काठमाडौं : एनेकपा माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता बाबुराम भट्टराई बीच आलोचनात्मक टिप्पणी भयो। सुरुमा बोलेका डा. बाबुराम भट्टराईको भनाईको पछि प्रचण्डले जवाफ फर्काएका थिए। प्रचण्डलाई जवाफ फर्काउन वाध्य पार्ने बाबुरामको भाषणमा के थियो त ? पढ्नुस् बाबुरामको प्रशिक्षण मन्तव्यको पूर्ण पाठ :
- डा. बाबुराम भट्टराई -
त्यसैले एकापट्टि ठूलो ऐतिहासिक परिवर्तनको राजनीतिक मोड, अर्कोपट्टि भूकम्पको त्रासदीले ल्याएको भौतिक र आर्थिक नवनिर्माणको मोड, यो मोडमा उभिएर आगामी कार्यभार तय गर्नु छ। त्यो दिशा स्पष्ट भएपछि तपाईं–हाम्रा दिमाग खुल्छन् र हामीमा गति पैदा हुन्छ। यदि अब कहाँ जाने हो भन्ने टुंगो लागेन भने तपाईं–हामी शिथिल हुँदै जाने, पलायन हुँदै जाने, एक–अर्का आरोप–प्रत्यारोप गर्ने र विघटित र बिसर्जित हुने भन्दा अर्को विकल्प रहँदैन। केही समय यता हाम्रो पार्टीको स्थिति करिव–करिव त्यस्तो बन्न लागेको अवस्था छ।
हाम्रो पार्टीले गत मंसिर २८ गते केन्द्रीय समितिमा अब हामीले आगामी दिनको कार्यभार तय गर्नुपर्छ भनेर, नयाँ युगमा हामी जो प्रवेश गरेका छौं त्यो युगको बाटो स्पष्ट गर्नुपर्छ भनेर, प्रस्ताव प्रस्तुत गरेको छ। तर विविध कारणले गर्दा हामीले त्यसलाई टुंगोमा पुर्याउन सकेका छैनौं, त्यो बाँकी नै छ। र भूकम्पको त्रासदी र नवनिर्माणको विषयमा त हामी अहिले सरकारमा नभएको हुनाले हामीले विचार दिन सक्छौं, अवधारणा दिन सक्छौं तर हामी आफैं क्रियात्मक ढंगले अगाडि बढ्ने अवस्थामा छैनौं। फेरि पनि हामीले विविध ढंगले भूमिका निर्वाह गर्ने कोसिस गरेका छौं। हाम्रो पार्टीले जनतालाई सघाउने प्रयत्न गरिराखेकै छ। हामी यो विशिष्ट मोडमा उभिएका छौं त्यसैले आगामी दिनमा हाम्रो कार्यभार के हो ? समग्रमा हाम्रो पार्टीको, आन्दोलनको कार्यभार के हो ?, विद्यार्थीहरुको कार्यभार के हो ? मैले कमरेडहरुलाई सुरुमा नै त्यसमा केन्द्रित हुन आग्रह गर्छु र त्यसैमा नै म आफ्ना केही भनाइहरु राख्न चाहन्छु।
राजनीतिक बाटो प्रष्ट हुनुपर्छ
जबसम्म राज्यहरु रहन्छन्, त्यतिबेलासम्म राजनीति रहन्छ र राजनीति नै सबै नीतिहरुको कुँजी हुन्छ। त्यसैले राजनीतिक गाँठो नफुकाएसम्म, राजनीतिक बाटो स्पष्ट नभएसम्म अरु बाटो प्रष्ट हुँदैन। युवा विद्यार्थीहरु कहाँ जाने भन्ने बाटो पनि मूल रुपमा देशको राजनीतिक बाटाले नै तय गर्छ। त्यसैले जुन नयाँ युगमा हामी प्रवेश गरेका छौं त्यो बाटो कसरी तय गर्ने ? यो विषयमा गम्भीर छलफलको यतिबेला आवश्यक छ। यो बहस र छलफलमा अत्यन्तै संयमित ढंगले, जिम्मेवारीपूर्ण ढंगले, विवेकसम्मत ढंगले प्रस्तुत हुन म हाम्रा युवा विद्यार्थी साथीहरुलाई आग्रह गर्न चाहन्छु।हाम्रो परम्परा त्यति सुखद् छैन। सबैभन्दा उन्नत विचार राख्ने हामी कम्युनिष्टहरु नै यति असहिष्णु, यति संकीर्ण, यति यान्त्रिक हुन्छौं कि विज्ञानका नियमहरुलाई उद्घाटित गर्ने कुरा, समाजका अन्तरविरोधको पहिचान गर्दै त्यसलाई हल गर्दै अघि बढ्ने कुरा र आगामी दिनको नयाँ बाटो निर्माण गर्ने कुराले जुन नयाँ सोंच, चिन्तनको माग गर्छ त्यसबाट हामी भाग्छौं। हामी संलग्न हुँदैनौं, अरु हुन खोज्यो भने पहिले नै त्यसको नियतमाथि प्रश्न गरेर अरुलाई पनि निरुत्साहित गर्छौं। आफू त त्यहाँ प्रवेश गर्नै चाहँदैनौं। यस्तो अल्छी प्रवृत्ति छ। बहसमा प्रवेश नगरिकन, अध्ययन र अनुसन्धान नगरिकन, समस्याको चुरो नपहिल्याइकन, अन्तरविरोधलाई हल गर्ने उपाय नखोजिकन, कुरा काट्ने प्रवृत्ति हामी कम्युनिष्टहरुमा पनि केही समयदेखि हावी रह्यो। त्यसैले गर्दा नै हामी पूँजीवादसँग हारिराखेका छौं। २०औं शताब्दीको मध्यसम्म कम्युनिष्टहरुको उचाइको अवस्था थियो। पछिल्लो चरणमा पूँजीवादले जसरी श्रेष्ठता हासिल गरेको छ, ज्ञान र विज्ञानको पछिल्ला आविष्कारहरुमाथि एकाधिकार जमाएर उसले जसरी आफ्नो प्रणालीलाई स्थायीत्व दिँदै गइराखेको छ, त्यति ठूलो अन्तरविरोधहरुलाई हल गर्दै गइराखेको छ तर हामी कम्युष्टिहरुले आफ्नै चिन्तनको संकीर्णता, जडता र यान्त्रिकताको कारणले गर्दा ज्ञान र विज्ञानलाई अगाडि बढाउन सकेनौं, हामी पछाडि परिराखेका छौं।
त्यसैले विश्वमा अहिले हामी कम्युनिष्टहरु जसरी पछाडि पर्यौं र हाम्रै माओवादी आन्दोलन पनि उचाइमा पुगेर ओरालो लागिराखेको जुन अवस्था छ त्यसको पछाडिको कारण हाम्रो यही अल्छी प्रवृत्ति, आफू पनि काम नगर्ने, आफू पनि नसोच्ने, आफू पनि समाधान नखोज्ने अनि कसैले हल खोज्न खोज्यो भने त्यसको खुट्टा तान्ने र त्यसलाई दुरुत्साहित गरिदिने प्रवृत्ति हो। हामीले यो प्रवृत्ति छोड्नुपर्छ। तब मात्रै ज्ञान र विज्ञानको ढोका खुल्छ, सत्यको अनुसन्धान हुन्छ, अहिलेका समस्याका गाँठा खुल्छन्। त्यसैले त्यतापट्टि तपाईंहरुको ध्यान केन्द्रित होस् भन्ने म युवा विद्यार्थी साथीहरुलाई विशेष आग्रह गर्न चाहन्छु। किनकि ज्ञान र विज्ञानको आविष्कार र प्रयोग भनेको मानिसले २० र ३० वर्षको उमेरमा नै गर्दछ। हामी सबैका अनुभव छन्। हामी त ६० काटिसकेका छौं, तपाईं धेरै साथीहरु २० र ३० वर्षको उमेरमा हुनुहुन्छ। यो नै सबभन्दा उर्जाशील, सबभन्दा चिन्तनशील र सबभन्दा साहसिक धारणाले, बनोटले बनेको उमेर अवस्था हो। त्यसैले तपाईंहरुले युगीन आवश्यकतालाई पूरा गर्नको निम्ति आफूलाई तयार गर्नैपर्छ। त्यसरी मात्रै तपाईंहरुले आफ्नो भूमिका निर्वाह गर्न सक्नुहुन्छ।
केन्द्रीय समितिमा प्रचण्ड प्रस्तावबारे
गत मंसिर २८ गते अध्यक्ष कमरेडमार्फत केन्द्रीय समितिमा प्रस्ताव प्रस्तुत भएको छ। पार्टीको रुपान्तरणको निम्ति नयाँ ढंगले यो पार्टीलाई कसरी अगाडि बढाउने ? पुरानो पार्टीले त आफ्नो काम पूरा गर्यो। पूँजीवादी जनवादी क्रान्ति गर्ने चरणसम्म त ऐतिहासिक भूमिका खेल्यो। तर अब समाजवादको दिशामा जाने जुन नयाँ बाटो छ त्यस क्रममा यो पार्टी यही रुपले तपाईं–हामी यसरी नै गएर कहिँ पनि पुग्दैनौं भन्ने निष्कर्षसहित अब कसरी अगाडि बढ्ने हो ? विचारमा हामीले कहाँ विकास गर्ने हो ? २१औं शताब्दीमा माक्र्सवादलाई नयाँ ढंगले कसरी विकास गर्ने हो ? माओका देहान्तपछिका ४० वर्षमा किन विश्वमा कहिँ पनि कम्युनिष्टहरुको नेतृत्वमा क्रान्ति भइराखेको छैन ? यसको अनुसन्धान गरेर अब कसरी हामीले २१औं शताब्दीमा नयाँ ढंगले फेरि समाजवादी क्रान्तिलाई अगाडि बढाउने हो ? यसको जवाफ खोज्नु छ।हामीले पूँजीवादी क्रान्तिका उपलब्धीको रक्षा गर्दै यसमा टेकेर उत्पादक शक्तिको विकास गर्दै समाजवादी क्रान्ति गर्ने भनेका छौं, त्यसको मोडेल के हुने ? त्यसको रणनीति र कार्यनीति के हुने ? त्यो हामीले खोज्नु छ। हिजोकै मात्रै मोडेल खोजेर अब हुँदैन। हिजोकै सोभियत संघ, पूर्वी युरोप, चीन र अरु देशका समाजवादका मोडेल अब लागू हुनेवाला छैन। त्यो एउटा सन्दर्भ बन्छ, त्यसबाट हामीले सिक्नुपर्छ तर २१औं शताब्दीमा समाजवादको अर्कै नयाँ मोडेल हामीले विकास गर्नुछ। त्यसको रणनीति र कार्यनीतिको शृङ्खलाको विकास हामीले गर्नुछ। यो कुरा हामीले त्यहाँ संकेत गरेका छौं। विचारलाई, कार्यदिशालाई कार्यान्वयन गर्नको निम्ति शक्ति चाहिन्छ, संगठन चाहिन्छ र नेतृत्व चाहिन्छ। त्यो पनि अब हामीले नयाँ विचार र नयाँ कार्यदिशा अनुसारको नयाँ संगठन र नेतृत्वको विकास गर्न सकिएन भने कोरा गफमा मात्रै सीमित हुन्छ।
त्यसैले त्यस्तो नयाँ ढंगले पार्टी, नयाँ ढंगको नेतृत्व प्रणाली कसरी विकास गर्ने भन्ने अर्को प्रश्न हामीसँग छ। अर्को व्यवहारिक ढंगले सबभन्दा महत्वपूर्ण भनेको आचरण र कार्यशैलीको प्रश्न हो। हामी कम्युनिष्टहरु अरुभन्दा, वर्ग विभाजित समाजका अरु सबै राजनीतिक दलहरु र मान्छेहरुभन्दा हामी समाजवाद हुदै वर्गविहिन साम्यवाद उन्मुख मान्छेहरुको बीचको फरक के हो भने हामी हाम्रा आचरणमा स्वच्छ र पारदर्शी हुन्छौं, नैतिकतालाई उच्च मान्यता दिन्छौं, श्रम नगरिकन अरुको श्रम लुटेर, चोरेर खाने कुराको सख्त विरोधी छौं, हामी जे भन्छौं त्यही गर्छौं र कुनै पनि प्रकारको अपारदर्शी हर्कत गर्दैनौं। त्यसैले हाम्रो संस्कृति, आचरण र शैली पनि नितान्त गुणात्मक रुपले पूँजीवादी र त्यो भन्दा पहिलेका सामन्तवादी समाज भन्दा भिन्न हुन्छ। त्यसैले चार कुराः विचार, राजनीतिक कार्यदिशा, संगठन र नेतृत्व र आचरण र कार्यशैली, समग्र र सेटमा नै विकास गरेर मात्रै अब हामीले नेपालमा आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउन सकिन्छ र हाम्रो पार्टीको पनि औचित्य रहन्छ।
सतिदेवीका अंग झरेजस्तै झरे...
त्यसअनुकुल हामीले हाम्रो पार्टीलाई रुपान्तरण गर्न सकेनौं भने हाम्रो औचित्य रहँदैन। भोलि कराएर, सरापेर केही पनि अर्थ हुनेवाला छैन। यो त महादेवले सतिदेवी बोकेर हिँडेजस्तो केही मान्छेले बोक्न सक्छन् मरेको लाशलाई। तर त्यो सतिदेवीका अंग झरेजस्तो आज बैद्य–विप्लव झरे, मात्रिका झरे, भोलि कोही झर्ला। महादेवले सतिदेवी बोक्न त सक्छ तर त्यो खालि गुह्येश्वरी जस्ता विभिन्न पीठहरु निर्माण गर्नुबाहेक हामीले केही पनि गर्न सक्दैनौं।त्यसैले यो पार्टीलाई नयाँ ढंगले रुपान्तरण गरेर लिएर जानको निम्ति विचार, कार्यदिशा, संगठन र कार्यशैलीको समग्र क्षेत्रमा नै नयाँ ढंगले विकास गरेर जानु पर्ने आवश्यकता छ। यो प्रस्ताव पार्टीको केन्द्रीय समितिमा प्रस्तुत भइसकेको छ। खासगरी तपाईं युवा विद्यार्थी साथीहरुले त्यसमा गहनतापूर्वक अध्ययन–अनुसन्धान गरेर पार्टीलाई सघाउनुपर्छ। म यो पहिलो आग्रह तपाईंहरुसँग गर्न चाहन्छु। यसमा तपाईंहरुले अल्छी गर्नुभयो भने चाहिँ परिणाम ठीक आउनेवाला छैन। हामीलाई सराप्न तपाईंहरुले पाउनुहुन्न। प्रचण्ड, बाबुराम र नारायणकाजिले गर्ने हो भनेर तपाईंहरु पन्छिन पाउनुहुन्न।
हामी बहस गरिरहन्छौं
हामीले हाम्रो कुनै व्यक्तिगत स्वार्थको निम्ति बहस गरेका होइनौं। हामी अलिकति बहस गर्छौं, बाहिर अलिकति बहस आउँछ, लौ प्रचण्ड र बाबुरामको झगडा भयो, रडाको मच्चाए भन्नेतिर जान्छ। तर त्यसो होइन। हामी कमरेड प्रचण्ड र म त गत २५/२६ वर्षसम्म एउटै कमिटीमा छौं, कमरेड नारायणकाजीसँग ८/१० वर्ष अलग्गियो र उहाँसँग पनि १५ वर्षदेखि हामी सँगै छौं। त्यसैले हामी त बहस गरिराखेका छौं।
सत्यको अनुसन्धान गर्ने प्रयत्न गरिराखेका छौं। त्यसो गर्ने क्रममा तपाईंहरुले सघाउनुपर्यो हामीलाई। त्यसरी सघाउनुभएन र बुढाहरु फेरि झगडा गर्न थाले भन्नुभयो भने हुँदैन। समाज भनेको अन्तरविरोध नै अन्तरविरोधले बनेको हो। अन्तरविरोधलाई हल नगरेसम्म तपाईंहरु सबैले र प्रचण्ड–बाबुरा–नारायणकाजिले अंगालो हालेर बसे पनि समस्याको समाधान हुँदैन। यसले त ठूलो बहस र छलफलको माग गर्छ। त्यसमा तपाईंहरु प्रवेश गर्नुपर्छ, तपाईंहरुले सहयोग र साथ दिनुपर्छ। त्यसो हुन सकेन भने हाम्रो विनाशलाई कसैले रोक्न सक्दैन। यो आग्रह पनि तपाईंहरुसँग गर्न चाहन्छु।
पूँजीवादी क्रान्ति र संविधानसभा
दोस्रो प्रश्न संविधान निर्माणको सन्दर्भमा म के भन्न चाहन्छु भने संविधानसभाबाट संविधान निर्माण गर्ने प्रश्न पूँजीवादी क्रान्तिलाई पूर्णता दिने एउटा विधि र माध्यम हो। हिजो अरु देशमा पूँजीपति वर्गले नै पूँजीवादी क्रान्ति गरेर संविधानसभा मार्फत पूँजीवादलाई संस्थागत गरेका थिए। त्यसैले संविधानसभालाई पूँजीवादी लोकतन्त्रको सर्वोच्च रुप भन्ने गरिन्छ। तर पछिल्लो चरणमा जब जनताको जनवाद वा नयाँ जनवाद भन्ने अवधारणा आए र कम्युनिष्टहरुकै नेतृत्वमा पूँजीवादी क्रान्ति सम्पन्न गर्ने अवधारणा आइसकेपछि र जहाँ कम्युनिष्टले पूरै सत्ता प्राप्त गरे त्यहाँ उनीहरुले पुरानो बुर्जुवा अर्थको संविधानसभामा नगइकन आफैंले जनताका चुनिएका प्रतिनिधिहरु मार्फत जनताको संविधान बनाएर जाने एउटा प्रचलन कम्युनिष्टहरुले पनि सुरु गरे।तर हामीले नेपालमा अहिले २०औं शताब्दीको अन्त्य र २१औं शताब्दीको सुरुमा उही पुरानै नयाँ जनवादी मोडेलबाट मात्रै क्रान्ति सम्पन्न गर्न सम्भव देखेनौं। त्यसैले हामीले आधा नयाँ जनवादी तरिकाले केही पुरानै जनवादी तरिकाले नेपालमा पूँजीवादी जनवादी क्रान्ति पूरा गरेर अगाडि बढ्ने सोंच बनायौं। त्यसैक्रममा जनयुद्धको बीचबाट नै संविधानसभाबाट पूँजीवादी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अगाडि बढ्ने भन्ने अवधारणा आयो। त्यसैले हाम्रो पार्टीले चुनवाङ बैठक, १२–बुँदे समझदारी र पहिलो संविधानसभादेखि यहाँसम्म त्यसलाई लागू गर्ने प्रयत्न गरेको छ। तर यहाँ के हो त खिचातानी ? कहाँ चुक्यौं त हामी ? हामीले के बुझ्नु पर्यो भने खिचातानी भनेको संविधानसभाबाट संविधान बनाउने कुरामा त पुरानो पूँजीपति वर्ग पनि साथमा आयो, हामी दुबैथरिले मिलेर संविधान बनाउने त भन्यौं।
त्यसैले पहिलो संविधानसभाको चुनाव भयो। त्यसमा हामी प्रगतिशील वामपन्थी शक्तिहरुको बर्चश्व रह्यो र पुरानो शक्तिले हाम्रो छापसहितको, कम्युनिष्ट छापसहितको अर्थात समाजवाद उन्मुख जुन पूँजीवादी संविधान बन्दै थियो त्यो उसले नरुचाउनु स्वाभाविक थियो। अनेक वितण्डा गरेर अल्झाउने र लम्ब्याउने काम उसले गर्दै रह्यो। तर हामी यस्ता हुस्सु भयौं, हामी कम्युनिष्टहरु यसै भएर हार खाएका हौं, नेपालमा पनि अन्तर्राष्ट्रिय रुपमा जे गल्ती भएको थियो त्यही गल्ती गर्यौं।
हामीले आफ्नो तागतलाई बुझेनौं, कतिपय अवस्था अधिमूल्यांकन गर्यौं र शक्ति सन्तुलनको हिसाबकिताब नगरिकन, हाम्रो आफ्नै कार्यदिशा के हो भन्ने कुरालाई हेक्का नराखिकन कहिले हामीले मुखमा चुनाव मनमा विद्रोह भन्ने कुरा गर्यौं। संविधानसभापछि पनि हामीले छिटो भन्दा छिटो संविधान बनाएर जान सकेको भए यो भन्दा अग्रगामी प्रगतिशील संविधान बन्थ्यो। तर हामीले जुन क्रान्तिकारी धङधङी बाँकी थियो, आफ्नै कार्यदिशालाई नै बेलाबखतमा बिर्सिराखेका थियौं, अनि बिचैमा बिद्रोहको कुरा गर्न थाल्यौं। के को निम्ति विद्रोह ?
किनकि पूँजीवादी क्रान्ति नयाँ जनवादी तरिकाले होइन, नयाँ तरिकाले गर्ने हो भनेर आइसकेपछि पूँजीवादको निम्ति तत्काल अर्को विद्रोह आवश्यक हुँदैनथ्यो र समाजवादको निम्ति विद्रोह गर्ने बेला आएको थिएन। त्यसलाई हामीले आँकलन गरेर दबाब चाहिँ दिनुपर्दथ्यो।
प्रतिक्रियावादी वर्गलाई, पूँजीपति वर्गलाई दबाब दिनका लागि बेला–बेलामा झडपहरु गर्ने, आन्दोलन गर्ने, सडक संघर्ष गर्ने त गर्नुपर्थ्यो, गर्नुपर्छ निरन्तर रुपमा। तर तुरुन्तै राज्यसत्ता नै उल्ट्याउने ढंगका विद्रोहका कुरा हामीले गर्यौं त्यसले गर्दाखेरि हाम्रो पनि शक्ति विभाजित भयो, हाम्रो दिमाग बाँडियो र हाम्रो पार्टी नै टुट–फुटसम्म पुग्यो। प्रतिक्रियावादी वर्गले प्रसस्त मात्रामा षड्यन्त्र गर्ने मौका पायो, किनकि उसको धर्म नै षड्यन्त्र हो। त्यसैले पहिलो संविधानसभा विघटन हुने अवस्थामा पुग्यो। यदि हामीले आफ्नो कार्यदिशालाई ठीक ढंगले बुझेर संविधान बनाएर जानु नै हाम्रो हितमा छ, पूँजीवादी गणतन्त्रलाई संस्थागत गरेर समाजवादतिर जाने हो हामीले, संविधानसभाले पूँजीवादी गणतन्त्रलाई अधिकतम समाजवाद उन्मुख मात्रै बनाउने हो भन्ने कुरा बुझेर हामीले पहिलो संविधानसभाबाट संविधान बनाएको भए धेरै अग्रगामी प्रकारको संविधान बन्न सक्थ्यो।
खासगरी २०६९ जेठ २ गते जुन समझदारी भएको थियो त्यतिबेला हामीले त्यसमा टेकेर अगाडि जान सकेको भए प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसद्बाट निर्वाचित प्रधानमन्त्रीसहितको मिश्रित प्रणाली (फ्रेन्च मोडेल) त्यहाँ थियो। कमसेकम प्रत्यक्ष निर्वाचित राष्ट्रपति थियो अहिले त्यो गुम्यो। त्यतिबेला ११ प्रदेशको संघीय प्रदेश थियो। १० प्रदेश त हामीले भनेअनुसारकै थिए खालि ११औं प्रदेश चाहिँ सुनसरी–मोरङ–झापाको छुट्टै प्रदेश थप्ने भन्ने मात्रै कुरा थियो। त्यसैले संख्या र सीमांकनसहितको प्रदेश त्यहाँ बन्नेवाला थियो। त्यहाँ हामीमाथि क्रान्तिकारी भूत सवार भयो, हामीले त्यो पनि छोड्यौं र अहिले बिना सीमाको ८ प्रदेशमा सीमित हुनु परिराखेको छ।
त्यसरी नै महिलाका अधिकार, किसानका अधिकार, दलितका अधिकार अहिलेभन्दा धेरै माथि थिए तर अहिले गुम्यो। दोस्रो संविधानसभामा हाम्रो शक्ति कमजोर भइसकेपछि हामीले प्रयत्न त गर्यौं, संवाद समितिमा म सभापति छु, अध्यक्ष कमरेड सदस्य हुनुहुन्छ, हामीले धेरै मेहनत गर्यौं त्यहाँबाट सहमति जुटाउने। हिजोको सहमतिलाई कायम राख्ने र नयाँ कुरामा पनि हामी अनुकुल बनाउने कोशिश गर्यौं तर सम्भव भएन। शक्ति सन्तुलन फेरिइसकेको थियो। कात्तिक १८ गते कांग्रेस र एमालेले एकदम पश्चगामी प्रकारको प्रस्ताव अगाडि ल्याइसकेपछि, जसको दुईतिहाई बहुमत छ उसले त्यसरी गएपछि हामीले गर्न सक्ने केही पनि रहेन। तैपनि हामीले सर्पको मुखमा पसेको भ्यागुतोले जसरी फिटि–फिटि त हामीले गर्यौं। सहजै निल्न त हामीले दिएनौं। माघ ८ मा पनि हामीले तिनलाई अलिकति लात हानेकै हो। भ्यागुतोले सर्पको मुखमा लात हान्ने जस्तो गरेर अलिअलि लात हान्ने काम गर्यौं तर त्यो पर्याप्त थिएन, हुँदैनथ्यो।
सम्झौताको आधार
यसरी गुज्रने क्रममा जब यो भूइँचालो आयो बैशाख १२ गते त्यसले उनीहरुलाई अप्ठेरोमा पार्यो, हामी पनि अप्ठेरोमा छँदै थियौं। यही बीचमा एउटा सम्झौता गरौं न त भनेर हामीले १६–बुँदे समझदारी गर्यौं। यो हाम्रो बाध्यात्मक अवस्था थियो। त्यो नगरेको भए यही पनि गुम्ने खतरा आउँथ्यो। संस्कृतमा एउटा भनाइ छ – ‘सर्वनाशे समुत्पन्ने, अर्धत्याजेति पण्डितः’।अर्थात सबै कुरा डुब्न लाग्यो भने, सबै कुरा सिद्धिन थाल्यो भने बुद्धिमान मान्छेले आधा छोडेर आधा लिन्छ। त्यसैले हामीले पनि अहिले सम्झौता नगर्ने हो भने, अझ बढी लिन्छु भन्ने हो भने, जेठ २ मा बढी लिन्छु भन्दा जति गुमाइयो यो भन्दा पनि बढी गुमाएर रित्तो हात फर्कनुपर्ने हुन्थ्यो। हजारौं शहीद र वेपत्ताहरुलाई जवाफ दिन नसक्ने गरेर नाजवाफ हुने, निकम्मा हुने, इतिहासमा कलंकित पात्र बन्ने जुन खतरा रहन्थ्यो त्यो अवस्थामा १६–बुँदे समझदारी गरेर जानु नै उपयुक्त छ भनेर बाध्यात्मक रुपमा गरियो। तर यो पूर्ण छैन। खासगरी संघीयताको विषयमा सीमांकनसहितकै संघीयता हुनुपर्थ्यो।
हामीले अन्तिमसम्म प्रयत्न गर्यौं तर हुन सकेन। अहिले त्यसको विषयमा जुन ढंगको आवाजहरु उठिराखेका छन् त्यसमा हाम्रो पूरा समर्थन छ। हामीले त सीमांकनसहितकै संघीयता खोजेको हो। त्यसैले जनताको बीचमा अहिले यो मस्यौदा गएको छ यसबीचमा सबैले सबैतिरबाट, खासगरी उत्पीडित जाति, जनजाति, मधेशी समुदायबाट र हाम्रा पार्टीका कमरेडहरुले सीमांकनसहितकै संघीयता निर्माण गर्नका निम्ति आवाज र दबाब सिर्जना गरौं। त्यो फेरि जनताबाट सुझावसहित आएर त्यसलाई सच्याउने ठाउँ रहन सक्छ। त्यसरी नै शासकीय स्वरुपमा त हामीले गल्ती गर्यौं। कमसेकम त्यसलाई एकैचोटी टुंग्याउन पाएको भए, पहिले नै माघ ५ मै सहमति नगरेको भए, एकमुष्ट सहमति गर्दा अहिले संघीयतामा अलि बढी लचिलो भएपछि कमसेकम शासकीय स्वरुपमा आधा–आधा गरौं न त, हिजोकै फ्रेन्च मोडेलसम्म जाउँ न त भन्न सकिन्थ्यो कि।
कांग्रेस–एमालेमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी भन्ने मत त थियो, तिनीहरुलाई समेत साथमा लिएर मिश्रित अथवा नभए प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री सम्म लान सकिन्थ्यो कि ! त्यो त मौका गुमिसक्यो, पश्चात्ताप गर्नुको अर्थ छैन। तैपनि त्यो विषयमा पनि हामीले जनमत सिर्जना गर्नुपर्छ। जनताबाट राय संकलन गर्ने जुन अवधि छ त्यसमा राय संकलन गरेर सकेसम्म एकचोटि सच्याउने प्रयत्न गर्नु बुद्धिमानी हुन्छ। किनकि तत्काल जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभुति गराउनको निम्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नु उपयुक्त हुन्छ।
त्यसरी नै नागरिकता जस्तो विषयमा धेरै गम्भीर त्रुटी त्यहाँ भएको छ। हामीले आमा वा बाबु एक जना नेपाली नागरिक रहेछ भने आमा वा बाबुको नाउँबाट उनका छोरा–छोरीले वंशजको नागरिकता पाउनुपर्छ भन्ने जुन निर्णय संवाद समितिबाट गरिएको थियो त्यसलाई मस्यौदा समितिले अनधिकृत ढंगले उल्ट्याइएको छ। त्यसले गर्दा सबैलाई र आमरुपमा महिलाहरुलाई अधिकारविहीन बनाएको छ, त्यसलाई पनि हामीले सच्याउन आवश्यक छ। त्यो विषयमा पनि आवाज उठ्नु पर्छ। तपाईं युवा–विद्यार्थी हुनुको नाताले युवा विद्यार्थीहरुका विषयमा पनि कतिपय सकारात्मक कुराहरु छन्। खासगरी शिक्षालाई मौलिक अधिकारको रुपमा स्थापित गर्ने, माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य गर्ने कुरा त छन् तर कानुन बनाएर गर्ने भनेपछि कानुन कहिले पनि नबन्ने, कार्यान्वयन नहुने खतरा रहन्छ। त्यसैले यी विषयमा पनि अझै परिमार्जन कसरी गर्न सकिन्छ अलि गहन ढंगले अध्ययन गरेर सुझाव दिनुहुनेछ। म यो तपाईंहरुलाई आग्रह गर्न चाहन्छु।
विद्यार्थीको भूमिकामाथि
अब म विद्यार्थी साथीहरुको भूमिकाको विषयमा अलिकति कुरा राख्न चाहन्छु। युवा विद्यार्थी साथीहरु, नेपालको कम्युनिष्ट आन्दोलन र क्रान्तिकारी आन्दोलनमा १९९७ सालदेखि नै विद्यार्थीहरुको अत्यन्त महत्वपूर्ण भूमिका रहँदै आएको छ। इतिहासमा जहाँसुकै पनि ठूला क्रान्तिकारी परिवर्तन २०/३० वर्षको उमेरका युवा विद्यार्थीहरुले नै नेतृत्वदायी भूमिका खेलेर हुने हो।राजनीतिक नेताहरुले चाहिँ विचार दिने हो। तर मुख्य रुपमा आन्दोलनको रुपमा शक्ति निर्माण गर्ने भनेको युवा विद्यार्थीले नै हो। संसारभरीको नियम यही हो र भोलि पनि यही हुनेवाला छ। त्यसैले तपाईंहरुले जुन एउटा भूमिका विगतमा निर्वाह गर्नुभयो अब आगामी दिनमा कसरी जाने ? पूँजीवादी क्रान्ति मूलरुपमा अब पूरा भयो। अब पूँजीवादी क्रान्तिका उपलब्धीलाई संस्थागत गरेर केही वर्ष सडक, सदन र सरकारका मोर्चाहरुमार्फत संघर्ष गर्दै उत्पादक शक्तिहरुको एक हदसम्म विकास गर्दै अधिकतम समाजवाद उन्मुख क्रान्तिकारी सुधार गर्दै समाजवादी क्रान्तिमा जाने जुन हाम्रो कार्यदिशा हुन्छ त्यसमा तपाईंहरुले आफ्नो भूमिका कसरी निर्वाह गर्ने ? त्यतापट्टि अब तपाईंहरुले सोच्नु पर्छ।
हाम्रो गल्ती कहाँनेर भइराखेको छ भने हिजो युद्धमा हामीले युवा विद्यार्थीहरुलाई कलेज–स्कुल छोड्नुस् बन्दुक बोक्नुस हामीले भनेकै हो किनकि त्यतिबेला संघर्ष प्रधान थियो, हतियारवद्ध युद्ध नै प्रधान थियो। त्यसैले त्यतिबेला तपाईं–हामीले चाहेर पनि खुला रुपमा बसेर कलेज र विश्वविद्यालय जान सक्ने सम्भावना थिएन। त्यसैले बन्दुक उठाउने कुरा नै प्रमुख भएको बेलामा कापि र कलम छोड्नु अनिवार्य थियो र हामीले पनि तपाईंहरुलाई आह्वान गरेकै हो।
तपाईंहरुले छोड्नुभयो र ठूलो भूमिका निर्वाह गर्नुभयो, तपाईंहरुप्रति इतिहास आभारी रहनेछ। तर अब परिस्थिति बदलिएको छ, कार्यदिशा फेरिएको छ, युग बदलिएको छ, अबको सन्दर्भमा हिजोको जस्तो युद्धको तरिकाले संघर्ष गरेर हुँदैन।
यहीँनेर हामीले सायद पार्टीको तर्फबाट बेलैमा ठीक ‘ओरियन्टेसन’ दिन भ्याएनौं। सायद अब केन्द्रीय समितिले नयाँ रुपान्तरणको कार्ययोजना अगाडि ल्याएपछि आउला। तैपनि तपाईंहरुलाई के मात्रै पूर्वसंकेत गर्छु भने आफ्नो ठाउँबाट नयाँ युगको नयाँ क्रान्ति, नयाँ परिवर्तनको निम्ति नयाँ भूमिका कसरी निर्वाह गर्ने ?
त्यसको निम्ति तपाईंहरुले आफूलाई तयार गर्नुपर्छ। त्यसको निम्ति तपाईंहरुले स्कुल, कलेज छोडेर बन्दुक उठाउने होइन। अब तपाईंहरुले कापि, कलम बोक्ने, किताब पढ्ने र विचारको निम्ति योगदान दिने, आवश्यकता अनुसार युवा विद्यार्थीका समस्या, किसान मजदुरका, उत्पीडित जनताको समस्या समाधानको निम्ति दबाब सिर्जना गर्ने ढंगले आफूलाई अभ्यस्त पार्नुपर्छ। केही समय, केही दशक मूलतः शान्तिपूर्ण (वर्गविभाजित समाजमा पूर्ण रुपले शान्तिपूर्ण त हुँदैन) जनसंघर्ष नै संघर्षको प्रधान स्वरुप हुन्छ।
सडक, सदन, सरकार र चुनाव पनि संघर्षको मोर्चा हुन्छ। सरकारमा गएर क्रान्तिकारी सुधार गर्ने काम पनि संघर्षको एउटा मोर्चा हुन्छ। युवा विद्यार्थीले सडकबाट दिने दबाब पनि संघर्षको अर्को रुप हुन्छ। यस्तो तालमेल मिलाएर जानको निम्ति तपाईंहरुले सबै स्कुल कलेजहरु छोडेर युद्धमा जाने ढंगले होइन केही समय कलेजमा रहँदै केही समय संगठनको कामको निम्ति दिने ढंगले आफूलाई अभ्यस्त गर्नुपर्छ।
हिजो ‘होलटाइमर’ हुँदा पूरै व्यवस्थापन पार्टीले गर्थ्यो, छायाँ सत्ताले गर्थ्यो अब त्यो सम्भव हुँदैन। अब हामीसँग केही थोरै मात्रै ‘होलटाइमर’ कार्यकर्ता हुन्छन्। अधिकतम हामीलाई ‘पार्टटाइमर’ कार्यकर्ता अथवा ‘भोलेन्टिएर’हरुको आवश्यकता हुन्छ। तपाईंहरुले आफ्नो व्यवस्थापनको निम्ति पार्टीको नीतिअनुसार, संगठनको नीतिअनुसार के–कति जना ‘होलटाइमर’ आवश्यक पर्ने हो, चुनाव क्षेत्रमा, जिल्लामा त्यसको हिसाब गर्ने, सीमित ‘होलटाइमर’को व्यवस्थापन पार्टी र संगठनले गरिदिने र अन्य साथीहरु चाहिँ ‘पार्टटाइमर, भोलेन्टियर’ बन्ने ढंगले विभिन्न पेशा, व्यवसाय र अध्ययनमा जोडिएर अगाडि बढ्ने गर्नुपर्छ। यो ढंगले गरिएन भने मान्छे पलायन हुन जाने, पाखण्डी हुने खतरा हुन्छ।
‘होलटाइमर’ भनेको छ, बेरोजगार भएर बसेको छ, आम्दानीको कुनै उपाय छैन अनि आम्दानी नभएपछि, श्रमबाट आर्जन नगरेपछि कि चोर्नुपर्छ, कि ठग्नुपर्छ, कि लुट्नुपर्छ अरु उपाय नै हुँदैन। कि त पलायन भएर भाग्नुपर्छ, भोकै बस्नुपर्छ। यसको पछाडि तपाईंहरुको दोष होइन, हामीले नै बेलैमा नीति बनाउन नसक्दा कमीकमजोरी देखिएका छन् त्यसमा तपाईंहरुले ध्यान दिनुहोस्। म तपाईंहरुलाई आग्रह गर्न चाहन्छु।
हामीले विद्यार्थीहरुको नेतृत्व प्रणाली पनि बदल्नुपर्ने भएको छ। यो मेरो निजी विचार हो अन्यथा नमान्नुहोला। अहिलेको सन्दर्भमा जुन नयाँ युवा विद्यार्थी पिँढी निर्माण भइराखेको छ, २०६२/०६३ पछि ऊ राजनीतिबाट बिल्कुल विमुख भइराखेको छ। खासगरी माक्र्सवाद, माओवाद भन्ने शब्द नै ऊ सुन्न चाहँदैन, क्रान्ति भन्ने शब्ददेखि नै ऊ डराउँछ। त्यस्तो युवा विद्यार्थीलाई कसरी आन्दोलनमा ल्याउने ?
त्यो ल्याउनको निम्ति तपाईंहरु आफैं क्याम्पसमा भर्ना नभइकन, आफैं स्कुलमा, प्लस टु मा भर्ना नभइकन तपाईंले ती विद्यार्थीको चेतना बढाउनै सक्नुहुन्न। त्यसैले अबका युवा विद्यार्थी नेताहरुले कलेज, विश्वविद्यालय र विद्यालय छोडेर होइन त्यहाँभित्र प्रवेश गरेर, तपाईं आफैं विद्यार्थी बनेर उनीहरुसँग घुलमिल गरेर संगठन गर्नुपर्छ। त्यसो गर्न सकिएन विद्यार्थीको ठूलो पंक्ति बाहिर हुने र हामी सीमित मान्छेहरु मात्रै शास्त्रीय कुरा गरेर बस्ने खतरा रहन्छ। त्यसैले अब हामीले त्यो गर्नुपर्छ र सकिन्छ।
लगातार ११० घण्टा काम गरेको छु
मेरो आफ्नै पनि अनुभव छ। २०३६ सालमा जतिबेला यहाँ पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन उठिसकेपछि जनमतसंग्रहको घोषणा गरियो, ठूलो आन्दोलन भयो। त्यतिबेला म भारतमा अखिल भारत नेपाली विद्यार्थी संघको अध्यक्ष थिएँ। मेरो स्कुल अफ प्लानिङ एण्ड आर्किटेक्चर (दिल्ली)मा मास्टर्सको अन्तिम वर्ष थियो। जेठमा नै मैले अन्तिम परीक्षा दिनु थियो। इञ्जिनियरिङमा प्रोजेक्ट रिपोर्ट, थेसिस बुझाउनुपर्छ, रातारात बसेर नक्सा कोर्नुपर्छ। त्यस्तो अवस्थामा दिनभरी जुलुस निकाल्नुपर्थ्यो। किनकि बैशाख–जेठमा २०३६ सालमा आन्दोलनको रापताप उत्कर्षमा थियो।दिनभरी हामी जुलुसमा र प्रदर्शनमा जान्थ्यौं। भारतका विभिन्न विश्वविद्यालयहरुमा गएर नेपालको पक्षमा ऐक्यवद्धता जाहेर गर्न भन्थ्यौं, विभिन्न नेताहरुलाई भेट्दै हिँड्थ्यौं। हामीलाई रातदिन फुर्सद हुँदैनथ्यो। मलाई के याद छ भने दिनभरी जुलुस/प्रदर्शन गर्ने तर जेठको महिना हो मेरो अन्तिम परीक्षा थियो अन्तिम रिपोर्ट बुझाउनु थियो। हाम्रो चाहिँ के थियो भने स्कुल अफ प्लानिङ एण्ड आर्किटेक्चरमा होस्टेल पनि कलेज पनि एकै ठाउँमा थियो त्यसैले गर्दा होस्टेलमा गएर खाना खाने र कलेजमा आएर चाहिँ थेसिस लेख्ने र डिजाइन बनाउने। यसरी मैले शुक्रबार बेलुकादेखि काम सुरु गरेको बुधबार बिहान बुझाएको छु। ४ दिन ५ रात नसुतिकन लगातार ११० घण्टा काम गरेको छु।
म त्यतिबेला २५ वर्षको थिएँ। मैले उदाहरण किन दिएको भने दृढ इच्छाशक्ति, स्पष्ट ‘भिजन’ र ‘कमिटमेन्ट’ भयो भने सकिन्छ, सम्भव हुन्छ। तपाईंहरुले पनि त्यो विधि अपनाउनुपर्छ। सबैका उही प्रकारका रुची हुँदैनन्, क्षमता हुँदैनन् तर मूल रुपमा सकिन्छ। त्यसैले तपाईंहरुले आफ्नो अध्ययनसँग जोडेर, स्कुल कलेज र विश्वविद्यालयमा गएर त्यहाँका विद्यार्थीहरुलाई प्रभाव पार्ने गरी निश्चित समय चाहिँ क्रान्तिको निम्ति दिने गर्नुपर्छ। हामीले समयको उचित विभाजन गरियो भने नसक्ने भन्ने हुँदैन। माक्र्स र एंगेल्सले कम्युनिष्ट व्यवस्था कस्तो होला भनेर परिकल्पना गर्दा उहाँहरुले के भन्नुभएको थियो भने जम्मा २४ घण्टाको दिनमा ६ घण्टा त सुत्नै पर्यो, ६ घण्टा श्रम गर्नुपर्यो, ६ घण्टा नित्य कर्म र मनोरञ्जन गर्ने र बाँकी ६ घण्टा चाहिँ सिर्जनशील काम गर्ने, लेख/पढ/कला लगायतको आफ्नो रुची भएको काम गर्ने।
यसरी उन्नत खालको मान्छेले ६ घण्टा त सुत्छ, ६ घण्टा श्रम गर्छ, ६ घण्टा नित्य कर्म र मनोरञ्जन गर्छ र ६ घण्टा चाहिँ सिर्जनशील काम गर्छ र त्यो नै उन्नत मान्छे हुन्छ भन्नुभएको थियो। त्यसैले तपाईंहरुले पनि त्यही ६ घण्टामा बाँड्नु परेन तर आफ्नो प्रत्येक दिनलाई विभाजन गरेर हामी अगाडि बढौं। त्यसो हुन सक्यो भने आफ्नो भूमिका निर्वाह गर्न सक्छौं। तपाईं युवा विद्यार्थीहरु जोश, उमंग र जिम्मेवारी बोधका साथ अगाडि बढ्नुहोस्। भविष्य फेरि पनि उज्ज्वल छ।
धन्यवाद।
२०७२ असार २७
राष्ट्रिय नाचघर, जमल।
यस्तो जवाफ दिए प्रचण्डले
भट्टराईपछि विचार राखेका प्रचण्डले यस्तो जवाफ दिएका थिए। हेर्नुस् भिडियो (सुरुका केही मिनेटमा भट्टराई कै मन्तव्य छ)