PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एमाओवादी उपाध्यक्ष बोगटी रहेनन्



एमाओवादी उपाध्यक्ष बोगटी रहेनन्

अपडेट: एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको शव श्रद्धाञ्जलीका लागि एमाओवादी पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ। उनको शव ११ बजेसम्म पार्टी कार्यालयमा राखिनेछ।

काठमाडौँ :  एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको सोमवार बिहान निधन भएको छ । गम्भीर अवस्थामा नर्भिक अस्पतालमा उपचाररत बोगटीको मृत्यु भएको घोषणा बिहान अस्पतालले गरेको हो । अहिले एमाओवादी कार्यकर्ताहरु नर्भिक अस्पताल जाने क्रम सुरु भएको छ ।

एमाअोवादी नेता अग्नि सापकोटाका अनुसार चिकित्सकले बोगटीलार्इ बिहान ७‍.२५ बजे मृत घोषणा गरेका थिए। नेता सापकोटाले नर्भिक परिसरमा भेला भएका पत्रकारसँग बाेगटीकाे शव नाै बजे पार्टी कार्यालय पेरिसडाँडा लैजाने जानकारी दिए। त्यहीँ एमाअाेवादी केन्द्रीय कमिटी बसी बोगटीलार्इ श्रदाञ्जली दिनेछ ।

बोगटीकाे शव बिहान ११ बजे खुलामञ्च लगिनेछ। त्यहाँ श्रदाञ्जली दिएपछि अपरान्ह बाेगटीकाे शव अार्यघाट लैजाने कार्यक्रम रहेकाे जानकारी पनि सापकोटाले दिए।

नुवाकोटको तुप्चेमा २०१० साल साउन ३ गते जन्मिएका बोगटीलाई भद्र र शालिन तथा पार्टीभित्र सन्तुलनकारी नेताको छवि बनाएका थिए।  

२०३४ सालदेखि पुष्पलाल श्रेष्ठ नेतृत्वको कम्युनिस्ट पार्टीबाट राजनीति सुरु गरेका उनी पछि नेकपा एकता केन्द्रमा लागे। नेकपा माओवादीले सुरु गरेको सशस्त्र संघर्षमा उनले सुरुदेखि नै आधार इलाकामा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका थिए।

दिवाकर उपनामले चिनिने उनी पश्चिम क्षेत्री ब्युरोका इन्चार्ज र पश्चिमी कमान्डका इन्चार्ज भए। उनकी छोरीको विवाह प्रचण्डपुत्र प्रकाशसँग भएको थियो। तर पछि सम्बन्ध विच्छेद हुनपुग्यो।
 
२०७० सालमा हेटौडामा भएको सातौं महाधिवेशनबाट उनी एकीकृत नेकपा माओवादीका महासचिव चुनिएका थिए।

अघिल्लो संविधान सभामा निर्वाचित भएका उनले सूचना तथा सञ्चार तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको पनि जिम्मेवारी सम्हालेका थिए।  

बोगटीका दुई छोरी र एक छोरा भएकामा छोरा रवि बोगटीको निधन द्वन्द्वकालमा भएको थियो।  
भदौ २६ मा ह्रदयाघात र मष्तिस्कघात
हिजो उनको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर रहेको नर्भिक अस्पतालले जनाएको थियो।

अस्पतालले आइतबार विज्ञप्ति निकालेर गम्भीर अवस्थामा रहेका बोगटीलाई कृत्रिम श्वासप्रश्वास यन्त्र (भेन्टिलेटर) मा राखेर उपचार भैरहेको र परिवार र पार्टीको सल्लाहमा बोगटीको जीवनरक्षाको लागि परम्परागत तथा जीवनदायी औषधउपचार मात्र प्रयोग गरिएको अस्पतालले जनाएको थियो।  

उनको मष्तिष्कको देब्रे भागमा रक्तश्रावसहित रगत जमेको र शरीरको दाहिने भागमा पक्षाघात थियो।

थप उपचारका लागि भारत लैजाने तयारी समेत उनको स्वास्थ्यलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो। 

भदौ २६ गते बिहीबार हृदयाघात र मस्तिष्कघात भएपछि बोगटीलाई उपचारका लागि गंगालाल अस्पताल पुर्‍याइएको थियो। मस्तिष्कघात गम्भीर अवस्थामा पुगेको ठहर भएपछि उनलाई नर्भिक अस्पताल लगिएको थियो।

आँसु चुहाउँदै बाहिरिइन् सिता

आइतबार दिउँसो बोगटीको अवस्था गम्भीर बनेपछि एमाओवादीका सबै नेताहरु राजधानको नर्भिक अस्पतालमा जम्मा भएका थिए। उनीहरुलाई अस्पतालको चिकित्सक टोलीले बोगटीको अवस्थाबारे ब्रिफीङ गरेका थिए।

डाक्टरहरुसँग जानकारी लिएपछि पत्रकारहरसँग कुराकानी गर्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोगटीको अवस्था खतरामुक्त नरहेको बताएका थिए। उनले स्थानान्तरण गर्दा थप जटिलता उत्पन्न हुनसक्ने भएकाले भारतको नयाँ दिल्ली तथा सिङ्गापुर लैजाने तयारी रद्द गर्नुपरेको बताए।

'बाबुरामजीले दिल्लीको मेदान्त अस्पतालको डाक्टरसँग कुराकानी गर्नुभयो। मैले पनि राजदुतहरुसँग विदेश लैजाने बारे परामर्श गरे,' प्रचण्डले भनेका थिए, 'उपलब्ध प्रविधिहरुको साथ यहीँ उपचार भइरहेछ।'

एकीकृत नेकपा माओवादीका नेताहरु साँझ अस्पतालबाट बाहिरिँदा मलिन अनुहारमा बाहिरिएका थिए। प्रचण्डपत्नी सीता दाहाल भने आँसु चुहाउँदै बाहिर निस्केकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell