- सत्येन्द्र अर्याल-
'गुहार गुहार ! अहिले मेरा आफन्त सबैलाई विनाशकारी भुइँचालोले मर्माहित पारेको अवसर पारेर मलाई लगिरहेका छन् ! लौन ! बचाऊ ! बचाऊ ! म माथि पनि ध्यान देऊ !' करुण पुकार गर्दै रुँदै बिलौना गरिरहेकी कुनै युवतीको आवाजले मेरो ध्यान तानियो।
झ्याल खोली हेर्दा धेरै मानिसहरुको भीडबाट दुईजना भुसतिघ्रेहरूले एकजना युवतीलाई लछारपछार पार्दै घिसारेर लगिरहेको भयानक दृश्य आँखा अगाडि देखियो। मैले महाभारतमा विवश पाण्डवहरुको उपस्थिति मै दुर्योधनद्वारा गराइएको द्रौपदीको चिरहरण सम्झेँ। मैले यस्तो करुण र भयावह अवस्था कहिल्यै देखेको थिइनँ। म के गरु कसो गरु ? केही सोच्न सकिरहेको थिइनँ। खलखल पसिनाले जीउ निथ्रुक भए मेरा।
मानिसहरु थुप्रै थिए। तर सबै रमिते। कसैले तिनीहरूलाई केही भन्ने आँट गरिरहेका थिएनन्। त्यसो त ठूलो मानिसको भीडले बचाउन चाहेको भए तुरुन्त बचाउने सामर्थ्य थियो, तर सबै मुक दर्शक थिए।
म बिस्तारै घरबाट निस्केर बाहिर भीडमा मिसिएँ र एकजनालाई सोधेँ, 'यी को हुन ? यिनका कोही छैनन्?' एउटाले डराउदै मेरो कानमै खुसुक्क भने, 'यीनी यही गाउँपाखाकी हुन्। यीनलाई सबैले चिनेका छन्। तर उनलाई बचाउन सक्ने आँट कसैमा छैन।
भुसतिघ्रेलेहरुले भन्दै थिए- हामीहरु दुवैजना बसेर 'तँ हाम्रो भइस्' भनेर निर्णय गरिसक्यौं बुझिस्।
ऊ पनि रुँदै भन्दै थिई- 'मलाई र मेरो घर परिवारलाई नसोधी तिमीहरूले मात्र निर्णय गर्दैमा हुन्छ?' तर उसको तर्क कसले सुन्थ्यो? उसको करुण स्वर र समस्यामा मैले पनि केही गर्न न सकी आफ्नो विवशता व्यक्त गरिरहेको थिएँ।
उनीहरू अलि टाढा गएपछि मैले कराएर सोधेँ, 'तिमी को हौ बैनी?' उसले पनि म जस्तै कराएरै भनिन्, 'म नेपालकै, तिमीहरुकै 'लिपुलेक' हुँ। मेरा सबै नेपाली आमा, बुबा, दाजु, भाइ, दिदी, बहिनीहरुलाई सुनाइदिनु है......।'
आमाले 'बाबु, ए बाबु! निन्द्रामा किन बर्बराएको?' भनी उठाउँदा म झसङ्ग भएँ। म पलङ बा झन्डै लडेको। पसिनाले निथ्रुक भिजेको रहेछु। घडी हेरेको रातको एक बजेको रहेछ। आमाले 'नराम्रो सपना देखिस् कि कसो? ल राम्ररी सुत्' भनेर जानुभयो। तर म सुत्न सकिनँ।
केवल म लिपुलेक हुँ र मेरा सबै नेपालीलाई सुनाइदिनु भन्ने स्वर मेरो कानमा गुन्जिरहेको अनुभूत भइ नै रह्यो।
[email protected]