- विनोद ढकाल/पहिलोपोस्ट-
भूकम्पका बेला उद्धार र पुनर्निर्माणमा खटिएका विद्यार्थीको सम्मान र प्रशिक्षण भनिएको कार्यक्रममा उपाध्यक्ष श्रेष्ठ पार्टीको अवस्था र संविधान निर्माणबारे धारणा राखेर विदा भए।
नेता भट्टराईले भने पार्टीभित्रको विवादको कुरा कोट्याइहाले। ‘हामी कम्युनिष्ट विचार राख्नेहरु नै यति बढी असहिष्णु र संकीर्ण हुन्छौं कि समाजमा भएका अन्तरविरोध पहिचान गरेर हल गर्दै अघि बढ्नुपर्नेमा हामी त्यसबाट भाग्छौं। बरु कोही त्यसमा संलग्न हुन खोज्यो भने त्यसको नियत के हो ? भनेर दुरुत्साहित गर्छौं।'
उनले माओवादी आन्दोलन उचाइमा पुगेर अहिले ओरालो लागिरहेको भन्दै नेतृत्वले सही ढंगले काम पनि नगर्ने र गर्छु भन्नेलाई पनि खुट्टा तान्ने प्रवृत्ति देखाएको आरोप लगाए। ‘पार्टीले अहिलेसम्म पूँजीवादी जनवादी क्रान्ति पूरा गर्न एउटा भूमिका खेल्यो। अब समाजवादी दिशामा अघि बढ्नुपर्ने अवस्था छ। त्यसका लागि यो पार्टी यही रुपमा जान सक्दैन।’
उनले नयाँ रणनीति अनुसार पार्टी अगाडि बढ्नुपर्ने र त्यसका लागि नयाँ कार्यशैली पनि चाहिने बताए। सही नेतृत्व र कार्यशैली भएन भने पार्टी सतीदेवीको अंग पतन भएजस्तै झरिहने बाबुरामले टिप्पणी गरे। उनले भने ‘महादेवले सतीदेवी बोकेर हिँडेजस्तो एउटै मान्छेले मरेको लास झैं बोकिरहने हो भने आज विप्लव झरे, हिजो वैद्य झरे अस्ति मातृका झरे भोलि अर्को कोही झर्ला । भोलि गुह्येश्वरी जस्तो पीठहरु निर्माण गर्नुबाहेक अरु केही पनि गर्न सक्दैनौं।’
उनले अन्तिममा पार्टीमा बहस छलफल स्वभाविक भन्दै अन्तरविरोध हल नभएसम्म पार्टी निर्माण नहुने बताए। ‘समाज भनेको अन्तर विरोधै अन्तरविरोध हुन्छ। त्यसलाई हल नगरेसम्म प्रचण्ड, बाबुराम र नारायणकाजीले अंगालो हालेर मात्र केही हुन्न।’
त्यसपछि बोलेका प्रचण्डले आफ्नो मन्तब्यको धेरै समय बाबुरामले उठाएको प्रश्नको जवाफ दिँदैमा खर्च गरे। उनले सहर आएपछि माओवादी नेतृत्व बिग्रेको स्वीकार गर्दै थपे ‘हिजो जनयुद्धमा हुँदा किसान मजदुरहरुसँग थियौं र हामी बिग्रेनौं। शान्ति प्रक्रियामा आएपछि नेतृत्व सहर केन्द्रित भयो। हाम्रो संसर्ग बुर्जुवाहरुसँग भयो। तपाईँ अहिले हेर्नुभयो भने हाम्रो पार्टी कम्युनिष्ट पार्टी भन्नै नमिल्ने खालको भइसकेको छ। यो फुटै फुटले भरिएको, ब्यक्तिगत स्वार्थै स्वार्थले भरिएको ब्यक्तिहरुको झुण्ड भएको छ।
उनले पार्टीमा अराजकता हावी भएको भन्दै थपे ‘अहिले पार्टीमा समानान्तर कमिटीको लहर चलेको छ। एउटा हैन, तीनचारवटा, एउटै जिल्लामा सातवटा आठवटा समानान्तर कमिटी बनेको छ। मान्छेपिच्छे गुट हुन थालेको छ। यो कम्युनिष्ट आचरण हो त ?’
उनले विचार र कार्यदिशा सही भएर मात्र नहुने भन्दै कार्यशैली सुधार्न घुमाउरो हिसाबले बाबुरामलाई सुझाव दिए। ‘पार्टी हुनका निम्ति विचार र कार्यदिशा मात्रै भएर पुग्दैन। त्यहाँ विधि र प्रक्रिया महत्वपूर्ण हुन आउँछ। हेटौंडा महाधिवेशन हाम्रो पार्टीमा कार्यदिशा कार्यनीति एउटै छ। तर हामीले गुट बनाउन छोडेका छैनौं।’ प्रचण्डले भने ‘के यो विचार हो? हामी भन्ने एउटा र गर्ने अर्को। हाम्रा भनाई र गराइमा तारतम्य छैन। हामी गुटबन्दी अन्त्य हुनुपर्छ भनिरहेका छौं, अनि गुटबन्दी गरिरहेका छौं।’
काठमाडौं लगायतका केही जिल्लामा बाबुराम भट्टराई पक्षधरले गठन गरेको समानान्तर कमिटीप्रति लक्षित गर्दै प्रचण्डले सोधे ‘हामीले नयाँ परिस्थितिमा नयाँ ढंगको पार्टी चाहिन्छ भनिरहेका छौ। के नयाँ पार्टी भनेको समानान्तर कमिटीले बनाउने हो? गुटबन्दीले बनाउने हो ?’
प्रचण्डले पार्टीलाई नयाँ ढंगले अघि बढाउन गएको मंसिर २८ गते केन्द्रीय समितिमा आफैले २५ बुँदे प्रस्ताव पेश गरेको भन्दै संविधानसभाभित्रको गतिविधि र आन्दोलन गर्नुपर्ने अवस्था आएकाले त्यसमा छलफल हुन नसकेको बताए।
आफुले ३५ वर्षको उमेरमा नेकपा मशालको नेतृत्व लिएपछि। मोहनबिक्रम सिंहले बाबुरामलाई जिल्ला कमिटी भन्दा अगाडि लैजान हुँदैन भनेर सुझाव दिएको भन्दै बाबुरामलाई छेड हाने। ‘मोहनबिक्रमजी ले यो बाबुराम भन्ने मान्छेलाई धेरै माथि ल्याउन हुँदैन है वुद्धिजीविहरु अवसरवादी हुन्छन् भनेर सिकाउनुभयो। जिल्ला कमिटी भन्दा माथि आउन दिनु हुँदैन आए भने बर्बाद पार्छन् भन्नुहुन्थ्यो। म त्यसलाई अस्वीकार गरेको मान्छे हो।’ प्रचण्डले बाबुरामतर्फ संकेत गर्दै भने ‘क्षमता भएको मान्छेलाई नल्याउने भन्दा रहेछन् यी मोहन बिक्रम अनि कसरी क्रान्ति हुन्छ त भन्थेँ। सबैले पत्याउने, विश्वास गर्नेलाई न्याक्ने गर्यो भने त क्रान्ति हुँदैन भनेर सबैलाई एकठाउँमा ल्याउने प्रयत्न गरेँ अहिले तपाईँले जति गाली गरे पनि जति माया गरे पनि त्यो बेला मैले गरेकै हो।’
प्रचण्डले आफू बुढो भएकाले पार्टीभित्र हेपिन थालेको महसुस भएको पनि बताए। ‘अहिले ६०/६५ वर्ष भइयो। हामी कम्युनिष्टहरुमा के हुन्छ भने बुढो हुँदै गएपछि काम लाग्दैन भनेर फालिदिने,’ उनले कथाको भूमिका जोड्दै भने, ‘जीवनमा धेरै त्याग बलिदान गरेका नेतालाई अर्कोले न्याक्नैपर्ने, नन्याकी नहुने। यसरी कम्युनिष्ट आन्दोलन हुन्छ त ? इतिहासमा राम्रो गर्नेलाई त त्यसले राम्रो गर्यो भनेर सम्मानपूर्वक राखे पो समाजले स्वीकार गर्छ।’
दुई नेताले एक अर्कालाई छेडछाड गर्दा हलभरी उपस्थित विद्यार्थीहरुले भने पालैपालो ताली बजाइरहे।