई जुस पिलाउनु पर्यो। होइन, भने मलाई यहीँ, यही सडकमा प्रेममा सहिद हुने सुविधा प्रदान गर्नु पर्यो।’
एकछिनपछि उसले टिलपिल आँसु बगाउन थाल्यो। ‘प्रहरीले राति कुट्दै यहाँबाट भगाउ“छन्। प्रेम गर्नु कुन अपराध हो? मेरो प्रेम किन अस्वीकृत भयो, थाहा पाउने अधिकार मैले पाउनु पर्छ कि पर्दैन?’ उसको आँसुले रोकिने नामै लिएन।
उसको अनुहार कठोर हुँदै गयो।
(गत बिहीबार सार्वजनिक ‘जुकरबर्ग क्याफे’ कथा संग्रह भित्रको एउटा कथाको अंश)