PahiloPost

Nov 27, 2024 | १२ मंसिर २०८१

कविता : किरिया बसेकी स्वास्नीमान्छे



कविता : किरिया बसेकी स्वास्नीमान्छे

  • सरस्वती प्रतीक्षा
लोग्नेको मृत्युमा
किरिया बसेकी स्वास्नीमान्छेलाई भेट्न जाँदा
तपाईँका पूर्व निर्धारित सम्पूर्ण अनुमानहरु
गलत सावित हुन सक्छन् !
 
तपाईँ पत्याउनुस्, नपत्याउनुस् !
भर्खरै भेटेर आएकी हुँ मैले उनलाई
उनको नयाँ अवतारसँग ठोक्किनु
संसारको आठौ आश्चर्यसँग ठोक्किनु जस्तै भो मेरा लागि
किरिया बसेकी स्वास्नीमान्छेका आँखाहरुमा
हिरासतबाट मुक्त कैदीको पहिलो मुस्कान छचल्किएको देखे !
 
वर्षौदेखि
लेउ लागेर बसेको मौनता
छायाँ र प्रतिछायाँका पूर्जाहरुमा मात्र उल्लेखित
आफ्नो अस्तित्व
किरिया बसेकी स्वास्नीमान्छेको अनुहारले भन्दै थियो–
फुल्नु न फुलेछु ,
यतिका वर्ष केवल काँस भएर फुलेछु
त्यही काँस पनि अन्त फुले त हुन्थ्यो
केबल अचानो र अचानोका निस्वासहरुमा फुलेछु !
 
बाचुन्जेर सँगसैगै हिँड्थे उनीहरु
र हामी सोच्थ्यौं–
आहा, कति मिलेको चखेवा–चखेवीको जोडी !
 
त्यतिबेला सोचेनौ–
लोग्ने किन सधैं दाहिने स्वास्नी देब्रे हिँड्थी ?
लोग्नेले हासोको स्टक नै रित्याएपछि
स्वास्नी किन रहेलपहेल कच्याककुचुक परेको हासो हास्थी ?
सोचेनौं
त्यो छत थियो वा थियो कुनै बधशालाको अर्केस्टा?
फालेर ओढ्दै गरेको बकम्फुसे छाता
किन मन फुकाएर रुझिन ऊ कुनै झरीमा
र भन्न सकिन–
‘ओ, झरी ! तलाई जस्तै मलाई पनि अराजक हुन मन लाग्छ !’
 
सोचेनौ
शयन कक्षका भित्ताहरुलाई छेडेर
किन उनका गीतहरुले मितेरी गास्नै पाएनन्–
उड्दै गरेका चरा र बग्दै गरेका नदीहरुसँग !
 
सिमोन द बुआलाई सपनामा देख्नु
केट मिलेट र नोरालाई पनि सपनामा मात्र भेट्नु
योगमाया पनि
टुप्लुक्क कहिल्यै आइपुगिनन् उनको आँगनमा
‘घोचिरहने दुम्सीका काँडाहरुलाई
दुम्सीका काँडाहरु होइन शिवलिंग भन्दै पुज्नु पर्छ’
भनेर सिकाइन् उनकी आमाले
अलिकति त्यही सिकाइले रोक्यो
चिमोटि रहने जिन्दगीलाई
‘साला जिन्दगी’ भन्दै मन परी गाली गर्न पनि संस्कारले रोक्यो
 
कहिलेकाही सेतो लुगा लगाउनु पनि
रंगीन सपना देख्नलाई दिइएको अनुमति–पत्र जस्तै हुँदो रहेछ
समयले उनलाई प्रथमपटक
आफ्नो जिन्दगीको चेकबुक आफ्नै हातमा थमाएको थियो
 
बिर्सेर यतिञ्जेरको सकस र सहिद जिन्दगी
५१ वर्षको उमेरमा
उनी १५ वर्षे किशोरी जस्तै लागिन् मलाई
अधिकांश सेतै फुलेको कपाल
चाउरिएको छाला/बाथरोग/सुगर र ब्लड प्रेसर
यी सबका बाबजुद
काफ्काकी  ग्रेगरी
किराबाट भर्खरै मान्छेमा रुपान्तरण भएकी थिई
 
पहिलोपटक
ऊ आफैले ज्वालामुखीमा डरलाग्दो हरफ लेखी–
‘मन्दिर
मन्दिर नभएर पाइखाना हुन सक्छ
सिंदुरको धर्का सिंदुरको धर्का नभएर
स्वास्नीमान्छेको रगताम्य छादको लर्कन हुन सक्छ !’
 
के तपाईँ पनि
किरिया बसेकी स्वास्नीमान्छेलाई भेट्न जादै हुनुहुन्छ ?
पर्खनु होस् ,
अनुमानको अलि फरक ग्राफ बोकेर जानुस् !
लोग्नेको मृत्युमा
किरिया बसेकी स्वास्नीमान्छेलाई भेट्न जाँदा
तपाईका पूर्व निर्धारित सम्पूर्ण अनुमानहरु
गलत सावित हुन सक्छन् !



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell