PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​महँगी नियन्त्रण गर्न गोरखाका भूकम्पपीडितको माग



​महँगी नियन्त्रण गर्न गोरखाका भूकम्पपीडितको माग

गोरखा : गोरखाका  वासिन्दाले भूकम्पपछि बजारभाउ आकाशिएको भन्दै महँगी नियन्त्रणको पहल गर्न सभासदहरुसँग आग्रह गरेका छन्।

वैशाख १२ गते अघि कै भाउमा खाद्यान्नलगायत सामग्रीको मूल्य कायम गर्नुपर्ने उनीहरुले माग गरेका छन्। भूकम्पपछि बजार अनुगमन नहुँदा व्यापारीले मनपरी भाउ लिएर जस्तापाता, खाद्यान्न बिक्री गर्दै आएको गुनासो उनीहरुको छ।

'रातारात व्यापारीले सामानको भाउ बढाए' व्यवस्थापिका–संसद् उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सभासदसामु उपभोक्ता हित संरक्षण मञ्च गोरखाका अध्यक्ष किशोरजङ्ग थापाले भने 'अनुगमन गरेर महँगी नियन्त्रण गर्नुपर्छ ।' 

एमाओवादीका जिल्ला अध्यक्ष लेखबहादुर थापाले भूकम्पपछि जस्तापाताको भाउ आकाशिएको भन्दै सरकारले महँगी नियन्त्रण गरी भूकम्प प्रभावित १४ जिल्लाका वासिन्दालाई खाद्यान्न, जस्तापाता खरिदमा सहुलियत दिनुपर्ने बताए।

नेपाल पत्रकार महासङ्घ गोरखाका अध्यक्ष भीमलाल श्रेष्ठले विपद्का बेला महँगीले भूकम्पपीडितलाई समस्यामा पारेको भन्दै मूल्य बढाउने व्यापारीलाई कारबाही गर्नुपर्ने बताए।

उद्योग वाणिज्य सङ्घ गोरखाका प्रथम उपाध्यक्ष जीवनज्योति श्रेष्ठले गैरसरकारी संस्था (एनजिओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)ले बजार भाउ बिगारेको भन्दै कृत्रिम महँगी भित्र्याउनेलाई स्थानीय प्रशासनले कारबाही गर्नुपर्ने धारणा राखे।

प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले विपद्का बेला उद्धार, राहतमा खट्नुपर्दा बजार अनुगमन गर्न नसकिएको स्वीकार गरे। 'अब बजार अनुगमन गर्नुपर्छ भन्नेमा हामी पुगेका छौँ' उनले भने 'अनावश्यक बजारभाउ, सामानको भाउ बढाएर बिक्री गरेको भेटिएमा कानुनअनुसार कारबाही अघि बढाइन्छ ।' 

दाल, नुन, तेलको भाउ पनि आकाशिएको पाइएको भन्दै संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सभापति भीष्मराज आङदाम्बेले कृत्रिम बजार भाउ राखेर सामग्रीको बिक्री, वितरण भएको पाइएमा कारबाही गरिने बताए।

भूकम्पपछि जिल्लाको अवस्था बुझ्न आङदाम्बेसहित सभासद्हरु सुवासचन्द शाह ठकुरी, बिन्दादेवी आले, भक्तिप्रसाद पाण्डे, रेशम लामा र श्यामकुमार श्रेष्ठ मङ्गलबार गोरखा आएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell