- भावना शर्मा-
बरालिएका कुर्चीले पोतिरहन्छ म मा
कहिले रंगिन कहिले रंगहीन आकृतिहरु...
म क्यानभास
रंगहरुको आवेग सहन विवश !
विचलित छु
छिनछिनमा बदलिइरहने रङहरुले
अशान्त छु
सोच्दैछु, आज बहिस्कार गरुँ यो कोलाज !
असाध्यै रिस उठेको छ
यो चित्रकारसँग
एकैछिन अघि पोतिदिएको सुनौलो रङ- खोइ कता उडेछ?
कत्ति मन परेको त्यो हल्का गुलाबी
त्यो पनि मेटिदिएछ
खैरो पारिदिएको हेर किनारा !
अनि किन नरिसाउ त म?
किन बहिस्कार नगरौ उसको साम्राज्य?
कहिले रातो रङ सजाएर
बेहुली पारिदिन्छ
फेरी एकै छिनमा पखालिदिन्छ
मखमली सपनाहरु
सादा बनाइदिन्छ सेतो पोतेर...
कहिले इन्द्रेणी सजाउँछ
अनि आँखाहरुमा फुल्न नपाउँदै
बगाइदिन्छ निलो रंगमा आँशुको समुन्द्र...
फटाहा छ चित्रकार
अनादि कालदेखि
म माथि यसैगरी गरिरहेछ प्रयोग !
मेरो जीवनको रङ
पटक पटक बदल्ने अधिकार कसरी पायो उसले?
कसरी बन्यो ऊ विधाता?
किन छ रङहरुको शासन म माथि?
पटक पटक कालो रात पोत्छ ऊ
असाध्यै खुले झैँ लाग्छ मलाई
मेरा सपनाहरु कालै रातमा त उज्याला भएर फुल्छन् !
म बुझ्छु,
कुन रङमा अझ बढी मुस्कुराउछन् राता गुलाबहरु
कुन रङले एक बन्छन् क्षितिजमा धर्ती आकाश !
सोध्दैन मलाई
सुन्दैन मेरो / खोइ कसको सुन्छ?
बरालिन्छ चित्रकार रङहरुको संसारमा
पोतिरहन्छ म मा असरल्ल नखुल्ने रङहरु
प्रयोग गरिरहन्छ
तर बुझ्दैन कहिल्यै
मेरो जीवन कुन रङमा बढी खुल्छ !!
विचलित छु
अशान्त छु
अझैँ कति बसौ मौन?
किन नकोरौ आफ्नै रंगहरुको आकृति?