PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​सके हिन्दू राष्ट्र, नसके धार्मिक स्वतन्त्रता कायम गर्न सुझाव



​सके हिन्दू राष्ट्र, नसके धार्मिक स्वतन्त्रता कायम गर्न सुझाव
फोटो साभारः युपी लामिछानेको फेसबुक

काठमाडौं : संविधानको पहिलो मस्यौदामाथि सुझाव सङ्कलन गर्न आयोजित कार्यक्रममा अधिकांश जनताले अब बन्ने नयाँ संविधानमा सके हिन्दू राष्ट्र कायम राख्नुपर्ने नत्र धार्मिक स्वतन्त्रता उल्लेख हुनुपर्ने माग गरेका छन्। 

नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिद्वारा दशरथ रङ्गशालामा आयोजित काठमाडौँ क्षेत्र नं १ को कार्यक्रममा बोल्ने अधिकांश वक्ताले ८० प्रतिशतभन्दा बढी हिन्दू धर्मावलम्बी भएको मुलुकलाई धर्मनिरपेक्ष भन्न नमिल्ने राय व्यक्त गरेका थिए। 

कार्यक्रममा निलुबाबा मिश्रले हिन्दू राष्ट्र नै कायम हुनुपर्ने बताउँदै संविधानबाट धर्मनिरपेक्षता हटाउनुपर्ने माग गरे। देवी न्यौपानेले भने धर्म निरपेक्षताको सट्टा सनातन हिन्दू राष्ट्र राख्न माग गरे। त्यो पनि नभए धार्मिक स्वतन्त्रता राख्दा सबैलाई मान्य हुनसक्ने उनको सुझाव थियो। 

काठामाडौं क्षेत्र नं १ का निर्वाचित सभासद् रहनुभएका उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह, समानुपातिक निर्वाचित सभासदद्वय मोहन राई र डा. बाबुराम पोखरेलको उपस्थितिमा भएको उक्त कार्यक्रममा जनताले उत्साहपूर्ण रुपमा सुझाव दिएका थिए। 

कार्यक्रममा मानबहादुर खड्का र निर्मल श्रेष्ठले विगतमा केही नेताले विदेशीको दबाब र आर्थिक प्रलोभनमा परी अन्तरिम संविधानमा धर्मनिरपेक्षता राख्न लगाएको आरोप लगाउँदै त्यो सत्य हो भने छानबिन गरी कारबाही गर्न मागसमेत गरे। 

मधुसूदन अधिकारीले मस्यौदामा उल्लेख आठ प्रदेशसहितको सङ्घीयता मुलुकको अर्थतन्त्रले धान्न नसक्ने बताउँदै अहिलेकै पाँच विकास क्षेत्रलाई परिमार्जन गरी बढीमा छ प्रदेश बनाउन सुझाव दिए। 

सीमाङ्कन र नामाङ्कनसहित सङ्घीय प्रदेश आउनुपर्ने माग गर्दै अधिकारीले भने– “प्रदेशको नाम प्रसिद्ध प्राकृतिक वा धार्मिकस्थलका आधारमा हुनुपर्छ।” प्रदेशको सीमाङ्कन उत्तर–दक्षिण नै हुनुपर्नेमा जनताको जोड थियो। 

अर्का वक्ता बाबुराम घिमिरेले उच्च सरकारी ओहोदामा निर्वाचित हुन उमेरको हदभन्दा पनि शैक्षिक योग्यता निर्धारण गर्नुपर्ने सुझाव दिए। अधिकांशले संविधानको मस्यौदाको भाषा गोलमोटल भएको र प्रस्तावनामा अनावश्यक शब्द राखेको गुनासो गरेका थिए। 

‘थ्रेसहोल्ड’ नराख्दा विकृति

निर्वाचनमा ‘थ्रेसहोल्ड’ नराख्दा राजनीतिमा विकृति आएको आरोप लगाउँदै जनताले आरक्षण जातका आधारमा नभई वर्गका आधारमा र त्यो पनि निश्चित अवधिसम्म मात्र हुनुपर्ने सुझाव दिएका थिए। 

कार्यक्रममा प्रमोदराज उपे्रतीले गाईलाई राष्ट्रिय जनावर राख्नुपर्ने माग गर्दै राजतन्त्रका सम्बन्धमा जनमत सङ्ग्रह गरिनुपर्ने सुझाव दिए। वीरबहादुर भोटेले भने नेपाललाई बुद्ध धर्मराष्ट्र कायम गर्नुपर्ने माग गर्दै जनजातिले आफ्नो परम्पराअनुसार गाई काटेकै आधारमा किन जेल जानुपर्ने भनी प्रश्न गरे। 

विराट काफ्लेले राज्यले बेरोजगार भत्ता दिनेभन्दा पनि रोजगार दिन जोड दिनुपर्ने धारणा राखे।

हिन्दू राष्ट्र माग गर्दै नाराबाजी


फोटोः दीपेन्द्र सापकोटा/रासस
कार्यक्रमको सुरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दू राष्ट्र कायम राख्नुपर्ने माग गर्दै नाराबाजी गरेका थिए। सुझाव दिन आएको भनी रङ्गशाला हलभित्र प्रवेश पाएका राप्रपा नेपालका कार्यकर्ताले नाराबाजी गर्दै होहल्ला गरेपछि सुरक्षाकर्मीले हल बाहिर निकालेको थियो। 

सुझावका आधारमा त्रुटि सच्याइनेछ – उपप्रधानमन्त्री सिंह 

उपप्रधानमन्त्री सिंहले जनताले दिएको सुझावका आधारमा संविधानको प्रारम्भिक मस्यौदामा भएका त्रुटि सच्याइने बताए। 

नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिद्वारा दशरथ रङ्गशालामा आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले आफ्नो कुरा राख्नभन्दा पनि जनताको सुझाव लिन कार्यक्रमको आयोजना गरेको बताए। 

मस्यौदाको अध्ययन गरेर थप सुझाव लिखित रुपमा दिन आग्रह गर्दै उपप्रधानमन्त्री सिंहले भने– “सबैका सुझाव टिपोट र रेकर्ड गरिएको छ, प्रतिवेदनमा समावेश गरी महत्वपूर्ण सुझावमाथि संविधानसभामा छलफल गरिनेछ।” 

संविधानसभाको निर्वाचनमा जनताले चुनेका सभासद्मार्फत जनताको मत र सुझावका आधारमा संविधान बन्ने विश्वास दिलाउँदै उपप्रधानमन्त्री सिंहले धर्म, सङ्घीयता, महिला, बालबालिका, ज्येष्ठ नागरिक, खेल, शिक्षा, आरक्षणजस्ता महत्वपूर्ण विषयमा आएका सुझाव छलफलका लागि मननयोग्य भएको बताए।  

“अब संविधान लेखन अघि बढ्यो, कसैले रोकेर रोकिन्न,” उनले भने – “सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान छिट्टै जारी हुन्छ।” उपप्रधानमन्त्री सिंहले मस्यौदामा तलमाथि भएका शब्द र जनताका सुझावका आधारमा मस्यौदामा भएका त्रुटिलाई सच्याइने विश्वास दिलाए। 
कार्यक्रममा राप्रपा नेपालले गरेको अवरोधका सम्बन्धमा उहाँले चित्त नबुझेको कुरा लिखित रुपमा शान्तिपूर्ण तवरले राख्ने अधिकार भएको जानकारी दिँदै त्यसका लागि नाराबाजी आवश्यक नभएको बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell